‘जायन्ट’ एयरलाइन्स कम्पनीहरु संकटको भूमरीमा, एकपछि अर्को एयरलाइन्स कम्पनी बन्द

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ कात्तिक १६ गते १८:२२ | Nov 2, 2019
‘जायन्ट’ एयरलाइन्स कम्पनीहरु संकटको भूमरीमा, एकपछि अर्को एयरलाइन्स कम्पनी बन्द

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो समय हवाई व्यवसायमा  ठूला अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी संकटमा पर्दै गएका छन्।  भारतमा गेमचेन्जर मानिएका किङफिसर र जेट एयरवेजले आफ्नो व्यवासायिक यात्रा टुंग्याइसकेका छन् भने थाइल्याण्डको ध्वजावाहक थाइ एयरवेजले पनि आफू संकटमा परेको घोषणा हालै गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिब गौतम छोटो समयमा धेरै जहाज संख्या थप्नु, कमजोर आन्तरिक व्यवस्थापन र हवाई सुरक्षाको मापदण्ड कार्यान्वयनमा वेवास्ता गर्नुलाई ठूला वायुसेवा कम्पनी संकटमा पर्नुको मुख्य कारण देख्छन्।   

हवाई व्यवसायलाई मजबुत रुपमा निरन्तरता दिन हवाई सुरक्षा कायम र आन्तरिक व्यवस्थापनमै जोड दिनुपर्ने उनले बताए।यतिखेर सबैजसो अन्तर्राष्ट्रिय कम्पनीले छोटो समयमा धेरै जहाज थप्नु प्राथमिकता दिँदै आएका छन्। यसैकारण विश्वभरनै हवाई व्यवसाय धरासायी बन्ने अवस्था बढ्दै गएको गौतमको भनाई छ।

'हवाई व्यवसाय निकै संवेदनशील व्यवसाय हो। सानो घटनाले पनि व्यवसायमा ठूलै प्रभाव पर्छ। यसका लागि कम्पनीको आन्तरिक व्यवस्थापन एकदमै मजबुत हुन जरुरी छ। त्यसैले जहाज थप्नु भन्दा पनि दिगो रुपमा संचालन गर्नु महत्वपूर्ण हुन्छ।' उनले भने।

हवाई व्यवसाय दिगो रुपमा अगाडि बढाउन जनशक्ति, प्रविधी र पूर्वाधारको सही संयोजन अत्यावश्यक रहेको उनले बताए।

हरेक १५ वर्षको अन्तरालमा हवाई यात्रुको वृद्धि दोब्बर हुँदै आएको छ। सन् २०१८ मा संसारभर चार अर्ब ३० करोड हवाई यात्रुले सेवा लिएको पाइएको छ। अबको १५ वर्षमा यात्रुको संख्या दोब्बर हुने एक अध्ययनले देखाएको छ।

'१५ वर्षपछि आउने बिबिध किसिमका समस्या समाधानका लागि एउटा देशले मात्र नभई विश्वका सबै देशहरुले पूर्वाधार मानव संशाधन र प्रविधिमा पूर्व तयारी गर्नुपर्ने गौतमको सुझाव छ। उनले पूर्वाधार अन्तर्गत विमानस्थलदेखि एयर नेभिगेशनसम्म, मानवसंसाधन अन्तर्गत पाइलट, एयरट्राफिक कन्ट्रोल र इन्जिनियरहरुको व्यवस्थापन तथा प्राविधिक क्षेत्रलाई अत्याधुनिक र चुस्त बनाउनुपर्ने र त्यसको लागि पूर्वतयारी अत्यावश्यक रहेको उनको भनाई छ।

अध्ययनका अनुसार आगामी १५ वर्षमा विश्वभर पाँच लाख पाइलट, तीन लाख एयर ट्राफिक कन्ट्रोलर र छ लाख एरोनोटिकल इन्जिनीयरको आवश्यकता रहेको पनि उनले बताए।हवाई व्यवसायमा लगानी अनुसारको प्रतिफल पाउनै मुस्किल देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले बताए।

