माउन्टेन ग्लोरी पुसबाट पूर्ण रुपमा संचालनमा आउने, निर्माण ढिलाइले लागत ५७% बढ्यो

बिजमाण्डू
२०७६ मंसिर १० गते १३:५१ | Nov 26, 2019
माउन्टेन ग्लोरी पुसबाट पूर्ण रुपमा संचालनमा आउने, निर्माण ढिलाइले लागत ५७% बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। गत पुसमा पूर्वराजा ज्ञानेन्द्र शाह २४ वटा कोठा बुकिङ गरि एक साता बसेपछि चर्चामा आएको पोखराको दोबिल्लास्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा आगामी पुसबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। 

सन् २०१४ देखि सुरू भएको निर्माण भूकम्प र भारतको नाकाबन्दीले योजनाभन्दा तीन वर्ष ढिला भएको सञ्चालकले जनाएका छन् । निर्माणमा भएको ढिलाइले लागत ५७ प्रतिशतले बढेर एक अर्ब १७ करोड पुगेको छ। उक्त लागतको ५५ प्रतिशत ऋण र ४५ प्रतिशत शेयर पूँजी रहेको छ। होटलले बैंकबाट लिएको ६४ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ। 

केयर रेटिङ नेपालले गरेको रेटिङअनुसार उक्त होटलले मध्यम किसिमको जोखिम जनाउने ‘केयर एनपी डबल बी’ प्राप्त गरेको छ। यस्तो रेटिङले समयमा वित्तीय दायित्व पुरा नगरेको खण्डमा जोखिम रहेको संकेत गर्छ। तर वित्तीय अनुसाशनमा रहेको खण्डमा मध्यम किसिमको जोखिम रहेको जनाउँछ। 


डिजाइनअनुसार निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएपछि गत पुसबाट होटल सञ्चालनमा आइसकेको छ । बैंक ब्याजदर बढ्दो क्रममा रहेको हुँदा होटलको रेटिङ धेरै राम्रो नआएको हो।

तर होटल पर्यटकीय क्षेत्र पोखरामा भएकाले तुलनात्मक रूपमा बजारको जोखिम कम छ। पोखराको एयरपोर्टबाट ७ किलोमिटर र निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किमिको दुरीमा रहेको उक्त होटलले भोलिका दिनमा राम्रो व्यापार गर्न सक्ने एजेन्सीले जनाएको छ। 

होटलका अध्यक्ष सुनिलभक्त श्रेष्ठ छन्। जलविद्युत, व्यापार, बैंकिङ र हस्पिटालिटी व्यापार लगायतको क्षेत्रमा उनको लामो अनुभव छ।