पुनर्बिमा कम्पनीले पत्याएनन् भने बिमा व्यवसायलाई निरन्तरता दिन सकिन्न- सुनिल बल्लभ पन्तको लेख

बिजमाण्डू
२०७६ मंसिर ५ गते १०:३० | Nov 21, 2019
पुनर्बिमा कम्पनीले पत्याएनन् भने बिमा व्यवसायलाई निरन्तरता दिन सकिन्न- सुनिल बल्लभ पन्तको लेख


Tata
GBIME
Nepal Life

निर्जीवन बिमा कम्पनीहरूमा व्यवसाय खोसाखोस साधारण प्रक्रिया हो। खोस्ने क्रममा के गरिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। सेवा दिएर व्यवसाय तानेको छ कि नदिइ अन्य कारणले खोसेर लगिएको छ भन्ने कुरा ध्यान दिने कुरा हो ।

ग्राहकले पाउने सेवा सुविधा र विश्वास अभिवृद्धि गरेर अर्को बिमा कम्पनीले लग्यो भने चित्त दुखाउनु पर्दैन। व्यवसाय खोसिने कम्पनीले खोसेर लैजानेको भन्दा स्तरिय सेवा दिनुपर्ने रैछ भन्ने कुरामा ध्यान दिनु पर्छ। हाम्रो सुविधामा केही कमि रहेछ भन्ने बुझ्नुपर्छ। तर अन्य कारणले खोसिएको रहेछ भने त्यसलाई निरुत्साहित गर्नुपर्छ।

कम्पनीहरू मर्यादित भएर बस्नु नै अहिले सबैभन्दा धेरै चुनौतिपूर्ण छ। भोलिका दिनमा पुनर्बिमा कम्पनीहरुले नेपालको बिमा उद्योगलाई पत्याउन सक्ने किसिमको आधार मेन्टेन गरेर अगाडि बढाउनु पर्छ। पुनर्बिमा कम्पनीहरूले पत्याएनन् भने हामी यो व्यवसायलाई निरन्तरता दिन सकिँदैन।

देशकै बिमा क्षेत्रको विश्वसनियता अन्तर्राष्ट्रिय स्तरमा कायम राखिराख्ने काम सबै बिमा कम्पनीले गर्नु पर्छ। अस्वस्थ प्रतिस्पर्धा गरेर बजार बिगार्नु हुँदैन।  

अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्ने सन्दर्भमा बिमा समितिबाट कम्पनीहरुका लागि आचारसंहिता बनाएको छ। उक्त आचारसंहिताले अस्वस्थ प्रतिस्पर्धालाई केही हदसम्म रोक्छ। भोलिका दिनमा हुन सक्ने थप अस्वस्थ प्रतिस्पर्धालाई रोक्नका लागि नै हामीले भद्र सहमति गरेका छौ।

अस्वस्थ प्रतिस्पर्धामा दरले महत्वपूर्ण भुमिका खेलेको हुन्छ। अहिले बिमा कम्पनीहरुमा दुई किसिमको दर छ। बिमा समितिले निर्दिष्ट गरेको ट्रयारिफ दर छ। सम्पत्ति बिमा, मोटर बिमा लगायतका क्षेत्रको ट्यारिफका लागि बिमा समितिले निर्देशन गरेको छ। यदि बिमा समितिले तोकेको न्युनतम दरभन्दा तलको दरमा कसैले बिमा गर्छ भने त्यो बिमा समितिको नियमको उल्लङ्घन हो।

समितिको निर्देशन उल्लङ्घनमा बिमा समितिले कारबाही गर्न सक्ने अवस्था त छँदैछ, ट्यारिफ दर निर्धारण नगरिएका पोलिसीमा कम्पनीको आफ्नो क्षमता तथा पुनर्बिमा कम्पनी सँगको सहमतिमा कम्पनीहरुले न्युनतम दर तोक्न सक्छन्। यसरी दर तोक्दा आजलाई बिजनेस लिइहालौ, भोलि दाबी परेका खण्डमा परेको ब्योहोरौला भन्ने देखिन्छ। 

