बालुवा गिट्टीमा ग्राहक ठग्न ट्रकमै ढलान र फलामे फ्रेम राख्छन् व्यवसायी, यसरी परे प्रहरी फन्दामा

सविन ढकाल/बिजमाण्डू
२०७६ कात्तिक १ गते १६:४६ | Oct 18, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले बालुवा, गिटीलगायत निर्माण सामाग्रीमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ।

टोलीले शुक्रवार बिहान काठमाडौंका विभिन्न स्थानमा रहका निर्माण सामाग्री ढुवानी डिपोहरुमा अपरेशन सञ्चालन गरेको थियो। २३ वटा डिपोमा छापा मार्दा २३ वटाले नै उपभोक्तालाई ठगी गर्ने गरेको भेटिएको प्रहरीले जानकरी  दिएको छ।

डिपो सञ्चालकहरुले निर्माण सामग्री ढुवानी गर्ने ट्रकहरुमा ढलान गरेर वा फलामको फ्रेम बनाएर उपभोक्ता ठगी गर्ने गरेको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए। ट्रकमा सय क्युबिक फिट सामग्री हुनुपर्नेमा ८३ फिट मात्र बनाइ बालुवा, गिटीलगायत सामानमा ठगी गर्ने गरेको पाइएको हो।

त्यस्तोमा उपभोक्तालाई एक हजार ६ सय देखि दुई हजार २ सय सम्म रकम बढी पर्न जाने महाशाखाका एसएसपी थापाले बताए। 'उपभोक्तालाई ठग्ने मनासयले नै ट्रकमा कम सामाग्री जाने गरि फ्रेम र ढलान गरेको भेटियो,' एसएसपी थापाले भने।

प्रहरीले जेबीसी डिपो सञ्चालन गर्दै आएका गुन्डा नाइके सन्देश तामाङ (बाघे) पनि पक्राउ परेका हुन्। तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो। तामाङ दीपक मनाङे गुटमा रहेर गुन्डागर्दीमा सक्रिय रहँदै आएका थिए। गुन्डा नाइके तामाङ यसअघि पनि विभिन्न अभियोगमा ८ पटक भन्दाबढी पक्राउ परिसकेका छन्।

प्रहरीले विभिन्न डिपोबाट ३५ वटा सामान ढुवानी गर्ने ट्रक समेत नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका ट्रकमा एक फिटसम्म ढलान तथा फ्रेम बनाएको भेटिएको छ।  डिपो संचालकलाई नियन्त्रणमा लिएर ठगी अभियोगमा मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ।