बजार घटाउन चलखेल भैरहेको लगानीकर्ताको आरोप, ‘सम्पत्ति शुद्धिकरणको मुद्दा किन उठ्यो?’

बिजमाण्डू
२०७६ मंसिर २२ गते १५:३० | Dec 8, 2019


काठमाडौं। शेयर बजार सुधार हुने संकेत देखिने बित्तिकै बढ्न नदिने पक्ष हावी भएको लगानीकर्ताहरूले आरोप लगाएका छन्। विगत तीन कारोबार दिनमा बजार लगातार सुधार भएपछि बजार ११ सयको लाइन भन्दा तल नझर्ने उनीहरूले अनुमान गरेका थिए।

Tata
GBIME
Nepal Life

बैंक ब्याजदर घट्नु साथै नेप्से सूचक ११ सयको लाइनभन्दा तल नझर्ने विश्लेषण गर्दै गएका दिनमा सर्वसाधारण लगानीकर्ताहरूले शेयर उठाएका थिए।

शेयर बजार सुधार भइरहेको अवस्थामा बजार घटाउने नियतले नेपाल धितोपत्र बोर्डले ब्रोकरहरूलाई नियोजित रूपमा सम्पत्ति शुद्धीकरणको विषयलाई पुनः उठान गरेको लगानीकर्ता सुरज अधिकारीले दाबी गरे।

बोर्डले ब्रोकरहरूलाई लगानीकर्ताहरूको कारोबार विवरण र व्यक्तिगत विवरण माग गरेको छ। यसले सकारात्मक सेन्टिमेन्ट बनिरहेको बजारमा थप असर पुर्‍याएको लगानीकर्ताहरूको आरोप छ।

शेयर बजार जब जब सुधार हुने संकेत देखा पर्छ तब तब प्यानको विषय, करको विषय र सम्पत्ति  शुद्धीकरणको विषय उठान गरि लगानीकर्ताहरूको मनोबल गिराउने प्रयास भएको उनीहरूको आरोप छ।

कारोबार अवधिभर रातो देखिएको शेयर बजार अन्तिम १० मिनेटमा सुधार भएको छ। अन्तिम ३० मिनेटमा झण्डै छ अंकको बाउन्स ब्याक हुँदै बजार ३.४५ अंकले सुधार भएको हो। सूचक ११३५.३७ अंकमा रोकिदा कारोबार रकम भने २८ करोड ७५ लाख रूपैयाँको भएको छ।

नेप्से सूचक हरियो देखिए पनि जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रसोधन, जीवन बीमा र म्युचुअल फण्डको सूचक घटेका छन्। गएका चार कारोबार दिनमा बीमा कम्पनी र माइक्रोफाइनान्सको शेयरमा उछाल आएको थियो।

आइतबार सूचक रातो देखिएपछि बीमा कम्पनीका शेयरधनीहरुले विगत चार दिनमा आर्जन गरेको पुँजीगत लाभ सुरक्षित गर्न खोज्दा यी कम्पनीहरूको शेयर मूल्य घटेको हो। तर अन्तिम समयमा होटल अन्य र माइक्रोफाइनान्सको सूचकमा सुधार आएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा धेरै कारोबार भएको छ। संस्थापन शेयर प्रतिकित्ता ५ सय ८ रूपैयाँका दरले २ करोड १३ लाख रूपैयाँको खरिद-बिक्री भएको छ।

आजसम्म शेयर खरिद गर्दा बोनस शेयर पाउने मुक्तिनाथको शेयर १ करोड ७२ लाख रूपैयाँको खरिद-बिक्री भएको छ। गत बिहीबार लाभांश घोषणा गरेको कञ्चन डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ७.१० प्रतिशतले सुधार भएको छ।