बिओकेलाई फोर्स मर्जरमा नजान शेयरधनीको चेतावनी, सोधे ‘मेलम्चीमा डेढ अर्ब कसरी डुब्यो?’

बिजमाण्डू
२०७६ असोज ३० गते १५:१३ | Oct 17, 2019


काठमाडौं। बैंक अफ काठमाण्डूको २५ औं वार्षिक साधारणसभामा शेयरधनीहरुले नेपाल राष्ट्र बैंकले फोर्स मर्जर लगानीकर्ताको हितमा नहुने प्रतिक्रिया दिएका छन्।शेयरधनीहरुले मर्जरको तरवार देखाएर बाध्यात्मक अवस्था सिर्जना गर्न नहुने बताएका थिए।

Tata
GBIME
Nepal Life

मर्जरमा गएपछि बैंकहरुले लाभांश दिन नसक्ने अवस्था आउने हुनाले बाध्यात्मक अस्थामा मर्ज गर्न नहुने अधिकांशको राय थियो। पूँजी बृद्धि योजनाले यस अगाडि पनि शेयर बजारलाई डामाडोल पारेको भन्दै उनीहरुले फोर्स मर्जरको विरुद्धमा उत्रिने समेत चेतावनी दिए।  

लगानीकर्ताको प्रतिक्रियापछि बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले फोर्स मर्जरको विषय पेचिलो भएको बताए। नेपाल राष्ट्र बैंकको हरेक निर्देशन कार्यान्वयन गर्नु पर्ने भन्दै पन्तले भने ‘नेपाल राष्ट्र बैंकले फोर्स मर्जरमा जाउ भन्यो भने हामी तयार छौ।’ तर मर्जरपछि कर्मचारी व्यवस्थापन एकदमै जटिल छ।

'मर्जरपछि लाभांश नघट्ने गरि संस्था छान्नु पर्ने हुन्छ। कतिपय बैंकहरुले डिडिए गर्नु अगाडि निष्कृय कर्जाको विवरण खोल्दैनन्। जव बैंक मर्ज हुन्छ त्यस पछि खराव कर्जा डिस्क्लोज हुने र त्यसले असर पर्ने अवस्था रहेको पाइन्छ।'- उनले यो विषय मर्जरको लागि थप पेचिलो रहेको पनि बताए।

लगानीकर्ताहरुले बैंक अफ काठमाण्डूको मर्जरको विषयलाई लिएर बैंकले कहिले विहे गर्छ भन्दै प्रश्न गरेका थिए। शेयरधनीहरुको प्रश्नको जवाफ दिदै पन्तले भने ‘हामीले पहिलो विहे लुम्बिनी बैंकसँग गरिसक्यौ। सायद दोस्रो विहेको लागि कानुनले दिँदैन होला।’ उनले ठट्यौली पारामा जवाफ दिए।

'यदि नियामक निकाय नेपाल राष्ट्र बैंकले दोस्रो विहे पनि गर भन्यो भने हामी सकारात्मक छौ।'-उनले भने।

बिहीबार सम्पन्न २५ औ वार्षिक साधारणसभाको अवसरमा अधिकांश शेयरधनीहरुले खोलाको जग्गा धितो राखेर ५ करोड कर्जा प्रवाह हुँदा अजय श्रेष्ठ समातिएको विषयलाई लिएर प्रश्न गरेका थिए।

शेयरधनीहरुको जवाफ फर्काउने क्रममा पन्तले श्रेष्ठ निर्दोष हुँदाहुँदै पनि प्रचलित कानुनले गर्दा जेल पर्नु परेको बताए।

बैंकका संञ्चालक र व्यवस्थापनले असल नियले काम गर्दा पनि केहि कानुनको कारण जेल जानु पर्ने अवस्थाले बैंकिङ क्षेत्र सशंकित भएको बताए। उनले भने ‘कानुनले जुन बाटो लियो त्यस विषयमा मैले बोल्न मिल्दैन तर निर्दोष कर्मचारी पुलिसको कठघरामा बस्नु पर्ने अवस्था आयो।’

त्यस्तै मेलम्चीको पैसा जमानी बस्ने क्रममा बैंकको डेढ अर्ब रुपैयाँ डुबेको विषयलाई लिएर शेयरधनीहरुले सञ्चालकहरुलाई प्रश्न गरेका थिए। चीनको अदालतले चाइना कन्ट्रक्सन बैंकलाई उक्त उक्त पैसा दिन निर्णय गरिसकेको हुँदा यसै वर्षमा पैसा आउन सक्ने पन्तले जानकारी दिए। यदि यो पैसा आएमा आगामी वर्ष बैंकले २५ प्रतिशत लाभांश प्रदान गर्न सक्ने बैंकका सञ्चालकहरुले प्रतिक्रिया दिए।

बैंकको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर पारित गरेको छ। उक्त लाभांश लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातामै आउने छ।