वीरगन्ज भन्सारको सफ्टवेयरमा समस्या आउँदा भारतीय गाडीलाई ‘इन्ट्री’ र ‘एक्जिट’ गर्न समस्या

बिजमाण्डू
२०७६ असोज २९ गते १६:३४ | Oct 16, 2019

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंज भन्सारको सफ्टवेयरमा आएको समस्याका कारण भारतबाट सामान लिएर नेपाल छिर्ने गाडीका चालक सास्ती भोग्न बाध्य भएका छन्।

वीरगंज भन्सारले प्रयोग गरेको 'आसिकुडा' सफ्टवेयरका कारण कोलकाताबाट टेलरमा कार लिएर आउँदा सास्ती भोग्नुपरेको भारतीय चालकहरुले गुनासो गरेका छन्।वीरगंज भन्सारको आइसिपीमा कार लिएर भारत फर्केका गाडीहरुको भन्सारको आसिकुडा सफ्टवेयरमा 'एक्जिट' (बाहिरिएको) गरेको देखिँदैन।

सोही नम्बरको गाडी दोस्रो पटक कार लिएर आइसिपी यार्डमा कार अनलोड गरी फर्किने क्रममा '१२ नम्बर कोड' देखापर्छ र सो कोड हटाउन आइसिपीको मूल्यांकन शाखा र नेपाल इन्टरमोडेल यातायातको कार्यालय धाउनुपर्ने समस्या रहेको चालकहरुको भनाइ छ।

दोस्रो पटक कार लिएर आउने अधिकांश गाडीहरुमा यस्तो समस्या देखा पर्न गएको एक चालकले बताए। दुई वटा कार्यालयमा दिनमा चार पटकसम्म ओहोरदोहर गर्नुपर्दा चालकहरुको करीब एक दिन बर्बाद हुने गरेको उनको भनाइ छ।

१२ नम्बर कोड लागेपछि गाडी 'एक्जिट' गराउन च्यानल लगाउने काम हुन सक्दैन। जबसम्म गाडीको नम्बर च्यानल लाग्दैन तबसम्म गाडी भारत फर्किन पाउँदैनन्।वीरगंज भन्सारका एक अधिकारीका अनुसार यस्तो १२ नम्बर कोड लागेका हजारभन्दा बढी भारतीय गाडीको सूची भन्सारको सफ्टवेयरमा थुप्रिएको छ।

यस विषयमा वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोले त्यस्तो समस्या भइरहेको स्वीकार्दै आगामी दिनमा समस्या न्यूनीकरणको लागि सफ्टवेयर अपडेट गरी वा नेपाल इन्टरमोडेललाई 'इन्ट्री' र 'एक्जिट'को व्यवस्थापन गर्न दिने सल्लाह भइरहेको प्रतिक्रिया दिए।