आक्रमक दौडमा हिँड्यो नबिल बैंक, ‘नम्बर वान’ को ताज जोगाउन फरक रणनीति

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ कात्तिक २८ गते ११:४३ | Nov 14, 2019
आक्रमक दौडमा हिँड्यो नबिल बैंक, ‘नम्बर वान’ को ताज जोगाउन फरक रणनीति

Tata
GBIME
Nepal Life

काठमाडौं। कैयन् बर्षदेखि 'नम्बर वान'को ताज बोकिरहेको नबिल बैंकलाई अहिले सूचकहरुमा अरु बैंकले जित्न थालेका छन्।

नाफामा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले जितेको छ। पूँजी, जगेडा कोष, निक्षेप, ऋण, शाखा सञ्जाललगायत अधिकांश सूचकमा नबिल पछाडि पर्न थालेको छ।

अधिकांश बैंकको उपल्लो ब्यवस्थापनमा 'नबिलियन'हरु नै छन्। छाडेर गएकाले उन्नति-प्रगति गरिरहँदा नबिलको 'नम्बर वान' ताज  खोसिँदैछ।

'हामीले अहिले आएर आत्मालोचना गर्दा अधिकांश सूचकमा हामी नम्बर वानबाट बाहिरी सकेका रहेछौं' बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'विगतमा पसिना बगायौं, बुद्धि चलायौं र हामी नम्बर वान भयौं। नम्वर वान भएकोमा हामी यति रमायौं कि अरुले उछिनिसकेछन्।'

ताज किन टिकेन त? 

'नम्बर वान भइसकेपछि एउटा के हुँदो रहेछ- आफूभन्दा अगाडि कोही पनि दौडिएको छैन त्यसैलै अलिकति आराम गरौं भन्ने लाग्ने रहेछ,' शाहले भने, 'कोही अगाडि भइदिएको भए त्यसलाई भेट्टाउँ भन्ने हुनेरहेछ। त्यो नभएपछि आराम गर्नेतिर लाग्यौं। त्यो भनेको ब्यालेन्ससिट म्यानेजमेन्ट हो।'

नबिल फेरि सर्वश्रेष्ठ हुने दौडमा लागिसकेको छ। त्यसका लागि आन्तरिक र वाह्य रिफर्म (सुधार)को काम थालेको छ। 

सुचकाङ्क हेर्न यहाँ क्लिक गर्नुस्

'सुधारको सुरुवात हामीले फरक ढंगले गरेका छौं। नबिल एउटा ठूलो ब्राण्ड हो। अहिले हामीले नबिल ब्रान्ड रिइनर्जाइजिङ गरेका छौं। नट रिब्रान्डिङ,' शाहले प्रष्ट्याए, 'सुधारको सुरुवात बाहिरभन्दा भित्रबाट गर्नुपर्छ भन्ने लाग्यो। त्यही भएर म दोस्रो पटक यहाँ आइसकेपछि टिम बिल्डिङ एक्सरसाइज सुरु भएको छ ।'

यो पनि: नबिलः दुई करोडबाट तीन दशकमा तीन अर्बको यात्रा

अनिललाई लाग्छ जुन मान्छे जहिले पनि नम्बर वान भएर बसिरहेको छ उसलाई अरुले जितेपछि अलि फरक हुनु पर्छ भन्ने बताउन जरुरी छ। 
 
अधिकांश सूचकमा नबिल पछि पर्न थाले पनि सर्वसाधारणको नजरमा भने बैंक अझै पनि सर्वश्रेष्ठ छ। र नबिलले यही विश्वासलाई रिइनर्जाइज गर्न थालेको छ।।

'सर्वसाधारणको विश्वास हामीमा छ तर नम्बर वान साँच्चिकै हुने हो भने सबै सूचकमा हुनु पर्छ,' उनले भने, 'शाखा धेरै नभए पनि ग्राहकको आधार बढी हुनु पर्यो। यसले हामीलाई फेरि नम्बर वान बनाउँछ।' 

