नेपाल पुनर्बिमा कम्पनीमा चार जना सर्टलिस्ट, पौडेल र भण्डारीको दौडधुप, कसले मार्ला बाजी?

बिजमाण्डू
२०७६ मंसिर १८ गते १०:०५ | Dec 4, 2019
नेपाल पुनर्बिमा कम्पनीमा चार जना सर्टलिस्ट, पौडेल र भण्डारीको दौडधुप, कसले मार्ला बाजी?


काठमाडौं। नेपाल पुनर्बिमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका लागि चारजना 'सर्टलिस्ट' भएका छन्। 

Tata
GBIME
Nepal Life

प्रमुख कार्यकारी अधिकृत सिफारिश उपसमितिले आवेदन दिएका ६ मध्येबाट चार जनाको नाम अन्तिम सूचीमा राखेको हो। सर्टलिस्ट परेकामा अशोककुमार पौडेल, चिरायु भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी छन्। 

पौडेल राष्ट्र बैंकको निर्देशक पदबाट अवकाश पाएका हुन् भने भण्डारी कम्पनीकै निवर्तमान प्रमुख कार्यकारी हुन् । रायमाझी राष्ट्रिय वाणिज्य बैंकका र आचार्य कृषि विकास बैंकका पूर्वकर्मचारी हुन्। 

अर्थमन्त्रालय स्रोतका अनुसार पौडेल र भण्डारीबीच चर्को प्रतिस्पर्धा छ। पौडेल र भण्डारी दुवैले प्रधानमन्त्री तहसम्म आफ्ना लागि लबिङ गरिरहेका छन्। 

अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकमा गभर्नर हुँदा पौडेलले संचालक समितिका सचिवको रूपमा काम गरेका हुन् । त्यसैले पौडेललाई अर्थमन्त्रीले ल्याउन चाहेका छन्। तर केही पूर्वएमाले भने भण्डारीकै पक्षमा उच्च तहसम्म लबिङ गरिरहेका छन्। 

स्रोतका अनुसार उनीहरुले भण्डारीलाई नै कार्यकाल थप्न दबाब दिएका थिए। तर खतिवडाकै कारण भण्डारीको कार्यकाल थपिएन। 

भण्डारी पूर्वअर्थमन्त्री डा. रामशरण महतका पालामा नियुक्त भएका हुन् । स्रोतका अनुसार अहिले केही समूहले महतका पालामा नियुक्त गरेपनि भण्डारी नेकपाप्रति नजिक रहेको भन्दै लबिङ गरिरहेका छन्। 

‘महतका पालामा नियुक्ति भएपनि उहाँ हाम्रै दललाई समर्थन गर्नुहुन्छ। बीमाका बारेमा समेत बुझ्ने र दललाई पनि फाइदा हुने भएकाले भण्डारीलाई ल्याउँदा उपयुक्त हुन्छ,’ राजनीतिक शक्ति केन्द्रमा भण्डारीका पक्षमा लबिङ गर्दै एक नेताले भनेका थिए।