चेक नकाटी भुक्तानी गर्न सकिने सेवा पूर्ण रुपमा सुचारु, एक पटकमा १० रुपैयाँ लाग्ने

बिजमाण्डू
२०७६ मंसिर ९ गते ०९:१६ | Nov 25, 2019


काठमाडौं। तयारी बिना सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ले शुक्रबारदेखि बल्ल काम गर्न थालेको छ। नेपाल राष्ट्र बैंकको १३ बर्षअघि नै आरटिजिएस लागू गर्ने तयारी गरेको थियो। गत भदौदेखि कार्यान्वयनमा ल्याएपनि तयारी नपुग्दा यसले काम गर्न सकेको थिएन।

Tata
GBIME
Nepal Life

'शुक्रबारबाट भने यसले काम गर्न थालेको छ' राष्ट्र बैंक भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बिजमाण्डूसँग भने, 'शुक्रबारपछि समस्या देखिएको छैन।' अबदेखि चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने भएको छ।

आरटिजिएसले काम गर्न थालेपछी चेकको क्लियरिङ गरिरहनु पर्दैन। तत्कालको तत्काल एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुने छ। 

जस्तो तपाईको खाता नबिल बैंकमा छ। तपाईको साथीको खाता प्रभु बैंकमा होला। तपाई नबिल बैंकमा गएर एउटा फारम भर्नु पर्छ। जसमा 'मेरो फलानो नाम गरेको साथीलाई फलानो बैंक खातामा भुक्तानी गरिदेउ' लेख्नु पर्छ।

त्यसपछि नबिल बैंकले तपाईँको खाताको पैसा प्रभु बैंकमा तपाईँको साथीको खातामा भुक्तानी गरिदिन्छ। यो प्रकृया काउन्टरमा उभिँदाउभिँदै पुरा भइसक्छ।

अहिले चेक काटेर क्लियरिङमा पठाउनु पर्छ। भुक्तानी हुन डेढ दिनसम्म लाग्छ।

राष्ट्र बैंकले २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा यो सेवा सुरु गरेको हो। २० लाखभन्दा माथिकोमा अनिवार्य नै गरेको छ। ग्राहकहरु बानि नपरुन्जेल चेक पनि चलाउने राष्ट्र बैंकले जनाएको छ।

अहिले बाणिज्य बैंकहरुलाई अनिवार्य गरिएको छ। पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि अनिवार्य हुनेछ।

राष्ट्र बैंकले २०६३ को मौद्रिक नीतिबाट आरटिजिएस लागू गर्ने जनाएको थियो। तर प्राविधिक कारण भएकाले लागू गर्न सकेको थिएन। गभर्नर डा. चिरञ्जिबी नेपालले आरटिजिएस लागू हुनुलाई ठूलो उपलब्धि भएको बताएका छन्। भारतमा सन् २००७ बाटै आरटिजिएस लागू भएको हो।

आरटिजिएस पूर्ण रुपमा लागू भएपछि बैंकहरुले चेक छाप्नु पर्दैन जसले गर्दा उनीहरुको लागत कम पर्छ। साथै चेकको प्रयोग हुन छाडेपछि क्लियरिङ गरिरहनु पर्दैन। आरटिजिएसका कारण पैसाको कारोबारमा तिब्रता आउँछ। जस्तो अहिले क्लियरिङ गर्दा डेढ दिन लाग्छ भने आरटिजिएस लागूपछि त्यही पैसाको कारोबार १०औं पटक हुन सक्छ।

अहिलेलाई एउटा कारोबारको १० रुपैयाँ लाग्छ। बेलुकी भुक्तानी गर्नु परेमा १०० रुपैयाँसम्म शुल्क लाग्ने छ। यसलाई घटाउँदै लैजाने राष्ट्र बैंकको योजना छ।