आइएफसीका उच्च पदाधिकारीसँगको भेटमा अर्थमन्त्रीले भने-‘कृषि र शहरी पूर्वाधारमा लगानी गर्नुस्’

बिजमाण्डू
२०७६ कात्तिक ४ गते १९:५८ | Oct 21, 2019
आइएफसीका उच्च पदाधिकारीसँगको भेटमा अर्थमन्त्रीले भने-‘कृषि र शहरी पूर्वाधारमा लगानी गर्नुस्’

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा.युवराज खतिवडा विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकको दोस्रो दिन वोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी भएका छन्।

उनले अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्ष लगायतका उच्च पदाधिकारीको भेटमा नेपालको अर्थतन्त्रको संभावनावारे चर्चा गर्दै अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, शहरी पुर्वाधार लगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गरे।

उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने जोड दिए।

खतिवडाले पूर्वाधार विकासको लागि मध्यम तथा दीर्घकालिन अवधिको वित्त परिचालन गर्न ध्यानाकर्षण गराए। उनले बैंकको ट्रेजरी हेर्ने उपाध्यक्ष लगायतको उच्च पदाधिकारीसँगको भेटमा नेपालको पूँजी वजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको बताउँदै वचत र लगानी वीचको ठुलो अन्तर घटाउन विदेशी पूँजी परिचालन जरुरी भएको बताए।