'पछिल्लो समय विश्वबजारमा फ्युल इफिसियन्ट जहाजहरु आइसकेका छन्। कम बजेटका एयरलाइन्स फस्टाइरहेका छन्। हवाइ भाडा सस्तो भएपछि विश्वभर हवाई यातायात सेवा लिनेको संख्या बढ्दै गएको पाइन्छ। डिमाण्ड अनुसार जहाज बढेपछि एयर ट्राफिक ग्रोथ व्यापक रुपमा बढ्दै जान्छ। त्यसपछि एयरपोर्ट कन्जेसन र पर्याप्त जनशक्ति नपाइने लगायत समस्या आएपछि व्‍यवसाय संकटमा परिहाल्छ।' पूर्व महानिर्देशक मानन्धरले भने।   

अध्ययनका अनुसार सन् २०१८ मा विश्वभर रहेका वायुसेवा कम्पनीले १६ सय छ वटा जहाज खरिद गरेका छन् भने १६ सय ४० वटा जहाज अर्डर गरेका छन्।  हवाई व्यवसायलाई  दिगो रुपमा लानका लागि परम्परागत शैली भन्दा समय र प्रविधी अनुसार क्षमतावान दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने अवस्था रहेको उनले बताए।

हवाई क्षेत्रमा एउटा भनाई हाल प्रचलनमा आएको छ 'यदि कसैलाई अर्बपतिबाट लखपतिमा झर्नु छ भने एयरलाइन्स बिजनेसमा प्रवेश गरे हुन्छ'। यो ग्ल्यामरस क्षेत्र भएकाले लगानीकर्ताले प्रवेश गरिसकेपछि निस्कन गाह्रो छ। बाहिरबाट हेर्दा ग्लामरस देखिएपनि यो व्यवसाय भित्र छिरेपछि व्यवस्थापन समस्या मेन्टेन गर्नै गाह्रो हुने देखिएको छ। लामो समयदेखि राम्रो सेवा दिएर नाफा कमाइरहेको कम्पनीको एउटा सानो घटना भयो भने त्यो कम्पनीको छवि नै विग्रन्छ।' पूर्व महानिर्देशक मानन्धरले भने।

किङफिसर अवसान

सन् २००३ मा बैंगलोरको युनाइटेड ब्रुअरीको लगानीमा स्थापना भएको किङफिसर एयरलाइन्स धरासायी भयो। विजय माल्याको यो कम्पनीले सन् २००५मा चारवटा एयरबस ३२०-२०० जहाजमार्फत मुम्बाई-दिल्ली व्यवसायिक उडान सुरु गरेको थियो।

त्यसताका कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष विजय माल्याले वर्ल्ड इकोनोमी फोरममा कम्पनी विस्तार गर्नका लागि दुई सय अर्ब डलर बराबरको आइपिओ(प्राथमिक शेयर) जारी गर्ने घोषणा गरेका थिए। कम्पनीले त्यतिखेरै एयर साहाराको स्वामित्व लिने योजना पनि बनाएको थियो। तर पछि वार्षिक रुपमा गम्भीर घाटा व्योहोर्न सुरु भएपछि कम्पनीले एयर साहाराको स्वामित्व लिन असफल भएको थियो।       

यो कम्पनीले सन् २००८ मा बैंगलोर-लण्डन अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो।सन् २००५ मै कम्पनीको ऋण तिर्न असमर्थ भएपछि कम्पनीले सन् २००७ मा बैंगलोरको एयर डेकन खरिद गर्न सकेको थिएन। यसले कम्पनीको छविमा झन् दाग थप्ने काम गरेको थियो।

संचालनमा आएको तीन वर्षमै कम्पनीले १० अर्ब भारतीय रुपैयाँको घाटा व्‍योहोरेको थियो।सन् २०११ मा लो कस्ट अपरेशन गर्न नसकेपछि अध्यक्ष माल्याले तत्काल कम्पनी संचालन बन्द गर्ने योजना बनाएका थिए। मुम्बई स्टक एक्सचेन्जमा उनले भनेका थिए,' कम्पनीले व्ययभार  थपिँदै गएको कारण वार्षिक आम्दानी कमजोर हुँदै गएको छ।'

सन् २०११ मा कम्पनीको आर्थिक नतिजा नै खराब देखिएको थियो। व्ययभारले सीमा नाघ्न सुरु गरेपछि माल्याले समाधानका लागि सरकारसँग इन्धन र अन्य कर मूल्य घटाउन आग्रह गरेका थिए।    

