सिन्डिकेट खारेजीको सारथी मयूर यातायातमा किचलो, लगानीकर्ता विवादले धमाधम बस बेच्दै

बिजमाण्डू
२०७६ कात्तिक १ गते १६:१५ | Oct 18, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं । सिन्डिकेट खारेज गर्न सरकारलाई सहयोग गरेर लोकप्रिय बनेको मयूर यातायात आफ्ना बसहरु बेच्न थालेको छ।

कम्पनी निरन्तर घाटामा गएका कारण लगानीकर्ताहरुवीच विवाद सुरु भएपछि बसहरु बेच्न लागिएको हो।

कम्पनीका एक व्यवसायीले बस बेचेर विवाद निकाल्ने लगानीकर्ताहरुको शेयर रकम फिर्ता गर्न लागिएको जानकारी दिए। उनका अनुसार व्यवस्थापनको कमजोरीका कारण कम्पनी घाटामा गएको भन्दै व्यवसायीहरुले विवाद निकालेका छन्।

१ बर्षदेखि संचालनमा रहेका पुराना गाडीहरु नै बेच्न लागिएको हो। ती व्यवसायीका अनुसार करिव १० वटा गाडी बेच्न लागिएको छ। कम्पनीले आफ्नो फेसबुक पेजमा समेत गाडी विक्रीका लागि सूचना राखेको छ।

मयुर यातायात प्रालीका अध्यक्ष मोहन श्रेष्ठले बसहरु बेच्न लागिएको पुष्टि गरेका छन्। उनका अनुसार केहि बस बेचेर साना लगानीकर्ताहरुको शेयर फिर्ता गर्न लागिएको हो।

कम्पनीका अधिकारीहरु अझै नयाँ बस थप्ने, विद्युती, पर्यटकीय बस ल्याउने योजना भने यथावतै रहेको बताउँछन्।  नयाँ बस खरिद गर्ने प्रक्रिया अघि बढाएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए।

अहिले कम्पनीसंग करिव ४० हाराहारीमा बस छन् जुन चक्रपथ परिक्रमा  गरेर बनेपासम्म पुग्छन्।

सिन्डिकेट खारेजीपछि चर्चित बनेको कम्पनी

काठमाडौंमा भाडाका सवारीसाधन थप्न चाहनेहरुका लागि केही सहज भएपनि उपत्यका बाहिर त्यो अवस्था थिएन। संघ समितिको सिन्डिकेट ब्याप्त भएकाले समिति र संघसंस्थालाई लाखौ रुपैयाँ बुझाएपछि मात्रै भाडाका सवारीसाधन संचालन गर्न पाईन्थ्यो।

सरकारले उपत्यका बाहिर पहिलोपटक मयुर यातायातलाई रुट इजाजत दिएर सार्वजनिक  यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गर्यो।

मयुरले इजाजत पाएको केहि दिनपछि २०७४ चैत१८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६३ संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गर्यो। कम्पनीमा दर्ता भएर विभागबाट सेवा पंजीकृत गराए सहजै सार्वजनिक सवारीसाधन संचालन गर्न सकिने भयो।

मयुर यातायातलाई कोटेश्वर पुर्वको रुट दिएको विरोधमा त्यहा संघ / समितिका व्यवसायीहरुले चक्का जाम सुरु गरे। व्यवसायीलाई नसोधी निर्देशिका ल्याएको भन्दै देशैभर चक्का जाम गर्ने संघ समितिका व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निर्णय गर्यो। विभागले सिन्डिकेट खारेजीलाई कार्यान्वयन गर्ने भन्दै प्रक्रिया पुरा गर्ने कम्पनीलाई एकै दिनमा रुट ईजाजत दिन थाल्यो।

संघ समितिका व्यवसायीले घर ग्यारेजमै गाडी राखेर पनि मयुर यातायातलाई भएका सबै गाडी तीन सिफ्ट गरेरै भएपनि विहान ४ बजेदेखि राती अबेर १०/११ बजेसम्म निरन्तर सेवा दियो। मयुर संगै सिन्डिकेट खारेजीमा अरु साझा,सिटी मेट्रो,महानगर,गोकर्णेश्वर लगाएतका कम्पनीले पनि उत्तिकै योगदान दिएका छन्। व्यवसायीले विरोध आन्दोलन गरेपनि सिन्डिकेट खारेज भएरै छाड्यो।

सिन्डिकेट खारेजीपछि यात्रु पाउदा मात्रै फाईदाका लागि सवारीसाधन संचालन गर्ने व्यवसायीहरुबाट हैरानी खेपेका यात्रुहरुले सहजता महसुस गर्न थाले जसका कारण यात्रु माझ छोटो समयमा मयुर लोकप्रिय बनेको थियो।

गैर आवसीय नेपालीको लगानी ल्याउने, हजारौ सवारीसाधन देशै भरि सवारीसाधन चलाउने, गाउ गाउसम्म सेवा पुर्याउने, पर्यटकीय गन्तव्यलाई लक्षित गर्दै पर्यटकीय बस संचालन गर्ने,विद्युतीय बस संचालन गर्ने, काठमाडौं एसि बस संचालन गर्ने एक बर्षमा हजार बस पुर्याउने भन्दै कम्पनीले प्रचार गर्न थालेपछि यो कम्पनी चर्चित बन्यो। मयूर सिन्डिकेट खारेजीपछि एउटा लोकप्रिय ब्राण्ड नै बन्न  पुग्यो।


कम्पनी कसरी डुब्ने खतरामा पुग्यो ?
मयूर यातायातले सुरुमा आक्रमक व्यवसाय गरेको थियो। तर व्यवस्थापनमा कमजोरी हुँदै गएकोले बस समेत बेच्नुपर्ने अवस्थामा पुगेको एक लगानीकर्ताले आरोप लगाए। व्यवसायीहरुले उठेको पैसा मन लाग्दी चलाउन थालेपछि कम्पनी घाटामा पुगेको उनको भनाई छ।

ती व्यवसायीका अनुसार बसहरुको ऋण नियमित तिर्न नसकेपछि केहि समय अघि बैंकले झण्डै बसहरु जफत गरेको थियो। व्यवस्थापन फेरेपछि ऋण भने तिर्न सुरु भैसकेको पनि उनले बताए। ।

अध्यक्ष श्रेष्ठले आन्तरिक कारणले केहि समस्या देखिएको भएपनि हल गरेर कम्पनीलाई अघि बढाउने बताएका छन्।