नेपाली सेना भन्छ – ‘गुरूयोजनामा अघि बढ्दैछौं, २०८१ मा तयार हुन्छ फाष्ट ट्रयाक’

बिजमाण्डू
२०७६ मंसिर २३ गते १६:३८ | Dec 9, 2019
नेपाली सेना भन्छ – ‘गुरूयोजनामा अघि बढ्दैछौं, २०८१ मा तयार हुन्छ फाष्ट ट्रयाक’

Tata
GBIME
Nepal Life

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौ -तराइ द्रुतमार्ग आयोजना २०८१ बैशाखमा पुरा गर्ने सेनाले दाबी गरेको छ।

द्रुतमार्ग निर्माणको काममा सेना आफैंले ढिलाई गरेको भन्दै आलोचना भइरहेका बेला नेपाली सेनाले समष्टीगत गुरुयोजना (होलिस्टिक प्लान) बनाएर आयोजनालाई गति दिन लागेको आयोजना प्रमुख प्राविधिक सहायकरथी शरदलाल श्रेष्ठले बताए । 'समग्र प्रोजेक्ट साढे तीन वर्षभित्रै पुरा गर्नेगरि प्लान बनिरहेको छ,' उनले भने ।

द्रुतमार्गलाई तोकिएको अवधिभित्र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न सडक संरचना, पुलहरू तथा द्रुतमार्गका लागि आवश्यक अन्य सम्पूर्ण संरचनाहरुको एकीकृत प्याकेज गुरुयोजना बनाएर अघि बढ्न लागेको उनले बताए ।

उक्त गुरुयोजना अनुरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरूलाई चरणबद्ध रूपमा कार्य प्राथमिकताका आधारमा छनोट गरि २०७७ को प्रथम चौमासिक भित्र द्रुत गतिमा काम अघि बढाउने दाबी सेनाको छ।

पुल ठेक्का मूल्यांकन भइरहेको छ। आयोजनामा बन्ने कुल ८७ वटा पुलमध्ये ७१ वटा नेपाली निर्माण कम्पनी र बाँकी १६ वटा विशेष प्रकृतिका भएकाले विदेशी कम्पनीबाट गराइने छ। द्रुत मार्गमा पर्ने पुलको मात्रै लम्बाइ १०.५९६ किलोमिटर हुनेछ।

ठेक्का व्यवस्थापन गरेर फागुनबाट काम सुरू गर्ने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए। 'टनेलको काम आगामी असारबाट मात्रै सुरू हुनेछ,' उनले भने, 'सुरुङ मार्गका लागि थप अध्ययन र स्पेशिफिकेशन तयार पार्नका लागि परामर्शदाता हायर गर्न लागिएको छ ।' अहिले सुरुङ मार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी छनोटका गर्न प्री-क्वालिफिकेशनका लागि डकुमेन्ट तयार पार्ने काम सेनाले गरिरहेको छ। आयोजनामा महादेवडाडा (३.३५५ किमी), धेन्द्रे (१.६३० किमी), लेनडाडा (१.४३०किमी) का तीनवटा गरि (६.४१५ किमि) सुरुङ मार्ग निर्माण हुनेछ।

अहिले सडकमा फर्मेसन लेभलको काम भइरहेको छ। लम्बाई ७२.५ किमिमा करिब ५५.४८९ किमी सडक निर्माण भइरहेको छ। बाकी १४ प्रतिशत भागमा पुल र सुरुङ मार्ग रहने छ। सडकमा कालोपत्रे गर्नु अघिको ग्राभेल हाल्नेसम्मको पूर्वाधार तयारीको काम भइरहेको सेनाले जनाएको छ। फर्मेसनको तहको काममा राम्रो प्रगति हासिल गरेको सेनाको  दाबी छ।

चालु आर्थिक वर्षमा करिब १४  अर्ब रूपैयाँ विनियोजित बजेटमध्ये करिब ६ करोड रूपैंयाँ मात्रै खर्च भएको छ। श्रेष्ठका अनुसार पहिलो चौमासिक डकुमेन्टेसन र अरू तयारी गर्न लागेकाले कम खर्च भएको हो भने केही काम भएको विल भर्खरै पेश भएकाले भुक्तानी बाँकी छ। सुरुङमार्ग र पुलको काम सुरू हुनेबित्तिकै ठूलो रकम खर्च हुने सेनाले जनाएको छ।

नेपाली सेनाले द्रुतमार्ग निर्माणका लागि व्यवस्थापकीय जिम्मेवारी पाएको साढे दुई वर्ष पुगेको भएपनि वित्तीय प्रगति करिव १० प्रतिशत मात्रै छ ।

भदौ १ गते आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएर आएकाले काममा ढिलाई भएको सेनाको भनाई। डीपीआर नहुदा पनि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन र सेना आफैंले तयार पारेको डिटेल इन्जिनियरिङ रिपोर्टका आधारमा मुख्य बाहेकका सडकका संरचनाहरू तयार पारिरहेको सेनाले जनाएको छ। टनेल र पुल बाहेकका कामहरु डीपीआर नहुँदै पनि सेनाले गरेको हो।