दुई वटा फ्लाइओभरसहितको देशकै पहिलो नौविसे-नागढुङगा सुरुङमार्ग सोमबार शिलान्यास गरिँदै

बिजमाण्डू
२०७६ असोज ३० गते १३:१८ | Oct 17, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास आउँदो सोमबार हुने भएको छ। प्रधानमन्त्री केपि शर्मा ओलीले आगामी ४२ महिनामा तयार हुने लक्ष्यसहित सुरुङमार्ग शिलान्यास गर्न लागेका हुन्। 

पहिलो पटक नौविसे-नागढुङगा सडक खण्डमा दुईवटा फ्लाई ओभर सहितको सुरुङमार्ग निर्माण गर्न लागिएको हो। 

गत महिना सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र जापानीज कम्पनी हाज्मा/आन्दो कर्पोरेशनवीच निर्माण सम्झौता भएको थियो। सम्झौता बमोजिम ४२ महिनामा जापानीज कम्पनीले सुरुङमार्ग तयार पारेर नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ।

शिलान्यास सोमबार भए पनि निर्माणको काम तिहारपछि मात्रै सुरु हुने छ। सुरुङमार्गमा कामदारभन्दा पनि उच्चतम प्रविधिका उपकरणहरु प्रयोग गरेर निर्माण गरिने निर्माण कम्पनीका प्रतिनिधीहरुले बताएका छन्। 'मेसिन बेस' भएर यो सुरुङमार्ग निर्माण हुनेछ।

सुरुङमार्गसँगै समानान्तर हुने गरि स्केप्ट टनेल निर्माण हुनेछ। जुन प्रत्येक २ सय ५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्र बाहिर गर्न मिल्ने गरि जोडिनेछ। भित्र दुर्घटना भए वा समस्या आए बाहिर निस्कनका लागि प्रयोग हुनेछ। एम्वुलेन्स समेत सहजै हिड्न सक्ने गरि स्केप्ट टनेल निर्माण हुनेछ।

सुरुङमार्ग थानकोटस्थित नेपाल आयल निगमको डिपो नजिकैकको किसिपढी खोल्सीदेखि सिस्नेखोलामा निर्माण हुने छ। यसको लम्बाइ २.७ किमीको हुनेछ। पश्चिमतर्फ ५ सय ६५ मिटरको एप्रोच लिङ्क  निर्माण हुनेछ भने पुर्व तर्फ २ हजार ३ सय ७ मिटरको लिङ्क सडक निर्माण हुनेछ।

सतुङगलबाट सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्नका लागि दुईवटा फ्लाई ओभर निर्माण हुनेछ। सातवटा साना पुल र ११ वटा बक्स कल्भर्ट निर्माण हुने छ।