रुप ज्योतिको फाइल सरकारी वकिलको कार्यालयले फिर्ता दियो प्रहरीलाई, प्रकृया लम्बिने

सविन ढकाल/बिजमाण्डू
२०७६ कात्तिक २८ गते १४:०९ | Nov 14, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योतिको अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले प्रहरीलाई नै फिर्ता पठाएको छ।

अनुसन्धान नपुगेको भन्दै सरकारी वकिल कार्यालयले बिहीवार फाइल फिर्ता पठाएको हो। बुधवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले फाइल सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो। प्रहरीको अनुसन्धानमा ठगी भन्ने प्रष्ट खुल्न नसकेपछि फिर्ता पठाएको सरकारी वकिल कार्यालयले जानकरी दिएको छ।

'पीडित पक्षले रकम पाएको भन्दै निवेदन दिनुभयो। त्यसैले के हो थप अनुसन्धान गर्नु भन्दै फिर्ता पठाएका हौं,' सरकारी वकिल कार्यालयका एक वकिलले भने।

व्यवसायी रुप ज्योति र छोरी सुरुचि ज्योतिविरुद्ध हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आइतबार दिएको पाँच दिनको म्याद आजसम्म छ। पीडित भनिएका विजेन्द्र कृष्ण मल्लले आफूले रकम फिर्ता पाउने शर्तमा मिल्न तयार भएको बताउँदै सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए। सरकारी वकिल कार्यालयले मल्लको निवेदनसमेत प्रहरीको अनुसन्धान फाइलसँगै पठाएको छ।

प्रहरीले अब थप अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालयमा बुझाउनु पर्ने छ। प्रहरीले बुझाएको फाइलको आधारमा सरकारी वकिल कार्यालयले मुद्धा चल्ने वा नचल्ने निर्णय गर्छ। मुद्धा चल्ने देखिएमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्धा दर्ता गराउने छ।

पहिलोपोस्टसँग सम्पर्कमा आएका मल्लले क्षतिपूर्ति सहितको रकम फिर्ता पाउने सहमति भएपछि निवेदन दिएको बताएका छन्। उनले भने, 'उहाँ क्षतिपूर्तिसहित रकम दिन तयार हुनुभएको छ। मलाई क्षतिपूर्ति सहित रकम दिए मुद्दा फिर्ता लिन तयार छु।'

अध्यक्ष रुप ज्योतिलाई गत बिहीवार अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुचिसहित प्रहरीले पक्राउ गरेको थियो। ज्योतिका दाजु पद्म ज्योतिलाई पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।

ज्योतिले एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।