बामदेव गौतमको त्यो अन्तर्वार्ता, जसले शेयर बजार एकाएक उचाल्यो, १९ अंकसम्म बढ्यो बजार

बिजमाण्डू
२०७६ मंसिर २३ गते १५:३० | Dec 9, 2019
बामदेव गौतमको त्यो अन्तर्वार्ता, जसले शेयर बजार एकाएक उचाल्यो, १९ अंकसम्म बढ्यो बजार

Tata
GBIME
Nepal Life

काठमाडौं। नेकपाका नेता बामदेव गौतमले राससमा दिएको अन्तर्वार्ताले राजनीतिक क्षेत्रसँगै शेयर बजारलाई पनि तरंगित पारेको छ। गौतमले आगामी सरकारका लागि आफूलाई बलियो दाबेदारको रुपमा इंगित गरेपछि उनको सक्रियताले सरकार परिवर्तन हुने आशंका पैदा भएको छ। 

शेयर बजारले हालको सरकारलाई पत्याउन सकिरहेको छैन। त्यसैले गर्दा सरकार परिवर्तन तथा मन्त्री परिवर्तनका सूचनाले पनि शेयर बजार प्रभावित हुँदै आएको छ। यस अगाडि केपी शर्मा ओलीले मन्त्रीहरू हेरफेर गर्ने समाचारले केही दिनसम्म बजार सुधार भएको थियो। 

यस्तै हल्ला हल्लाकै बीचमा शेयर बजार लगातार सुधार भइरहेको छ। बजारमा भएको हल्लाले सूचक बढे पनि कारोबार भने बढ्न सकेको थिएन। गएको एक साताको अवधिमा शेयर बजारमा सूधार भए पनि लगानीकर्ताहरूले हल्लाकै भरमा बजार बढेको भन्दै खरिद-बिक्रीमा खासै रूचि देखाएका थिएनन्। 

एक ब्रोकरले भने ‘जहिले पनि हल्ला हुने, तर ठोस काम नहुने भएकाले नयाँ लगानीकर्ता बाहेक पुराना लगानीकर्ताले शेयर खरिद गरिरहेका छैनन्।‘ बजार लगातार ‘डिप्रेस मुडमा’ गएपछि यस अगाडि घाटामा देखिएका लगानीकर्ताहरू बजारमा प्रवेश गरिरहेका छैनन्। नयाँ प्रवेश भएका लगानीकर्ता भने मौका यहि हो भन्दै शेयर उठाइरहेका छन्। 

पछिल्लो समय म्युचुअल फण्डहरूले पनि शेयर खरिद गरिरहेको एक ब्रोकरले बताए । तर संस्थागत लगानीकर्ताहरू भने शेयर बजारभन्दा पनि ऋणपत्रतर्फ आकर्षित हुन थालेको विश्लेषण गरिएको छ। 

पछिल्लो समय सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रूपैयाँको ऋणपत्र बिक्री हुनुले पनि संस्थागत लगानीकर्ता शेयर बजारमा भन्दा पनि ऋणपत्र बजारमै रूमलिएको संकेत गर्दछ। शेयर बजारमा लगानी गरेर जोखिम लिनुभन्दा ऋणपत्रबाटै सुरक्षित आम्दानी गर्न खोजेका हुन्। 

कारोबार सुरू भएको केही मिनेट बजार रातो देखिए पनि विस्तारै बजार सुधार हुन थालेको थियो। बजार सुधार हुने क्रममा सोमबार १९ अंकसम्मले बढ्यो। तर अन्तिम २० मिनेटमा केही करेक्सन हुँदै १३.५१ अंकले सुधार भएर बन्द भयो। 

गत एक साताको अवधिमा नेप्से सूचक लगातार सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेको थिएन। तर सोमबार भने ४६ करोड ४२ लाख रुपैयाँको खरिद बिक्री भएको छ। लगानीकर्ताहरूमा बजार बढेपनि उत्साह भने थिएन। 

नेप्से सूचक १.१९ प्रतिशतले सुधार भएर ११४८.८९ अंकमा रोकिएको छ। एक सातामा शेयर बजार झण्डै ४० अंकको सुधार देखिएको छ। लामो समयदेखि लगानीकर्ताहरूमा शेयर बजार ११ सयको लाइन भन्दा तल नझर्ने मनोविज्ञान थियो। 

बजार ११ सयको लाइनबाट झण्डै २२० अंकको सुधार पछि ब्याक भयो। दुई सय २० अंकको ब्याक भएर पुनः ११ सयकै लाइनमा आउदा उनीहरूको मनोविज्ञान बजार अब यो भन्दा तल नझर्ने भयो। यसैले गर्दा कतिपय लगानीकर्ताले शेयर खरिद गर्न थालिसकेका थिए। मात्रै बजार कसरी अगाडि बढ्ने भनेर हेरिरहेका थिए। 

सोमबार १ सय ७३ वटा कम्पनीको कारोबार हुँदा जम्मा १२ वटा कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ। १ सय ३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १० वटाको भने स्थिर छ। बजार सुधार हुन थालेसँगै ५ वटा कम्पनीको अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्नेमा सबै लघुवित्त वित्तीय संस्थाहरू छन्। 

बजार सुधार हुनुभन्दा अगाडि प्राय बीमा कम्पनी र माइक्रोफाइनान्सको शेयर मूल्यमा सुधार आउने गरेको पाइन्छ। यस सातामा पनि सबै बीमा कम्पनी र माइक्रोफाइनान्सको शेयरमा उछाल आएको थियो।