एक वर्ष अघि अरु बैंकसँग पछि पर्न थालियो कि भन्ने महसुस भएपछि नबिलले ८ महिनाअगाडि नबिलका कमजोरी, सवल पक्ष र गर्नु पर्ने कामका बारेमा एउटा अन्तर्राष्ट्रिय संस्थालाई अध्ययन गर्न लगायो।

वेलायतको प्राइस वाटर हाउस कुपर (पिडब्लुसी)लाई नबिल बैंकका अधिकारीहरुले भने- हाम्रो संस्थालाई हेर। हामीले के के गरिरहेका छौं त्यो पनि हेर। बजारलाई पनि हेर। अनि क्षेत्रीय र त्यसबाहिरको बेन्चमार्कलाई पनि हेर। र, हामीले के राम्रो गर्न सक्छौं। के चै गरेकै छैनौं, त्यो सबै हेर।

'हामीले सबै आन्द्राभुँडी देखायौं। यसमा चार महिना लाग्यो। उनीहरुले अर्को चार महिना छलफल गरेर एउटा प्रतिवेदन तयार पारे' अनिलले भने, 'अहिले हामी त्यसलाई कार्यान्वयन गर्न थालेका छौं।'

अनिलका अनुसार, पिडब्लुसीले सुचना प्रविधि, प्रकृया, जनशक्ति, सञ्जाल, उत्पादन तथा सेवा (प्रोडक्ट एण्ड सर्भिसेज) लगायत धेरै ठाउँमा सुधारको सुझाब दिएको छ। अहिलेको त्रैमासबाट उनीहरुको सुझाब कार्यान्वयन सुरु भइसकेको छ। 

सञ्जाल बिस्तारमा जोड
पिडब्लुसीको सुझाब अनुसार नबिल बैंक शाखा बिस्तारमा आक्रमक देखिएको छ। निक्कै पछाडि आएका बैंकहरुले शाखा सञ्जालमा नबिललाई जितिसकेका छन्। आगामी जनवरीसम्म नबिलले ४० वटा शाखा थप्ने छ। 

'पिडब्लुसीको अध्ययन एकदमै गहिरो हुने रहेछ। उनीहरुले हामीभन्दा पहिले नेपाललाई हेर्यो। नेपाल हेरिसकेपछि नबिलजस्तो बैंकलाई कति वटा शाखा आवश्यक पर्ने रहेछ भनेर हेर्यौं,' अनिलले सुनाए, 'त्यसपछि उनीहरुले हामीलाई कति शाखा थप्ने भनेर 'नम्बर' दिएका छन्। त्यही भएर पहिलो चरणमा ४० वटा शाखा खोल्छौं। उनीहरुले दिएको नम्बरमा पुग्न अरु शाखा थप्नु पर्छ, त्यो अर्को फेजको काम हुन्छ।' 

सूचना प्रविधि अपग्रेड
पिडब्लुसीले नबिललाई अहिलेको सफ्टवेयरबाट 'अपग्रेड' हुन पनि सुझाब दिएको छ। नबिलले अहिले 'फिनिकल' चलाउँछ। 

'फिनिकलको 'लेटेस्ट भर्सन' चलाउनका लागि हामीले इन्फोसिससँग कुरा गर्यौं,' अनिलले भने, 'इन्फोसिसको टिम आएर अध्ययन गर्यो। अब डाटा माइग्रेसनतिर हामी लागिसकेका छौं।'

जनशक्तिमा विविधता
नेपाली बैंकिङ क्षेत्रमा एउटा प्रख्यात भनाइ छ- नेपालमा बैंक खोल्ने हो भने दुई वटा कुरा चाहिन्छ। एउटा, नेपाल राष्ट्र बैंकबाट लाइसेन्स र अर्को, नबिलबाट कर्मचारी।