दाबी परिसकेपछि पुनर्बिमाले हेर्ने दृष्टिकोण उच्चस्तरिय राख्ने कि नराख्ने भन्ने किसिमको मानसिकतामा कम्पनीहरुले ध्यान दिनुपर्छ। हामीहरुले नन-ट्यारिफमा पनि एउटा न्युनतम गाइडलाइन बनाउनुपर्छ भन्दै आएका छौ। जसले गर्दा जनमानसमा बिमाको दर रेटले गर्दा आफू ठगिएको अथवा वास्तविक जोखिम रक्षावरण भएको हो कि होइन भन्ने किसिमको चिन्ता हुन दिनु हुँदैन। यसको होमवर्कमा बिमक संघ अगाडि बढि नै हाल्छ। यी सबै कुराले बिमा व्यवसायलाई मर्यादित बनाउने विषयमा सबै कार्यकारी अधिकृतहरुको एउटै स्वर छ।

कम्पनीहरुले अस्वस्थ प्रतिस्पर्धा गर्ने क्रममा सस्तोमा बिमा उठाउने अवस्था रहन्छ। सस्तोमा उठाएको जोखिमको हस्तान्तरण पनि कमजोर पुनर्बिमा कम्पनीमा हस्तान्तरण हुनसक्ने जोखिम अवश्य रहन्छ। जोखिम न्युनिकरण गर्न अन्तर्राष्ट्रिय स्तरका मान्यतालाई आधार मान्दै केही गाइडलाइन बनाउनु पर्छ। कम्पनीहरुले अहिलेलाई प्रिमियम त लेलान, तर दाबी परेको खण्डमा भुक्तानी पाइएन भने असहज हुने अवस्था सिर्जना हुन दिनु हुँदैन।

प्रिमियम लिएपछि पुनर्बिमा कम्पनीले दाबी भुक्तानी गर्लान् त्यसपछि त्यही पुनर्बिमा कम्पनीले रक्षावरण नगर्ने भन्यो भने के हुन्छ ? अथवा सामान्य चलिरहेको दरभन्दा माथिमा मात्रै बिमा गर्छु भन्यो भने के होला ? त्यो बेला कम्पनीलाई मात्रै होइन सर्वसाधारणलाई पनि मार पर्छ।

संसार भरि नै जीवन बिमा पोलिसी एजेन्टमार्फत बिक्री गरिन्छ। उनीहरू बिमितको घर घरमा जान्छन्। निर्जीवन बिमा व्यवसाय अभिकर्तामार्फत हुने व्यवसाय होइन। विदेशमा बिमा कम्पनीहरूले बैंकिङ च्यानलमार्फत बिमा गराउने गरेको देखिन्छ। निर्जीवन बिमा कम्पनीहरुले घर घरमा गएर पोलिसी बिक्री गर्न सक्दैनन्। घर घरमा पुग्दा खर्च बढ्छ।

जीवन बिमा एकपटक गरिसकेपछि २० औ वर्षसम्म प्रिमियम लिए मात्रै हुन्छ। त्यसपछि उक्त पोलिसीका लागि मार्केटिङ गरिरहनु पर्दैन। निर्जीवन बिमा पोलिसी एक वर्षको लागि मात्रै हुन्छ। सर्वसाधारणको लागि जीवनभन्दा निर्जीवन बिमा कम प्राथमिकतामा पर्छ।

जीवनको जस्तो डोर टु डोर जाने भन्दा पनि अनलाइनमार्फत पोलिसी बिक्री गर्नुपर्छ। कसैले सम्पती तथा जोखमको बिमा गर्न खोज्यो भने अनलाइन प्रविधिबाट बिमा गर्न सक्नुपर्छ। हामीहरु त्यही हिसाले अगाडि बढेका छौं। डोर टु डोर भन्दा पनि ह्याण्ड टु ह्याण्ड पोलिसी पुगिसक्यो। टेक्नोलोजीलाई प्रयोग गरेर व्यवसायको अभिवृद्धि गर्नुपर्छ।

