दुई दशकपछि घोषित लाभांशले नेपाल बैंकमा झुम्मिए लगानीकर्ता, एनएमबि र नेपाल बैंककै उच्च कारोबार

बिजमाण्डू
२०७६ मंसिर २ गते १५:३३ | Nov 18, 2019

Tata
GBIME
Nepal Life

 

काठमाडौं । दुई दशकभन्दा बढी समयपछि नेपाल बैंकले लाभांश दिएपछि सोमबार शेयर बजार नेपाल बैंकमय भयो। सोमबार नेपाल बैंकको शेयरमा लगानीकर्ता झुम्मिँदा उसैको उच्च कारोबार भएको छ ।

तर पनि समग्र कारोबार मापक सूचक भने उकासिन सकेन। सोमबार १६० कम्पनीको ११ लाख ८८ हजार कित्ता शेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भयो।

लगानीकर्ताले खरिद/बिक्रीको चाप बढाएपछि नेपाल बैंककै झन्डै नौ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। दोस्रोमा उच्च कारोबार हुने कम्पनी एनएमबि बैंक रहेको छ । जबकि उसको कारोबार नेपाल बैंकको तुलनामा झन्डै आधा घटी छ । उसको करिब चार करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।

दुवै बैंकले राम्रो प्रतिफल दिएका कारण लगानीकर्ता ती कम्पनीमा झुम्मिएका हुन्। दुई दशकभन्दा बढी समयपछि नेपाल बैंकले सोमबारनै २५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसका कारण लगानीकर्ताले सोमबार नेपाल बैंकको शेयरमा खरिद /बिक्री चाप बढाएका हुन्।

एनएमबि बैंकले समेत ३५ प्रतिशत लाभांश घोषणा गरेको छ। सोही कारण केहिदिनदेखि लगानीकर्ताको रोजाइमा उक्त शेयर पर्दा उच्च कारोबार हुने कम्पनी सूचीमा एनएमबिको शेयर पर्दै आएको छ।

सूचीकृत शेयरले राम्रो लाभांश घोषणा गरेपछि लगानीकर्ताको दोस्रो बजारमा शेयर खरिद/बिक्री चाप बढ्ने गरेको छ।   लगानीकर्ताले राम्रो लाभांश दिने कम्पनीको शेयर खरिद बिक्री चाप बढाएको भएपनी उनीहरूको प्रति शेयर मूल्यमा ठूलै परिवर्तन हुन सकेको छैन ।

सोमबारनै नेपाल बैंकको शेयर मात्रै करिब नौ अर्व रुपैयाँको कारोबार हुँदा उसको प्रति शेयर मूल्य एक रुपैयाँले मात्रे बढेको छ ।

सोमबार उसको प्रति शेयर मूल्य ३३२ रुपैयाँसम्म उक्लिएर पून झरेको हो। राम्रो प्रतिफल दिएपनी लगानीकर्ताले यस बेला शेयर किनबेच गर्दा मूल्य बढाएर खरिद नगरेका कारण शेयरको मूल्य नबढेको हो।

लगानीकर्ताले शेयर बढ्छ भन्ने विषयमा निश्चिन्त हुन नसक्दा शेयरको मूल्यसँगै शेयर मापक सूचक समेत नबढेको हो।    

सोमबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ०.२४ अङ्कले घटेर ११३१.१२ अंकमा झरेको छ। सेन्सेटिभ सूचक ०.५३ अङ्कले २४८.६० अंकमा झरेको छ।