तनहुँ जलविद्युत निर्माणले लियो तीव्रता, हाइड्रोको बाँध स्थल ‘टनेल पोर्टल’ विस्फोटको तयारी

रासस
२०७६ मंसिर २२ गते १७:०३ | Dec 8, 2019
तनहुँ जलविद्युत निर्माणले लियो तीव्रता, हाइड्रोको बाँध स्थल ‘टनेल पोर्टल’ विस्फोटको तयारी

Tata
GBIME
Nepal Life

तनहुँ। एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको कामले तीव्रता पाएको छ।

आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको सिनो हाइड्रोले ऋषिङ गाउँपालिका–१ स्थित झापुटारमा पहुँच मार्ग, कार्यालय भवन र श्रमिक आवास क्षेत्रलगायत कामलाई तीव्रता दिएको हो। विद्युत् गृहसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि कामदार परिचालित भएको तनहुँ जलविद्युत् आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए।

उनका अनुसार हाइड्रोले बाँध स्थलको ‘टनेल पोर्टल’को विस्फोटको तयारी समेत गरेको छ। सिनो हाइड्रोले आयोजनाको पहुँच मार्गसम्म पुग्न ११ सय मिटर ट्रयाक खोलिसकेको छ भने ४ सय मिटर ट्रयाक खोल्न बाँकी छ।  आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सीएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि बोलपत्र मूल्यांकन गर्ने काम भइरहेको छ। बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो।

त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चारवटा कम्पनीले बोलपत्र पेश गरेका थिए।  आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत् गृहको पहुँच मार्ग निर्माणका लागि १ सय ५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको छ। बाँधस्थलको पहुँच मार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि १ हजार २ सय ३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ। बाँधस्थलको पहुँच मार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप पाँच प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ।

पुसको दोस्रो साता आयोजना स्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने तयारी थालिएको छ। पहिलो संरचना निर्माणका लागि इटाली कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरूङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक र युरोपेली लगानी बैकको सहुलियतपूर्ण ऋण परिचालन हुनेछ।  आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ।

कम्पनी आयोजना स्थलमा परिचालन भई प्रसारण लाइनको सर्वेक्षण गरिरहेको अवस्था छ। आयोजनाका लागि १ सय ४० मिटर बाँध, १ हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिने छ। आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख ९ प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ० रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्योहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।  

आयोजनाको विद्यृत् गृह निर्माणका लागि २८ करोड ८० लाख डलर, प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि १ करोड ५० लाख डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनर्स्थापना लागि तीन करोड डलर, वातावरण व्यवस्थापनका लागि २ करोड १० लाख डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४ करोड ६० लाख डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २ करोड ५० लाख डलर खर्च हुने अनुमान छ।  

यसका लागि सम्बन्धित दातृ निकायहरू र नेपाल सरकारबीच ऋण सम्झौताहरू तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन्। आयोजनाको समग्र निर्माण विसं २०८१ को असार दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।