ऋण तिर्न नसकेपछि सन् २०११को अन्तिममा मुम्बईको आयकर विभागले  कम्पनीको बैंक एकाउन्ट नै फ्रिज गरिदिएको थियो। सन् २०१२ मा कम्पनीको ब्ययभार ७० अर्ब भारतीय रुपैयाँमा पुगेको थियो। अनि कम्पनीले आफूसँग भएको आदि जहाज ग्राउण्डेड गर्न थाल्यो।

सन् २०१२ अक्टोबरमा भारतको नागरिक उड्डयन प्राधिकरणले कम्पनीको लाइसेन्स नै खारेज गरिदियो। सन् २०१३मा प्राधिरकरणले कम्पनीको उडान अधिकार र स्लट दुवै खारेज गरिदिएको थियो।

जेट एयरवेजको छोटो उडान

भारतकै अर्को निजी वायुसेवा कम्पनी जेट एयरवेज पनि ग्राउण्डेड भइसकेको छ। सन् १९९५ मा बजारमा इन्ट्री गरेको यो वायुसेवा कम्पनीले सन् २०१० देखि भारतकै अधिक यात्रु बोक्ने व्यावसायिक वायुसेवा कम्पनीको पहिचान बनाएको थियो। १० वर्ष अगाडि २२.६ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनी यतिखेर बन्द भइसकेको छ।

भारतीय हवाई व्यवसायमा एयर इण्डिगो र एयर स्पाइस जेटसँगको प्रतिश्पर्धामा एक नम्बरमा रहेको जेट एयरवेजको बजार हिस्सा खस्किएपछि सन् २०१७मा दोस्रो स्थानमा आएको थियो। त्यतिखेर कम्पनीको बजार हिस्सा घटेर १७.८ प्रतिशतमा झरेको थियो। एयर इण्डिगोले आफ्नो वर्चश्व कायम गर्न सुरु गर्‍यो।

विस्तार यो कम्पनीको व्यवसाय खस्किँदै गयो। सन् २०१९ जुलाइमा कम्पनी संकटमा गएको घोषणासँगै अप्रिलदेखि कम्पनी नै बन्द भयो।

कम्पनीले सन् १९९६ मा ३७५ मिलियन डलरको लागतमा चारवटा बोइङ ७१७-४०० र छवटा बोइङ ७३७-८०० प्रकारको जहाजमार्फत उडान सुरु गरेको थियो। यो नै एक दक्षिणपूर्वी एशियाको पहिलो कम्पनी थियो जसले पहिलो पटक बोइङ ७३७-८०० सिरीजको जहाज अर्डर गरेको थियो।

आर्थिक वर्ष सन् १९९६/९७ मा २.४ मिलीयन यात्रु बोकेको कम्पनीले बजार हिस्सा २० प्रतिशत कायम राखेको थियो। यतिखेर कम्पनीले २३ आन्तरिक गन्तब्यमा दैनिक ८३ उडान गर्दै आएको थियो।

सन् १९९७ मा परराष्ट्र लगानी अन्तर्गत संसदीय समितीले विदेशी वायुसेवा कम्पनीलाई ४० प्रतिशत साझेदारी लिने व्यवस्था लागू गरेपछि भारतका गैरआवासिय नागरिक एवं कम्पनीका अध्यक्ष नरेश गोयलले विदेशी कम्पनीसँग ट्रेड विन्ड सुरु गरे। त्यतिखेर गल्फ एयर, कुवेत एयरवेज र लुफ्थान्सा लगायत कम्पनीलाई ४० प्रतिशत हिस्सा लिन सक्ने व्यवस्था निर्धारण गरिएको थियो।

कम्पनीले पाँच वर्ष नबित्दै सन् २००१ मा जहाज संख्या ३० पुर्‍याएको थियो। ती जहाजमार्फत दैनिक ३७ आन्तरिक गन्तब्यमा एक सय ९५ उडान सुरु गर्‍यो।

