चार्टर्डका सिइओको हातमा वार्षिक ३ करोड ९० लाख तलब, विदेशी साझेदारले लगे सवा अर्ब लाभांस

बिजमाण्डू
२०७६ मंसिर २५ गते १०:२२ | Dec 11, 2019
चार्टर्डका सिइओको हातमा वार्षिक ३ करोड ९० लाख तलब, विदेशी साझेदारले लगे सवा अर्ब लाभांस

Tata
GBIME
Nepal Life

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिकमा वार्षिक ३ करोड ९० लाख ८२ हजार रूपैयाँ भुक्तानी गरेको छ। यो करपछिको रकम हो।

गत आर्थिक वर्ष जोसेफ सिल्भानुस् आठ महिना प्रमुख कार्यकारी थिए भने बाँकी चार महिना अनिर्भान घोष दोस्तिदार थिए। दोस्तिदार अहिले पनि प्रमुख कार्यकारी अधिकृत छन्।

चार महिना काम गरे वापत दोस्तिदारले करबाहेक ६९ लाख २० हजार ४ सय २१ रूपैयाँ पारिश्रमिक पाएका छन्। यो तलव, भत्ता र बोनसवापत हो। बाँकी रकम सिल्भानुसले लगेका हुन्।

करवापत दुवै जनाले कुल १ करोड ५२ लाख १० हजार २९४ रूपैयाँ सरकारलाई बुझाएका छन्। चार्टर्डको प्रमुख कार्यकारी सञ्चालक समिति सदस्य पनि हुन्छन्। राष्ट्र बैंकले चार्टर्ड र नेपाल एसबिआइ बैंकलाई यो छुट दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले तलव सुविधाबाहेक आवास, चालकसहित सवारीसाधन र इन्धन, सुरक्षा गार्ड, विदा भ्रमण भत्ता, बच्चाको पढाइ खर्च, क्लब प्रवेश खर्च, क्लब खर्च र युटिलिटी खर्च पनि दिन्छ।

बैंकका मूल्य व्यवस्थापकीय अधिकृतहरूले गत वर्ष तीन करोड १६ लाख रुपैयाँ तलब भत्ता र अन्य सुविधा पाएका छन्। यससँगै २ करोड ४५ लाख रूपैयाँ बोनस, १ करोड १२ लाख रूपैयाँ कार्य सम्पादन बोनस, ४३ लाख रूपैयाँ सवारीसाधन सुविधा र २३ लाख ८२ हजार रूपैयाँ दशैं खर्च बुझेका छन्। उच्च व्यवस्थापन तहमा १२ जना व्यवस्थापक छन्। यो सबै सुविधा उनीहरूले बुझेका हुन्।

बैंकको वार्षिक साधारणसभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेधन अनुसार २२.५० प्रतिशत नगद लाभांस पारित भएको छ। गत वर्ष बैंकले २ अर्ब ४३ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकमा ७०.२१ प्रतिशत संस्थापक र २९.७९ प्रतिशत सर्वसाधारणको शेयर छ। कुल शेयरमध्ये ४६.८१ प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड ग्रिण्डलेज पिटिवाइ लिमिटेडको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक (युके) को २३.४ प्रतिशत शेयर छ। शंकरलाल अग्रवालको ०.६९ प्रतिशत, शशी अग्रवाल, प्रियंका अग्रवाल, कोमल अग्रवाल र अभिनास अग्रवालको जनही ०.७० प्रतिशत शेयर छ।

बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रूपैयाँ छ। विदेशी शेयरधनीले कुल १ अर्ब ३० करोड रूपैयाँ लाभांसवापत पाएका छन्।