मर्जरका नाममा अढाई वर्षदेखि शेयर बन्धक, किनबेच रोक्काले आत्तिए सहाराका शेयरधनी

बिजमाण्डू
२०७६ मंसिर ३ गते १५:०९ | Nov 19, 2019
मर्जरका नाममा अढाई वर्षदेखि शेयर बन्धक, किनबेच रोक्काले आत्तिए सहाराका शेयरधनी


Tata
GBIME
Nepal Life

काठमाडौं। अढाई वर्षदेखि सर्वसाधारणको शेयर बन्धक बनाएर बैक बेपत्ता भएपछि साधारण शेयरधनी अत्तालिएका छन् । सहारा विकास बैकले मर्जरको नाममा शेयर बन्धक बनाएपछि शेयरधनी आतिएका हुन् ।

सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको उक्त बैकले २०७५ जेठ २५ मा देव विकास बैकसँग गाभिने सम्झौता गरेको थियो । उक्त सम्झौतासँगै सहाराका सबै शेयर दोस्रो बजारमा रोक्का भएको थियो । पछि साधारणसभाले सहारालाई प्रदेश स्तरको बैंकमा स्तरोन्नति गर्ने निर्णय गर्दै देवसँग 'मर्जर' मा जाने सम्झौता खारेज गरेपछि प्रक्रिया अघि बढेन ।

मर्जरमा जाने सम्झौता रद्द गरेपनि बैकको शेयर भने दोस्रो बजारमा अझैसम्म रोक्का छ । रोक्का रहेका कारण अढाई वर्षदेखि साधारण शेयरधनीले दोस्रो बजारमा शेयर किनबेच गर्न पाएका छैनन्। सहाराले दोस्रो बजारमा शेयर कारोबार खुलाउने प्रक्रिया अघि नबढाएका कारण साधारण शेयरधनी मर्कामा परेका हुन् ।

मर्जरमा जाने वा गाभिने प्रक्रियामा ढिला गर्दा नियामक निकायमार्फत कडीकडाउ गर्ने कुनै नियम छैन । नेपाल धितोपत्र बोर्डले समेत कुनै कारबाही नगर्ने भएपछि बैंकले कारोबार खुलाउन चासो नदिएको हो ।  स्टक मार्केटमा गरिएको लगानी (लिक्विड एसेट) तरल सम्पत्तिको रूपमा मान्ने विश्व अभ्यास छ । तर बैकको शेयर कारोबार रोक्का रहेका कारण साधारण शेयरधनीले सम्पतीलाई तरलमा परिवर्तन गर्न पाएका छैनन् ।

यस विषयमा सहारा व्यवस्थापनले ढिला भए पनि कारोबार खुलाउने प्रक्रियामा रहेको जनाएको छ । मर्जरमा जाने सम्झौता रद्द गरेलगतै रोक्का शेयरको कारोबार खुलाउने सञ्चालक समितिले जनाएको थियो ।

तर, अझैसम्म नखुलाएको गुनासो शेयरधनीहरूको छ ।  बैकका प्रमुख कार्यकारी अधिकृत विनयकुमार शाहले भने कारोबार खुलाउनै भनेर आफू यतिबेला काठमाडौंमा दौडधूप गरिरहेको बताए । 'बैकलाई पुनः मर्जरमा लैजाने वा कारोबार खुलाउने प्रक्रिया तीन महिना भित्रैमा टुंगो लाग्छ,' उनले भने ।

नेपाल स्टक एक्सचेन्ज ( नेप्से )मा उक्त बैकको ७ लाख २९ हजार ९४८ कित्ता शेयर सूचीकृत छ । हाल चुक्ता पूँजी १६ करोड ३३ लाख रुपैयाँ रहेको सहाराले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २४ लाख रुपैयाँ नाफा गरेको छ ।