नबिल बैंक 'सिइओ उत्पादन गर्ने फ्याक्ट्री'का रुपमा स्थापित नै छ। अहिले नै पनि केही बैंकमा नबिल छाडेर गएकाहरुले नेतृत्व गरेर संस्थालाई अगाडि लगिरहेका छन्।

सिइओबाहेक पनि मध्यम र उच्च ब्यवस्थापनमा नबिल छाडेर गएकाहरु प्रशस्त भेटिन्छन्। 

जसरी नबिलले अरु बैंकलाई कर्मचारी उत्पादन गरेर उपलब्ध गरायो, आफूले भने बाहिरबाट कसैलाई पनि भित्र्याएन।

'कपडा जहाँजहाँ सिएपनि एउटा चिज चाइन्छ- धागो। त्यो धागो भनेको जनशक्ति हो,' अनिलले भने, 'कुनै पनि चिज गर्दा पहिले मान्छे चाहिन्छ। हामीले हाम्रो जनशक्तिको स्ट्रेन्थ पनि हेर्यौं‌ र अब त्यसमा काम गरिरहेका छौं।'

नेपालमा ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंक स्थापन भयो। उसले स्थानीय कर्मचारीका रुपमा नबिलबाट धेरै जना लग्यो। नबिल बैंक ३५ बर्षको भइसकेको छ। अहिलेसम्म पनि नबिलले बैंकिङ क्षेत्रलाई 'क्वालिटी मेनपावर' उत्पादन गरेर दिइरहेको छ।

नबिलले अपवादबाहेक बाहिरबाट उच्च पदमा कर्मचारी लिएको छैन। 'इन्ट्री लेभल'का कर्मचारीलाई नै 'ग्रुम' गरेर माथि पुर्याइरहेको छ। 

'सबैतिर सुधार गर्ने हो भने मान्छे चाहिन्छ। हामीमा नभएको गुण (स्किल) अरु बैंकमा छ। त्यो गुण किन नल्याउने भनेर हामी अहिले त्यतातिर लागेका छौं,' अनिलले भने, 'हामीले आन्तरिक रुपमा गुणको विकास गर्न त सकौंला तर समय लाग्छ। बाहिरबाट ल्यायौं भने यहाँभित्रका साथीहरुलाई सिकाउन पनि सकिन्छ र छिटो पनि हुन्छ। हामीले स्किल बढाउन पर्खिनु नपर्ने भएपछि स्पिड पकड्न सक्छौं।'

नभन्दै नबिलले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट नायव महाप्रबन्धकमा आदर्श बजागाइँलाई भित्र्याइसकेको छ। उसले उच्च र मध्यम ब्यवस्थापनमा अरु कर्मचारी भित्र्याउन पहल थालिसकेको छ। केही महिनाभित्र नबिलमा मध्यम र उच्च ब्यवस्थापनमा एक दर्जन कर्मचारी भित्रिँदैछन्। 

'हामी जो राम्रो छ त्यसलाई लिन्छौं अब। जहाँ बसिरहेको छ त्यहाँ राम्रो गरिरहेको छ भने त्यसलाई हामी ल्याउँछौं। नबिल आएर राम्रो गर्छु भन्नेलाई हामी लिँदैनौं,' अनिलले भने, 'हामीसँग नबिलमा ल्याएर परीक्षण गर्ने समय छैन।'

पुरानो बैंक भएका हिसाबले नबिलबाटै करियर सुरु गरेका पनि अवकाश उमेरमा पुगिसकेका छन्। अबको केही महिनामा डेपुटी प्रमुख कार्यकारी अनिलकुमार खनाल अवकाश हुँदै छन्। 

अनिल शाहले पहिलो पटक नबिल छाडेर मेगा बैंक जाँदा १२/१५ जना ब्यवस्थापन तहका कर्मचारी लिएर गएका थिए। भुवन दाहाल सानिमा बैंक जाँदा उनले पनि अरु १२/१५ जना कर्मचारी लिएर गएका थिए। यसबाहेक आ-आफ्नै ढंगले पनि धेरै कर्मचारीले अरु बैंकमा 'जम्प' गरिसकेका छन्।