छोटो समयमै धेरै जहाज संख्या थप्न सुरु गरे लगत्तै सन् २००१-०२ को आर्थिक वर्षमै घाटा व्योहोर्न सुरु गर्‍यो। जसले गर्दा कम्पनीको १० वटा इम्ब्रेरर जहाज थप्ने योजनामै तगारो लाग्यो। सन् २००३ मा भारत सरकारले वायुसेवा कम्पनीलाई बंगलादेश, नेपाल, श्रीलंका लगायत दक्षिण एसियाली मुलुकमा उडान अनुमतिको निर्णय गर्‍यो।

सन् २००४ देखि कम्पनीले चेन्नाइ-कोलम्बोमा पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गर्‍यो। सन् २००४को डिसेम्बरमा कम्पनी बम्बे स्टक एक्सचेन्जमा सुचिकृत भएको थियो। सरकारले वैदेशिक लगानीलाई ४० प्रतिशतबाट ४९ प्रतिशतमा पुर्‍याउने अनुमति दिएपछि कम्पनीले २० प्रतिशत सर्वसाधरण शेयर जारी गरेको थियो।

कम्पनीले जारी गरेको शेयरमार्फत अध्यक्ष गोयलले आफ्नो सम्पत्ति १८.९ अर्ब भारु पुर्‍याएपछि कागजी अर्बपतिमा दर्ता भए।कम्पनीले क्षमता विस्तार गर्ने क्रममा दक्षिण अफ्रिकी वायुसेवा कम्पनीबाट लिजमा दिइएको दुईवटा एयरबस ३४०-३००एस मार्फत लण्डन उडान गरेको थियो। 

थाई एयरको संकटपूर्ण समय

निजी मात्र नभइ यतिखेर थाइल्याण्डको ध्वजावाहक वायुसेवा कम्पनी थाइ एयरवेज पनि गम्भीर संकटमा परेको छ।

केही समयअघि कम्पनीका अध्यक्ष सेमेथ दम्रोङ चैथमले नै यसको खुलासा गरेका हुन्। उनले कम्पनी संकटमा परेको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह समेत गरे। अध्यक्ष सेमेथले आगामी दिन एयरलाईन्सकालागि निकै चुनौतीपूर्ण हुने बताएका छन्।

उनले कर्मचारीहरुलाई 'आउन लागेको चुनौतीको सामना गर्नका लागि आज म तपाईँहरु समक्ष ऐक्यवद्ध हुन अनुरोध गर्दछु। नत्र यो ध्वजावाहक वायुसेवा कम्पनी अनिवार्य बन्द गर्नुपर्ने हुन्छ। समस्या समाधानका लागि हामीसँग थोरै समय मात्र बाँकी छ।' भनेका थिए।

हाल उडान गर्दै आएका विभिन्न रुटमा बढ्दै गएको प्रतिस्पर्धाका कारण कम्पनीको बजार हिस्सा घट्दै गएको उनले बताएका छन्।उत्तरी रुटलाई उदृत गर्दै आम्दानीको हिसाबले तेस्रो स्थानमा रहेको कम्पनीको बजार हिस्सा कम खर्चिलो वायुसेवा कम्पनीका कारण खस्किएको उनले बताए।

'यो वर्ष वायुसेवा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ। कम्पनी साँच्चै संकटमा परेको छ। अर्को वर्ष कम्पनीले आफ्नो राम्रो प्रस्तुति दिनै पर्छ। यदि कर्मचारीले सावधानी नअपनाइ केही गर्न चाहेनन् भने कम्पनी पुनः संचालन गर्नका लागि समय नै पुग्दैन। अहिले समय निकै कम छ। सान्त्वना लिन सकिने ठाउँ नै छैन। – उनले भने 'यदि कम्पनी डुब्यो भने हामी सबैको अवस्था जटिल हुनेछ।'

कम्पनीले व्यवस्थापनमा रहेका कर्मचारीको तलब कटौती गरेर खर्च न्युनीकरण गर्ने योजना रहेको जनाएको छ। कम्पनीका अनुसार क्याट्रिङ विभागमा जिरो इन्भेन्टरी पोलिसी पालना गर्ने जनाएको छ। 'अब कर्मचारीलाई पुरस्कृत गरिने छैन। किनभने अब हाम्रो लागि प्रथम पुरस्कार भनेकै कम्पनीको अस्तित्व बचाउनु हो।' उनले भने।

