नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ, ६० हजार रुपैयाँभन्दा बढिका नोट बजारमा

बिजमाण्डू
२०७६ कात्तिक ४ गते ११:२३ | Oct 21, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत बौद्धको टोलीले नयाँबस्तीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको डिएसपी रमेश सिंहले जानकारी दिए।

उनीहरुले फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना बनाएको खुलेको छ। उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ।

'उनीहरुले नक्कली नोट बनाउँदै बजारमा पुर्‍याउने गरेको देखियो। थप अनुसन्धान भइरहेको छ' डिएसपी सिंहले भने।

प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्‍याइसकेको बताएका छन्। प्रहरीले नोटको कारोबार गर्दा सतर्क हुन पनि सबैलाई आग्रह गरेको छ।