'हामीले मान्छे कहिले पनि 'क्रस फर्टिलाइज' गरेर लिएनौं। हामीसँग सबै राम्रो छ तर जुन क्वालिटी बाहिरियो त्यसको क्षतिपूर्ति नै भएन,' अनिलले भने। 

बाहिरको बैंकिङ संस्कार कस्तो छ भन्ने नबिलले कहिले पनि महशुस गर्नै पाएन। नबिलभित्र नबिलको मात्रै संस्कार भयो, अरु संस्कार घुलमिल हुन पाएन। 

'अहिले बाहिर धेरै परिवर्तन भइरहेको छ। त्यसैले बाहिर भएका राम्रो कुरा हामीले अपनाउनु पर्छ। बाहिर हामीभन्दा राम्रो भएको चिज हामीले लिनु पर्छ। हामीलाई अब राम्रो मिक्स चाहिन्छ,' उनले भने।

अधिकांश बैंकमा नबिलको संस्कार गएको छ। नबिलको संस्कारलाई आधार मानेर अरुले त्यसमा नयाँ नयाँ कुराहरु थप्दै आफूलाई अब्बल बनाउँदै लगेका छन्। 

'तर इको सिस्टमको कल्चर नबिलमा कहिले पनि आउन सकेन। यहाँबाट गएकाहरुले यहाँको कल्चरलाई आधार बनाएर अगाडि बढे। तर नबिल आधारको आधारमै रहिरह्यो,' अनिलको बुझाइ छ। 

नबिलले बाहिरबाट माथिल्लो पदमा हम्मेसी कर्मचारी नल्याउने भएकाले आन्तरिक रुपमा द्वन्द्व पो होला कि?

अनिलको जबाफ छ- अहिलेको हाम्रो टिमले के बुझेको छ भने जब बैंक ठूलो हुन्छ ब्यालेन्सिट पनि ठूलो हुन्छ। ग्राहक पनि ठूलो हुन्छ र नाफा पनि ठूलो हुन्छ। त्यो बेला फाइदा सबैलाई हुन्छ। होइन मान्छे बाहिरबाट नलिने भन्नेतिर गयौं भने बैंक सानो हुन थाल्छ। त्यो बेला घाटा सबैलाई हुन्छ। 

ब्यापार बिस्तारमा ध्यान
नबिलको बलियो पक्ष भनेको सञ्चालन (अपरेसन) र जोखिम ब्यवस्थापन (रिक्स म्यानेजमेन्ट) हो। बैंकरहरुका अनुसार, यसमा नबिल जत्तिको बलियो बैंक अर्को छैन। 

'इन्जिन हाम्रो बैंकको राम्रो छ। अब हामीलाई पेट्रोल चाहिएको छ। बिजनेस ल्याउन सक्ने मान्छे चाहिएको छ। अहिलेको हाम्रो क्षमतालाई 'फुलफ्लेज' मा हाँक्नका लागि बिजनेस भोल्युम बढाउनु पर्ने छ,' अनिलले भने।

देशकै पहिलो विदेशी संयुक्त लगानीको र निजी क्षेत्रको बैंक भएकाले नबिलसँग सबै प्रकारका ग्राहक छन्। कर्पोरेटदेखि पूर्वाधार र उत्पादनमूलक क्षेत्रसम्मको ब्यापार नबिलसँग छ। ठूला निक्षेपकर्ता पनि नबिलमा छन्न्। विदेशी नियोगहरुको पहिलो रोजाइ पनि नबिल हो। 

