राष्ट्रपतिको म्यानमार भ्रमणमा एनएसीको न्यारोबडी चार्टर, २४ यात्रु बोक्न १५८ सिटे जहाज!

बिजमाण्डू
२०७६ असोज ३० गते १६:३४ | Oct 17, 2019

(फोटो: रासस)

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज 'लुम्विनी' चार्टर गरिएको छ।
राष्ट्रपति भण्डारी सहित २४ जना यात्रु रहेको यो चार्टर उडान बैंककदेखि म्यानमारकालागि गरिएको निगमले जनाएको छ। चार्टरपछि म्यानमार पुगेको यो जहाज हिजै काठमाडौं फर्किसकेको निगम स्रोतले जानकारी दिएको छ।

काठमाडौंदेखि बैंककसम्म भने यही जहाज मार्फत राष्ट्रपति सहितको टोली सेड्युल्ड फ्लाइटमै यात्रा गरेको निगम स्रोतले जनाएको छ।  

निगमका अनुसार चार्टर उडानको दर जहाजको प्रकार र प्रति घण्टाको हिसाबले निर्धारण गरिँदै आएको छ। यसकालागि प्रति घण्टा एघार हजार पाँच सय डलर (करिब १४ लाख रुपैयाँ) खर्च लाग्छ।

निगमका अनुसार बैंकक-म्यानमार उडान समय करिब सवा घण्टा(एक घण्टा १३ मिनेट)को रह्यो।  निगमले दिएको भाडादर अनुसार एक तर्फी चार्टर उडान गर्दा करिब १६ लाख रुपैयाँ शूल्क लाग्ने देखिन्छ भने दुई तर्फी चार्टर उडान गर्दा करिब ३२ लाख रुपैयाँ शूल्क लाग्छ।    

भण्डारीले आउँदो बुधबार यही जहाजमार्फत म्यानमारदेखि बैंककसम्मको चार्टर उडान गर्नेछिन्। यसैगरी बैंककदेखि काठमाडौं भने नियमित उडानमा आउने योजना रहेको निगम स्रोतले जानकारी दिएको छ।   

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा छिन्। भण्डारी बुधवार म्यानमारको राजधानी नेपिता पुगेकी थिइन्।
 
म्यानमारमा रहँदा राष्ट्रपतिले म्यानमारमा रहेका नेपाली मूलका नागरिकहरुसँग समेत भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत बगानको अवलोकन गर्नुका साथै याङगनमा रहेका सांस्कृतिक र ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्नेछिन्।

म्यानमानर भ्रमणपछि राष्ट्रपति भण्डारी जापान भ्रमणमा निस्कने योजना रहेको छ।