‘ग्लोबल हंगर इन्डेक्स’: भारत नेपालभन्दा पछि, नेपाल ७३ औं स्थानमा, भारत १०२ औं स्थानमा

बिजमाण्डू
२०७६ असोज २९ गते १७:५३ | Oct 16, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। यसपटक ११७ देश समेटिएको ग्लोबल हंगर इन्डेक्स (जिएचआई) मा भारत नेपालभन्दा पछाडि परेको छ। ग्लोबल हंगर इन्डेक्समा रहेका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ भने भारत १०२ औं स्थानमा छ।

ग्लोबल हंगर इन्डेक्समा तल पर्नुको अर्थ हुन्छ– तल परेका देशका बासिन्दाले पेटभरि खान पाउँदैनन्। यतिमात्र होइन यसले बाल मृत्युदर धेरै रहेको, बालबालिकाको उचाइअनुसार वजन (बडी मास इन्डेक्स) नरहेको र बालबालिका कुपोषित रहेको समेत जनाउँछ।

यी सबै मामिलामा भारतको स्थिति दक्षिण एशियाली राष्ट्रहरुमा श्रीलंका नेपाल, बंगलादेश र पाकिस्तानभन्दा पनि खराब रहेको उक्त इन्डेक्सले देखाएको छ। इन्डेक्सको सूचीमा श्रीलंका ६६ औं स्थानमा, बंगलादेश ८८ औं स्थानमा र पाकिस्तान ९४ औं स्थानमा रहेको छ। दक्षिण एशियाली राष्ट्रमा भारतभन्दा पछाडि अफगानिस्तान मात्र रहेको छ। अफगानिस्तान इन्डेक्सको १०८ औं स्थानमा रहेको छ। माल्दिभ्स इन्डेक्समा समेटिएको छैन भने भुटानबारे तथ्यांक नपाएको कुरा इन्डेक्समा उल्लेख गरिएको छ।

भारत एशियाको तेश्रो ठूलो अर्थतन्त्र भएको देश हो र दक्षिण एशियाको त सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो। तर पनि भारत एशियाको मात्र नभएर दक्षिण एशियाली राष्ट्रमध्ये पनि पुछारमा छ। अर्थात् भारतीयहरुले पेटभरि खान पाउँदैनन्, बाल मृत्युदर दक्षिण एशियाली राष्ट्रमध्ये धेरै छ र भारतीय बालबालिका समेत कुपोषित छन्।

अर्को शब्दमा बाल मृत्युदर, पोषण र पेटभरि खान पाउने मामिलामा श्रीलंका, नेपाल, बंगलादेश र पाकिस्तानको स्थिति भारतको भन्दा राम्रो छ।हंगर इन्डेक्सले देखाएअनुसार पेटभरि खान पाउने, बाल मृत्युदर र पोषणको मामिलामा भारतको स्थिति निरन्तर खस्कँदै गएको छ। सन् २०१० मा भारत इन्डेक्सको ९५ औं स्थानमा थियो भने सन् २०१९ मा खस्केर १०२ औं स्थानमा झरेको छ। सन् २०१३ मा भारत इन्डेक्सको ८३ औं स्थानमा थियो।

यहाँसम्म कि रवान्डा र इथियोपियाजस्ता अनिकालग्रस्त देशसमेत इन्डेक्समा भारतभन्दा माथि छन्। बेलारुस, युक्रेन, टर्की, क्युबा र कुवेतलगायत १७ देश जिएचआई सूचीमा सबैभन्दा अब्बल रहेका छन्।