'आजको ठूलो ठूलो ब्यापार हामीसँग छ। तर भोलिको र पर्सिको पनि हुन्छ भन्न सकिँदैन,' अनिलको विश्लेषण छ, 'आजको मिड एसएमइ भोलिको कर्पोरेट हो। ती हामीसँग छैनन्। अब हाम्रो फोकस त्यतातिर हुने छ। हिजो मिड एसएमइ नै आज कर्पोरेट बनेका हुन्। त्यसैले आजको मात्र होइन भोलि र पर्सिको ग्राहक पनि हामीलाई चाहिएको छ।' 

नबिलभित्रका कर्मचारीको 'माइन्डसेट' मा पनि समस्या देखिएको उनी स्वीकार्छन्। नबिलको सिइओ वा कर्मचारी कुनै संस्थागत निक्षेपकर्ताकोमा कुरा गर्न गयो भने ५० करोड/१ अर्ब निक्षेप ल्याउन गाह्रो छैन। तर, ५० करोड जुटाउन कति वटा बचत खाता खोल्नु पर्ला? 

'हामी ठूलो ठूलो निक्षेप ताक्ने भयौं। अब यसमा परिवर्तन गर्नु जरुरी छ,' उनले भने, 'ठूलो ठूलो त छ। अब बचत खाता बढाउन हामी हिँडेका छौं। अब हामी बाउआमाको बैंकबाट छोराछोरीको बैंक बनाउन खोजिरहेका छौं।' 

अब नबिलले निक्षेपममा पनि साना ग्राहकलाई छान्ने भएको छ। 'पुरानो मान्छेको खाता भएर भएन अब। नयाँ आउने मान्छेको पनि चाहिएको छ। हामीलाई बचत खाता बढाउनु पर्ने छ,' अनिलले भने, 'अहिले पनि धेरै बैंक पुगेका ठाउँमा नबिल छ भने मान्छेहरु नबिलमा गएर खाता खोल्छन्। तर यो पर्याप्त होइन। अब हामीले घरदैलो गर्नु पर्ने छ। म आफै पनि अहिले घरदैलोमा हिँडिरहेको छु।' 

घरदैलो गर्ने अवस्थामा नबिललाई केले पुर्यायो त? नबिलको गज्जपको ब्रान्ड बन्यो। नबिलले शाखा पनि खोल्न थाल्यो। शाखा खोलेपछि मान्छे आइहाल्छन् नि भनेर बस्यो। 

'तर यसले मात्र पुग्दैन भनेर प्रमाणित भइसकेको छ। पहिले त्यो ठिक थियो। अब भने अरु बैंक छन् र ती आक्रमक छन्। तीनले बिचमै नबिल बैंकमा हिँडेको मान्छे हाइज्याक गर्दिन्छन्,' उनले भने, 'अब हामीले पनि फरक रणनीति लिनु पर्छ। त्यही भएर घरदैलो जाने भएका छौं। गइरहेका छौं।'

अनिललाई लाग्छ सर्वसाधारणको मनमा नबिल धनीको मात्रै बैंक हो कि भन्ने पर्न गएको छ। अब त्यसलाई चिर्नु पर्ने चुनौती रहेको उनी बताउँछन्। 

'नबिल बैंक हरिण होइन। हरिण फुरुक-फुरुक गरेर उफ्रिन्छ,' उनले भने, 'हामी हात्ती हौं। हात्तीलाई सुरुमा हिँड्न अलिकति गाह्रो हुन्छ तर हिँड्न थालेपछि गन्तब्यमा पुग्छ। अब हात्ती चल्न सुरु भइसकेको छ।'

अनिल शाह नबिललाई युवाहरुको बैंक बनाउन चाहन्छन्। उनलाई लाग्छ आजको बर्तमान नबिलसँग छ। अब भोलिको भविष्य पनि नबिल नै होस्। 

'हामीले टच कार्ड सुरु गरिसकेका छौं। युवाहरुको आवश्यकतालाई ध्यानमा राखेर प्रोडक्ट डिजाइन गर्न थालेका छौं,' उनले भने, 'ग्लोबल बैंकिङमा आएका नयाँ इन्नोभेसन र प्रोडक्टलाई हामी ल्याउँछौं। कार्ड पेमेन्टलाई बिस्तार गर्ने छौं।' 

नबिललाई केले सोच्न बाध्य पार्यो?
अनिल शाहले प्रष्टैसँग भने- हामीलाई डरले सोच्न बाध्य बनायो।

डर?

