शेयर बजारमा दोस्रो दिन पनि सुधार, बैंक र बिमाले शेयर बजारलाई उचाल्यो, कारोबार ३० करोड मात्रै

बिजमाण्डू
२०७६ मंसिर १८ गते १५:४९ | Dec 4, 2019
शेयर बजारमा दोस्रो दिन पनि सुधार, बैंक र बिमाले शेयर बजारलाई उचाल्यो, कारोबार ३० करोड मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। बैक र बिमाको समूहको उपसूचक बढेसँगै बुधवार शेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.७३ अंकले बढेर ११२४.४७ अंकमा उक्लिएको छ।

बुधवार कारोबारको सुरु देखिनै बजार बढ्दो अवस्थामा रहेको थियो। बैंकहरु ऋण दिन ब्रोकर कार्यालय जान थालेको र बैंक ब्याजदर पनि कम भएको संकेतसँगै बजार उकालो लागेको हो। बैंक ब्याजदर महँगो भएकै कारण शेयर बजार ओरालो लाग्दै आएको थियो।

कारोबारको पहिलो तीन घण्टा बजार सामान्य अंकले बढेको भए पनि अन्तिम एक घण्टामा बजार थप सुधारोन्मुख देखिएको हो। कारोबारको अन्तमा सबै उपसूचक बढेपछि नेप्से सूचक थप बढेर बन्द भएको हो।

बुधवार बिमा समूहमा लगानीकर्ताको आकर्षण देखियो। जीवन बिमा समूह र निर्जीवन बिमा समूहमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त समूहको उप सूचक समेत उल्लेख्य बढेका छन्। जीवन बिमा समूहको उप सूचक २.८१ प्रतिशत र निर्जीवन बिमा समूहको उपसूचक २.५६ प्रतिशतले बढेको छ। कारोबारमा आएका धेरै जसो बिमा कम्पनीको शेयर मूल्य धेरै बढ्ने कम्पनीको सूचिमा छ। प्रिमियर इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सात देखि नौ प्रतिशत सम्म बढेको छ ।

बुधवार कारोबार रकम समेत बढेको छ। १६९ कम्पनीका नौ लाख ९० हजार कित्ता शेयर ३० करोड रुपैयाँमा किनबेच भए। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भयो।

कम्पनीको मात्रै दुई करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। कारोबार रकमकै आधारमा एनआइसी एशिया बैक दोस्रो भएको छ। बैंकको एक करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।