गैरआवासीय नेपालीको चुनावी हिसाबकिताव: सय जनालाई भेट्न नचाहँदा जितेको चुनाव आचार्यले हारे

बिजमाण्डू
२०७६ कात्तिक १ गते १३:३२ | Oct 18, 2019
गैरआवासीय नेपालीको चुनावी हिसाबकिताव: सय जनालाई भेट्न नचाहँदा जितेको चुनाव आचार्यले हारे

Tata
GBIME
Nepal Life

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाबको पूर्व सन्ध्यामा अध्यक्षका प्रत्यासी कुल आचार्यलाई मध्यपूर्व (खाडी, मलेसिया) का प्रतिनिधीले गोप्य भेटका लागि प्रस्ताव गरे। 

मतदानको केही समयअघि आएको प्रस्तावप्रति आचार्यले आफ्नो प्यानलमा रहेका पदाधिकारीहरुलाई हायात होटलमा आफू बसेको कोठामा बोलाए। 

उनले आफ्ना प्यानलमा रहेका पदाधिकारीका उम्मेदवारलाई भने 'मध्यपूर्वका केही साथीहरुले मलाई भेट्न बोलाउनुभएको छ। उहाँहरुसँग भेट्नु पर्ने छ। चुनावका लागि मसँग भएको पैसा पनि सकिसकेको छ।' 

आर्थिक सहयोगका लागि आचार्यबाट आएको आग्रहलाई आफ्नै प्यानलमा रहेका गैरआवासीय नेपालीहरुले अस्विकार गरे। निर्वाचन खर्चले टकटकिएका आचार्यले मध्यपूर्वका केही गैरआवासीय नेपालीको प्रस्ताव अनुसार भेट्न गएनन्। 

यही भेट अस्विकार गर्दा आचार्यले चुनाव हार्नु पर्यो। 

आचार्यले १०७० मत ल्याउँदा पन्तले १२१७ मत ल्याएका छन्। यो भनेको १४७ मत अन्तर हो।

स्रोतका अनुसार त्यसरी भेला भएर आचार्यलाई बोलाउने सय जनाको हाराहारीमा थिए। १४७ मत अन्तरले हारेका आचार्यले १०० मतलाई आफ्नोतिर पारेको भए उनी करिव ७५ मतले बिजय हुने थिए।

आचार्य भेट्न नआएपछि त्यो समूहले कुमार पन्तलाई भेट्यो। र, उनीहरुले पन्तलाई भोट हालेको फोटो समेत खिचेर ल्याए। फोटो सामाजिक संजालमा पोष्ट समेत गरिएको छ। 

विहिबार मतदान सकिएपछि आचार्य मध्यपूर्वको भेलामा नगएकै कारण चुनाब हार्ने चर्चा हायात होटल परिसरमा भइसकेको थियो। 

मलेसियाबाट प्रतिनिधित्व गर्ने एक मतदाताले आचार्यले मध्यपूर्वका गैरआवासीय नेपालीलाई 'ह्युमिलेट' गरेका कारण पन्तलाई भोट हालेको बताएका थिए। 

'हामीले भेट्नका लागि गरेको प्रस्तावलाई पैसासँग जोखेर हेर्ने काम भयो। हामी खान नपाएका थिएनौं। हामीले विभिन्न समस्यामा परेका नेपालीलाई 'ब्लड मनी' उठाउन सहयोगका लागि प्रतिवद्धता खोजेका थियौं। तर उहाँ भेट्नै आउन चाहनुभएन्,' ती प्रतिनिधीले बिजमाण्डूसँग भने, 'त्यसैले ९० जनाले एकछापे पन्तलाई भोट हालेर फोटो पनि खिचेका हौं। केही भोट मात्रै आचार्यलाई गयो होला।' 

आचार्य मंगलबारदेखि पैसाकै कारण चुनाब जित्न नसकिने निष्कर्षमा पुगेका थिए। उनले निर्वाचनका लागि भनेर छुट्याएको पैसा सदस्यता नवीकरण, प्रतिनिधिहरुलाई होटल र खानपानमा सकिइसकेको थियो। 

निर्वाचनको 'इलेभेन्थ आवर' मा उनीसँग आवश्यक पैसानै भएन। त्यसो त आचार्य हार्नुमा पैसा मात्रै कारण थिएन। उनलाई चुनाबमा सघाउने 'विग फिगर' पनि भएनन्। 

चुनाबको राजनीतिदेखि आर्थिक व्यवस्थापन आचार्य आफैले गर्नुपर्यो। यी सबै व्यवस्थापनका कारण उनी निर्वाचनको रणनीति बनाउन चुके। पन्तका अगाडि/पछाडि संघकै पूर्व अध्यक्ष जीबा लामिछाने थिए। 

राजनीतिक तहसम्म पहुँच भएका लामिछानेले पन्तलाई जिताउन सबैभन्दा महत्वपूर्ण भूमिका खेले। लामिछानेलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेनै बोलाएर आचार्यलाई जिताउन दबाब दिएका थिए। तर उनले अध्यक्ष वाहेकमा मात्रै सहयोग गर्न सक्ने भन्दै दबाबलाई ठाडै अस्विकार गरिदिएका थिए। 

अर्कोतर्फ वाहिर पन्त नेकपा समूह र आचार्य नेपाली कांग्रेस समूह भनिएपनि पूर्ण सहयोग भने आचार्यले पाउन सकेनन। स्रोतका अनुसार देउवालाई आचार्यले समर्थन गरेपनि विदेशमा रहेका नेपालीसँग राम्रै 'होल्ड' भएका युवा नेता गगन थापाले भने पन्तलाई सहयोग गरे। 

आचार्य निकट एक गैरआवासीय नेपालीका अनुसार नेपाली कांग्रेसले आचार्यको पक्षमा चाँडो निर्णय गरिदिएन भने कांग्रेसबाटै समेत अन्तर्घात भयो।

तर नेता थापाले भने आफूले आचार्यलाई जिताउनका लागि दिनरात नभनी लागिपरेको बताए। उनले भने, 'आचार्यलाई जिताउन म दिनरात नभनी खटेँ, पार्टीका तर्फबाट गर्नुपर्ने सबै काम मैले गरेँ। तर बाहिर गलत हल्ला आयो, जुन गलत हो।'यस्तै आचार्यले अपेक्षा गरेको अमेरिकाबाट पनि राम्रो मत आएन। 

स्रोतका अनुसार उनकै प्यानलमा रहेर अमेरिकाबाट उठेका व्यक्तिले धेरै मत पाए तर त्यहीँबाट उनले राम्रो मत पाएनन्। 'प्यानलमै रहेकाले समेत आचार्यलाई धोकाधढी गरेको पाइएको छ। बलियो भनिएका ठाउँबाट समेत राम्रो मत आएन' स्रोतले भन्यो।