अर्थमन्त्री नफेरिएपछि शेयर बजारमा ७ अंकको गिरावट, कारोबार घट्यो, हल्लाकै भरमा थपघट कहिलेसम्म?

बिजमाण्डू
२०७६ मंसिर ५ गते १५:४१ | Nov 21, 2019


काठमाडौं। अर्थमन्त्री नरुचाएको शेयर बजारले अर्थमन्त्रीको निरन्तरता सँगै बिहीबार शेयर बजार थप ओरालो झरेको छ।

Tata
GBIME
Nepal Life

बुधबार प्रधानमन्त्री केपि शर्मा वलीले ९ जना मन्त्रीहरुलाई परिवर्तन गर्दा अर्थमन्त्री डा. युवराज खतिवडालाई भने निरन्तरता दिएका छन्।
केहि समयदेखि मन्त्री परिषदको परिवर्तन हुने हल्लाले तरङ्गित शेयर बजार स-साना हल्लाले तलमाथि गरिरहेको थियो।

खतिवडा हट्ने समाचारले बढ्ने र निरन्तरता पाउने समाचारले घट्ने शेयर बजार बिहीबार कारोबार सुरु भएदेखि नै ओरालो झर्ने क्रममा ७.७४ अंकले झरेको छ।

सूचक ११२०.६० अंकमा रोकिएको छ। सूचकमा आएको गिरावटले कारोबार रकम २९ करोड ७७ लाख रुपैयाँमा खुम्चिएको छ। व्यापार अन्य र म्युचुअल फण्डको सूचकमा सामान्य सुधार देखिए पनि बाँकी सूचक घटेका छन्।

बजारलाई असर पुर्याउने कुनै पनि नकारात्मक आर्थिक सूचक छैनन्। सूचीकृत कम्पनी सबैको नाफा लगभग बढ्दो क्रममा छ। नाफा बढाएका तथा राम्रो लाभांश घोषणा गरेका कम्पनीले पनि राम्रो मूल्य भने पाउन सकेका छैनन्।

बम्पर लाभांश घोषणा गरेको एनएमबी बैंकको अधिकतम कारोबार हुने क्रमले निरन्तरता पाएको छ। एनएमबीको मात्रै चार करोड ३० लाख रुपैयाँको खरिद बिक्री भएको छ।

त्यस्तै दोस्रोमा नेपाल बैंकको दुई करोड रुपैयाँको करोबार भएको छ। २२ वर्ष पछि २५ प्रतिशत लाभांश दिएपनि नेपाल बैंकको शेयर मूल्य भने बिहीबार थप तीन रुपैयाँले घटेर ३१४ रुपैयाँमा कारोबार भएको छ।