देशकै पहिलो फाइनान्स बल्ल भयो समस्याग्रस्त मुक्त, यस्तो बद्माशीले समस्यामा परेको थियो

बिजमाण्डू
२०७६ मंसिर २५ गते ०८:५७ | Dec 11, 2019
देशकै पहिलो फाइनान्स बल्ल भयो समस्याग्रस्त मुक्त, यस्तो बद्माशीले समस्यामा परेको थियो


काठमाडौं। लामो समयदेखि समस्याग्रस्त अवस्थामा रहेको देशकै पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ता छिरेका छन्।

Tata
GBIME
Nepal Life

नयाँ लगानीकर्ताको प्रवेशसँगै नेपाल राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ। आन्तरिक रूपमै ऋण परिचालन गरेको, धितो मूल्यांकनभन्दा बढि ऋण दिएको जस्ता कारणले फाइनान्स २०७१ मंसिर १७ मा समस्यामा परेको थियो।

त्यसपछि सुधार प्रक्रियामा रहेको फाइनान्सलाई मंसिर २० गतेको सञ्चालक समिति बैठकले समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको हो। 

राष्ट्र बैंकले २०७० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले समष्टिगत स्थलगत निरीक्षण प्रतिवदेनअनुसार कारवाही गरेको थियो।

सुपरिवेक्षकीय समायोजनपछि पुँजीकोष ४.३६ प्रतिशतले ऋणात्मक, निष्क्रिय कर्जा ५४.१८ प्रतिशत पुगेको थियो। २०७० असार मसान्तमा २२ करोड चुक्ता पुँजी पुर्‍याउनु पर्नेमा १३ करोड ५८ लाख मात्र रहेको थियो भने संस्थाका संस्थापक र लामो समयसम्म कार्यकारी प्रमुख रहेका रविचन्द्रमान प्रधान, उनको परिवार र उनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा ३६ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भेटिएको थियो।

एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरूको समूहलाई राष्ट्र बैंकको निर्देशन विपरीत प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको पनि भेटिएको थियो। राष्ट्र बेंकको निर्देशन विपरीत फाइनान्सको शेयरमा प्रचलित कानून बमोजिम स्थापित सहकारी संस्थाको संस्थागत रूपमा लगानी रहेको लगायत गंभीर प्रकृतिका कैफियतहरू देखिएको थियो।

संस्था सुधार ६ महिनाभित्र गर्न भनिएपनि करिब करिब ६ वर्ष लागेको छ। राष्ट्र बैंकले त्यसबेला चुक्ता पुँजी तथा पुँजीकोष अनुपात कायम गर्न भनेको थियो। अब भने फाइनान्सले ८० करोड चुक्ता पुँजी पुर्‍याउनु पर्छ। यसका लागि उसले करिब २ वर्षको समय पाएको छ।