अनिलले एउटा उदाहरण प्रस्तुत गरे। म एकदमै धर्मात्मा मान्छे हो। त्यो हिसाबले मान्छेले मलाई भगवानलाई कति माया गर्छ पनि भन्छन्। हो म भगवानलाई आस्था गर्छु, माया गर्छु। तर त्योभन्दा बढि म भगवानसँग डराउँछु। डराएर अझ धेरै पूजापाठ गर्छु।

'त्यसैले नबिल पनि डरायो। अब पनि केही परिवर्तन गरेनौं भने पछि पर्ने निश्चित छ,' उनले भने।

अनिलले भनेजस्तै नबिलभन्दा पहिले 'नम्बर वान' नेपाल बैंक थियो। आज 'टप ५' मा पनि पर्दैन। नबिल पनि भोलि 'टप ५' बाट पनि बाहिरिन सक्छ। धेरै पछाडि आएका बैंकहरु अहिले निक्कै अगाडि बढिरहेका छन्।

'आजसम्म त हामी नम्बर वान होलाउँ तर आगामी ३/४ बर्षमा हामी कहिँनकहीँको भयौं भने लाजमर्दो भएन र? त्यो हुन दिनु भएन। त्यसका लागि जे गर्न पनि तयार भएर यतिबेला हामी सबै जना लागिपरेका छौं,' अनिलले भने, 'यही डरले हामी फरक रणनीतिमा हिँडेका हौं।'

नबिल बैंक मर्जरबाट छलाङ मार्ने पक्षमा भने छैन। मर्जरमा जान नबिललाई केही प्राविधिक कठिनाइ छन्। नबिलमा विदेशी लगानीकर्ताको ५० प्रतिशत पैसा छ। मर्जरमा जाँदा ५० प्रतिशतको हिस्सा घट्छ। 

'मर्ज गर्न नखोजेको अन्य कारणले होइन संरचनात्मक समस्याले हो। हामी जाने भनेको एक्विजिसन (प्राप्ति) मा हो। त्यसका लागि अब हामी पहल गर्छौं,' उनले भने, 'तैपनि अर्ग्यानिक ग्रोथबाटै हामी अगाडि बढ्न सक्छौं भने अर्को बाटो किन रोज्ने भन्ने पनि छ। हामी अहिले जुन रणनीतिमा अगाडि बढेका छौं त्यसमा अगाडि बढ्छौं नै। सँगसँगै एक्विजिसनका लागि पनि पहल हुन्छ। त्यसले हामीलाई गुणात्मक फाइदा पुग्छ।'

बद्लिँदो नियामकीय प्रावधानहरुले पनि नबिललाई फरक रणनीतिमा हिँड्न बाध्य पारेको हो। आधार दर कम छ। स्प्रेडमा राष्ट्र बैंकको सीमा छ। यदि स्प्रेडमा लगाम नहुने थियो भने नबिललाई छुन 'महँगो स्रोत लागत' भएका बैंकले सक्दैन थिए।

तर नियामकीय प्रावधानले सबै बैंकलाई एउटै बनाइदिएको छ। 'त्यसैले हामीले रणनीति फरक नगरी सुखै थिएन,' उनलेभ ने।

अरु बैंकजस्तै एग्रेसिभ हुँदा नबिलको फ्लेवर हराउँदैन? 

अनिलले फेरि सुरुवातकै कुरा झिके- नबिलले अहिले रिब्रान्डिङ गरेको होइन। नबिल रिइनर्जाइज भइरहेको छ। त्यसैले फ्लेवर हराउँदैन।