ड्राइपोर्टले लिएको ६२ विघा जग्गा फुकुवा गर्न श्रीसियावासीको माग, मुआब्जा विरुद्ध आन्दोलन थाले

बिजमाण्डू
२०७६ मंसिर २३ गते १२:२८ | Dec 9, 2019

Tata
GBIME
Nepal Life

वीरगंज । वीरगंज–२५ श्रीसियाका वासिन्दाले ड्राइपोर्ट र आइसिपी विस्तार गर्न चर्चिएको ६२ बिघा जग्गा फुकुवा गर्न अदालतको ढोका ढकढक्याउने भएका छन् ।

सरकारले जग्गा अधिग्रहण गर्न खाजेको भन्दै तीन वर्षदेखि रोक्का राखेको र अधिग्रहणको प्रक्रिया पूरा गर्ने सिलसिलामा न्यून मुआवजा तोकेकोले जग्गा अधिग्रहण प्रक्रियामा आफूहरु सहभागी नहुने भन्दै सर्वोच्च अदालतमा रीट गर्न तयारी भइरहेको जग्गा अधिग्रहणविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष अम्बिकाप्रसाद कुर्मीले बताए ।

यसकालागि सम्पूर्ण गाउँलेहरु आइतबार श्रीसियाको आदर्शचोकमा भेला गरी ३ लाख रुपैयाँ चन्दा पनि संकलन गरिसकेको गाउँलेहरुले बताएका छन् ।

उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताएका छन्। उनीहरुले चार दिनदेखि चक्काजाम र धर्ना कार्यक्रम गर्दै आएका छन् । पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको मूल्याङ्कन तथा मुआब्जा समितिले अधिग्रहण गर्न लागेको जग्गालाई १३ वर्गमा विभाजित गरी न्यूनतम प्रतिकट्ठा  २४ लाखदेखि ६७ लाख रुपैयाँसम्म निर्धारण गरेपछि गाउँलेहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका थिए ।

गाउँलेहरुले कट्ठाको  २ देखि ३ करोड रुपैयाँसम्म मुआब्जा पाउनुपर्ने माग राखेका छन् । पैसा नपाए सो क्षेत्रफल बराबरको जग्गामा गाउँ बसाएर भौतिक पूर्वाधार विकास गरेमा आफूहरुले ठाउँ छोड्ने उनीहरुको माग छ।

गाउँलेहरुले आइतवार ड्राइपोर्ट गेट अगाडि बिहान ११ बजेदेखि ३ बजेसम्म धर्ना दिएका थिए भने बिहीवारदेखि शनिवारसम्म दिनको दुई दुई घण्टा धर्ना दिए ।

सुक्खा बन्दरगाहका भन्सार प्रमुख उमेश श्रेष्ठले दैनिकको बन्द हडतालले आईसिपी र सुक्खा बन्दरगाहलाई समस्या परिरहेको बताए। उनले गाउँलेका गतिविधि बारे माथिलो निकायलाई जानकारी गराउँदै आएको जानकारी दिए ।