बिमा धनि वर्गका लागि भन्दा पनि गरिब परिवारका लागि बढि उपयुक्त हुन्छ । गरिब परिवारको एउटा मात्रै व्यवसाय, एउटा मात्रै घर तथा सीमित सम्पती हुन्छ। यदि केही भइहाल्यो भने सबैभन्दा पीडित त्यही समुदायका मानिस हुने गरेका छन्।

त्यसैले बिमाको सबैभन्दा धेरै आवश्यकता तिनै वर्गलाई पर्छ। यसको लागि बिमा कम्पनी सरकार र नियामक निकाय लगायतका सबै पक्षहरु मिलेर बिमाका बारेमा जनचेतना जगाउनु पर्छ। जनचेतनाका काम एकपटक मात्रै गरेर हुँदैन, यसलाई निरन्तरता दिनु पर्छ।

कम्पनीहरुले एक दिन कुनै घरमा गएर बिमाको महत्व बुझाएर बिमा गर्न अनुरोध गरे, तर उहाँले मान्नु भएन दोहोर्‍याएर पटक पटक जानुपर्ने हुन्छ। यस्तो अवस्थामा निर्जीवन बिमा कम्पनीहरुले खर्चले धान्न सक्दैनन्।

हाम्रो पुस्ता पहिलाको भन्दा परिवर्तित छ। त्यस्तै हामीभन्दा नयाँ पुस्ता अझ नयाँ राख्छ । अभिभावकले हिजो जुन दिशामा डोर्‍याए हामी त्यही दिशामा अगाडि बढ्थ्यो। अबका पुस्ताको अझ परिवर्तित सोचलाई मध्यनजर गर्दै स्कुल तहदेखि नै बिमाको विषयमा पाठ्यक्रम तयार पार्नु पर्ने आवश्यकता छ । पछि उनीहरु आफै बिमाको क्षेत्रको जिम्मेवारीका लागि तयार हुन सक्छन्।

यदि शैक्षिक पाठ्यक्रममै बिमाको विषय राखियो भने उनीहरु पढ्दा पढ्दै यो क्षेत्रबारे बढि जानकार हुन सक्छन्। यसबाट उनीहरूले नै आफ्नो परिवारमा बिमाको महत्व बुझाउन मद्दत पुग्छ । बिमाको घरदैलोमा पुग्नैपर्ने अभियानलाई यसले सहयोग पुग्छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीका सम्बन्धमा बताउनु पर्दा यसले सबैभन्दा पहिला पशुधनको बिमा सुरु गर्‍यो। नेपाल सरकारले सहयोग गर्न भएपछि बिमा समितिले पनि पशुधनको पोलिसी ल्यायो। हामीले यो पोलिसी ल्याउँदै गर्दा किसानहरुमा आफूले पालेका पशुहरुको बिमा गर्न सकिन्छ भन्ने विषयमा ज्ञान थिएन। त्यसैले महत्व बुझाउँदै हामीले पहिलो वर्ष बिमा गर्दा गाह्रो भयो। सरकारले अनुदानको व्यवस्था गर्‍यो, त्यस पछिका वर्षमा यसले फड्को मार्दै आएको छ।

हाम्रो ध्यान सर्वसाधारणका लागि आवश्यक पर्ने आधारभूत प्रोडक्ट निर्माणतर्फ केन्द्रित हुनुपर्छ। हामीले यस्तो कार्यक्रम ल्याउनु पर्छ, जसले सम्पतीको रक्षावरण गरोस्, दुर्घटना र स्वास्थ्य पनि कभरेज होस्। सबै किसिमका जोखिम कभरेज भयो भने बिमा सबैको पहुँचमा पुग्न सक्छ। (पन्त एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्)