सन् २०१९ को अर्धवार्षिक अवधीमा कम्पनी ६.४४ अर्ब भाट घाटामा रहेको देखिएको छ। हालसम्मको संचित नोक्सानी दुई सय ८० अर्ब भाट अर्थात १० खर्ब ५० अर्ब रुपैयाँ बराबर पुगिसकेको कम्पनीले देखाएको छ। हाल कम्पनीमा २० हजार रोजगार छन्।

सन् १९८८ मा स्थापना भएको थाइ एयरवेज पब्लिक कोअपरेटिभ लिमीटेड यातायात मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय ध्वजावाहक कम्पनी हो। सन् १९९१मा कम्पनीले अर्थ मन्त्रालय 'द सेक्युरिटी एक्सचेन्ज अफ थाइल्याण्ड' मा दर्ता भएको कम्पनी मा सरकारको ५० प्रतिशत हिस्सा रहेको छ।

कम्पनीसँग भएको एयरबस र बोइङ अन्तर्गत विभीन्न सिरीजका १ सय जहाजमार्फत ३७ वटा देशहरुको ७२ वटा गन्तब्यमा उडान गर्दै आएको छ। कम्पनीले प्रति उडानमा ३० हजार ५५ यात्रुलाई सेवा दिने क्षमता राख्छ।

कम्पनीले नेपालमा समेत साताको सातवटा नियमित उडान गर्दै आएको छ।कुनै समय बैंककदेखि लस एन्जल्स र न्युयोर्क सिटीमा ननस्टप उडान गर्ने एकमात्र वायुसेवा कम्पनीको रुपमा चिनिएको थियो। तर हवाई इन्धनको मूल्य वृद्धिका कारण सन् २०१२ देखि कम्पनीले युएसमा ननस्टप फ्लाइट रोकेको थियो।

सन् २०१३ मा कम्पनीले बैंकक-लसएन्जल्स उडान सिओलको इन्चुआन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गरेको थियो। पछि सन् २०१५ मा कम्पनीले युएसतर्फको सेवा नै रोक लगायो। कम्पनीले सेवा दिँदै आएको रुटमा युरोप इस्ट एसिया, र साउथ वेस्ट एसिया लगायत क्षेत्रका वायुसेवा कम्पनीको हावी भएपछि बजार हिस्सा खस्किन थाल्यो।

लण्डनको हिथ्रो विमानस्थलमा सेवा दिने पहिलो एसिया प्यासिफीक वायुसेवा कम्पनीको रुपमा चिनीएको थाइ एयरवेज युरोपमा धेरै यात्रुलाई सेवा दिँदै आएको थियो। थाइ एयरवेजको नोक्सान र गिर्दो अवस्था सार्वजनिक भएपछि शेयर बजारमा कम्पनीको भाउ घटेको छ।

गत जनवरीदेखि लगातार घटेको शेयरको भाउ हालसम्म ३० प्रतिशत घटिसकेको छ। मंगलबारमात्रै कम्पनीको शेयरको भाउ ४.५५ प्रतिशत गिरावट देखिएको थियो।

यसै महिना थाइल्याण्डका यातायात सहायक मन्त्री थावर्न सेन्निमले एयरलाइन्स क्राइसिसममा रहेको र यसको बित्तीय अववस्था नाजुक हालतमा पुगको बताएका थिए।सन् २०१९ मा मात्र एयरलाईन्सले १० अर्ब भाटको अनुमानित नोक्सानी व्यहोरेको बताइन्छ। सन् २०२२ सम्ममा आफ्नो घाटा तथा ऋणहरु चुक्ता गरिसक्ने कम्पनीले लक्ष्य लिएको सिइओ सुमेथले बताएका छन्।

कम्पनीमा थाइ सरकारको ५० प्रतिशत शेयर रहेकाले पनि एयरलाइन्सको अवस्था सुधारमा सरकारले कस्तो किसिमको पहल गर्छ भन्ने अहिलेको अवस्थामा महत्वपूर्ण देखिएको छ।विश्वभर आन्तरिक र अन्तर्राष्ट्रिय लगायत साना ठूला गरी करिब ५५ सय वायुसेवा कम्पनी संचालनमा रहेका छन्।