नयाँ गणना विधिले बैंकहरुको स्प्रेडदर बढ्यो, केही बैंकहरु अझै पुरानै विधिमा गणना गर्दै

बिजमाण्डू
२०७६ कात्तिक २८ गते १५:४८ | Nov 14, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले स्प्रेडदर गणना विधि परिवर्तन गरेपछि बाणिज्य बैंकहरुको स्प्रेडदर बढेको छ।

वित्तीय विवरण सार्वजनिक गर्ने १२ वटा बाणिज्य बैंकहरुमध्ये ६ वटाको स्प्रेडदर बढेको छ। स्प्रेडदर बढेका मध्ये केही बैंकले मात्रै नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशन कार्यान्वयन गरेका छन्।

एभरेष्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, लक्ष्मी बैंकले मात्रै नयाँ गणना विधिलाई पच्छ्याएका छन्। लक्ष्मी बैंकले वित्तीय विवरणमा पुरानै विधि अनुसार कायम हुने स्प्रेडदर राखे पनि नयाँ विधि अनुसार भने ४.७४ प्रतिशत हुने उल्लेख गरेको छ।

तर वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये सिद्धार्थ बैंक, जनता बैंक, नेपाल बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन बैंक र कृषि विकास बैंकले नयाँ विधि अनुसार स्प्रेडदर गणना गरेका छैनन्।

बैंकहरुले चर्को व्याजदरमा ऋण लगानी गरेको भन्दै उद्योगी व्यवसायीले विरोध गरेपछि नेपाल राष्ट्र बैंकले स्प्रेडदर गणना विधि परिवर्तन गरेको थियो। कर्जा र निक्षेपको ब्याजदरअन्तर (स्प्रेडदर) गणना गर्दा लगानी तथा सरकारी ऋणपत्रलाई समावेश गर्न नपाउने व्यवस्था गरेको थियो।

ऋणको व्याजदर उच्च हुने र सरकारी ऋणपत्रको व्याजदर कम हुने हुँदा बैंकहरुले औसतमा ऋण लगानीको व्याजदर कम देखाउन सक्छन्। यसले बैंकको नाफामा उल्लेख्य सुधार हुन्थ्यो। नाफामा कमि आउने भए पछि बैंकहरुले पुरानै विधिबाट स्प्रेडदर गणना गरेका हुन्।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत स्प्रेडदर ४.४ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरिएको थियो। नयाँ गणना विधिले स्प्रेड दर थप बढ्ने भए पछि बैंकहरुले प्रधानमन्त्रीदेखि अर्थमन्त्रीहरुलाई समेत गुहार्न पुगेका थिए।

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा तोकिएर स्प्रेडदर जसरी पनि कायम गर्ने तर नाफा घट्न नदिने रणनीतिले केहि बैंकहरुले पुरानै विधिलाई गणना गरिरहेका हुन्। नेपाल राष्ट्र बैंकहरुले भनेको आधारमा स्प्रेडदर गणना गर्दा बढ्ने तर उक्त स्प्रेड नियम भन्दा धेरै माथि हुने भए पछि बैंकहरुले अटेर गरेका हुन्।