शेयर बजार घटेको घट्यै, लगानीकर्तामा चरम निराशा, कारोबार रकम पनि न्यून

बिजमाण्डू
२०७६ कात्तिक ४ गते १५:४२ | Oct 21, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। लगानीकर्ताको मनोबल खस्किएका कारण पछिल्लो समय शेयर बजार प्रति लगानीकर्ताको चरम निराशा देखिन थालेको छ। दैनिक सूचकमा गिरावटसँगै कारोबार रकम समेत खस्कँदो क्रममा देखिएको छ।

सोमबार शेयर बजार १.३३ अङ्कले घटेर ११३२.४० अंकमा ओर्लिएको छ। साताको पहिलो दिनबाटै निराश पारेको बजारले सोमबार समेत निरन्तरता पाएको हो। आइतबार शेयर कारोबार मापक सूचक चार अङ्कले घटेको थियो भने कारोबार रकम ११ करोडमा खुम्चिएको थियो।

सोमबार कारोबार रकम केही सुधार देखिएको भएपनि यो रकम अन्य दिनहरूको तुलनामा अत्यन्तै न्यून हो। पछिल्लो समय ५० करोड रुपैयाँको कारोबारलाई औसत कारोबारको रूपमा लिने गरिन्छ।

चालु आर्थिक वर्षदेखि शेयर बजार बिथोलिएको हो। लगानीकर्ताको बिथोलिएको मनोबल नबढेकै कारण बजार उल्लेख्य रुपमा बढ्न नसकेको हो। सोमबार १४५ कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। ६ लाख कित्ता शेयर १६ करोड रुपैयाँ बराबरमा कारोबार भएको हो। सबैभन्दा बढी शेयर कारोबार प्रभु बैकको भएको छ।

यो बैंकको एक करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कारोबार रकमकै आधारमा नेपाल बैक दोस्रो भएको छ। यो बैंकको ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। ७० लाख रुपैयाँको कारोबार गर्दै मेगा बैक तेस्रो भएको छ।

सोमबार लगानीकर्ताको आकर्षण होटेल, निर्जिवन बिमा, अन्य, लघुबित्त र सामूहिक लगानी कोषमा छ। उनीहरूको कारोबार मापन गर्ने उपसूचक बढेका छन्। बाँकी रहेका सबै उप सूचक घटेका छन्। सोमबार ११ समूहको शेयर कारोबार भएको थियो।