चीन जोड्ने मैलुङ-स्याफ्रुवेशी सडक निर्माण गर्न टेन्डर आह्वान, डबल लेनको हुने

बिजमाण्डू
२०७६ असोज २९ गते १२:५१ | Oct 16, 2019
चीन जोड्ने मैलुङ-स्याफ्रुवेशी सडक निर्माण गर्न टेन्डर आह्वान, डबल लेनको हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली सेनाले ट्रयाक खोलेको मैलुङ स्याफ्रुवेशी सडक 'एसियन स्ट्याण्डर्डको डेडिकेटेड डबल लेन' मा स्तरोन्नति हुने भएको छ। 

गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी सडक आयोजना नुवाकोटले सडक स्तरोन्नती गर्न बुधबार वोलपत्र आव्हान गरेको छ। गत बैशाखमा नेपाली सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरेको थियो। त्यसपछि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन( डिपिआर) र आयोजनाको पुर्व तयारी गरेर निर्माण सुरु गर्न वोलपत्र आव्हान गरेको हो। 

करिव १९ किलोमिटर लम्वाईको यो सडक डबल लेनमा विस्तार हुनेछ। जसको चौडाई ११ मिटर हुनेछ। साईटमा १ मिटर नाला समेत रहनेछ। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार अन्य सडकभन्दा फरक खालको हुनेछ। 

उनका अनुसार ११ मिटरमै ६० एमएमको कालोपत्रे हुनेछ। जुन एसियन मापदण्ड अनुसार हुनेछ भने सात मिटरमा डबल वेरिङ पोट हुनेछ। जसमा थप ४० एमएमको कालोपत्रे थपिन्छ। 

डेडिकेटेड डबल लेनमा वीचको ३.५/३.५ गरि ७ मिटरलाई क्यारिज वे मानिन्छ। जुन सवारीसाधन हिड्ने मुख्य लेन हो। ठूला कन्टेनर ट्रकहरु हिड्ने भएकाले डबल वेरिङ पोट राखिएको आयोजनाले जनाएको छ।

यो सडक विस्तारका लागि करिव २ अर्व ६० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। निर्माण थालेको ३० महिनामा आयोजना पुरा गर्नुपर्ने छ। निर्माण अवधिभन्दा छिटो सके बुक बोनसको समेत व्यवस्था गरिएको छ। 

आयोजना प्रमुख भण्डारीका अनुसार, टेण्डर मुल्याङकन, प्राविधिक आर्थिक प्रस्ताव अध्ययन लगायतका सबै प्रक्रिया सकेर पुसभित्रै ठेक्का सम्झौता गरिसक्ने लक्ष्य लिईएको छ। ठेक्का पाउने कम्पनीलाई कार्यादेश दिएर माघ भित्रैबाट काम सुरु गराउने लागिएको छ।

पहिरो जाने स्थानका लागि विशेष योजना 
पहिरो रोक्न बायो इन्जिनियर, रक वोल्टिङ, रक नेटिङ लगायतका योजनाहरु यही ठेक्का मार्फत गर्न लागिएको भण्डारीले जानकारी दिए। उनका अनुसार धेरै र ठूला पहिरो जाने स्थानका लागि छुट्टै ठेक्का निकाल्न लागिएको समेत जानकारी दिए। यसका लागि त्यस्ता स्थानमा केके उपयुक्त हुन्छ भनेर अध्ययन भैरहेको उनले जानकारी दिए।

सेनाले खोलेको ट्रयाकमध्ये उत्कृष्ट
नेपाली सेनाले विष्फोटक पदार्थ प्रयोग गरेर जथाभावी इन्जिनियरिङ मापदण्ड समेत पुरा नगरी सडक निर्माण गरेको भन्दै आलोचना हुने गरेको भएपनि यो सडकमा भने आयोजनाका अधिकारीहरुले नै उत्कृष्ट हिसावले मापदण्ड पुरा गरेर काम गरेको भन्दै प्रशंसा गरेका छन्। 

आयोजना प्रमुख भण्डारीले सेनाले मन लगाएर चट्टान काटेको भन्दै प्रशंसा गरेका छन।

नेपाली सेनाले तीन बर्ष लगाएर ट्रयाक खोलेको थियो। नेपाली सेनाले उपलब्ध गराएको तथ्याङक अनुसार सेनाले १ हजार २ सय किमीभन्दा बढी सडक निर्माण गरेको छ। 

भौगोलिक रुपले कठिन मानिने र विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने स्थानका सडकहरु बनाउने जिम्मा नेपाली सेनालाई दिईन्छ। यो खण्डमा सेनाले ठूला ठूला चट्टान र पहाडहरु काटेर सडक निर्माण गरेको छ। ७० मिटरभन्दा बढीसम्म पहाड काटेर सडक बनाएको छ। 

यो सडकको ट्रयाक खोलिएसँगै धुन्चे पुगेर तलतर झर्नुपर्ने बाध्यता हटेको छ। जसले करिव २६ किलोमिटर सडक छोट्याएको आयोजनाले जनाएको छ। अब त्रिशुलीको किनारै किनार रसुवागढी पुग्न सकिन्छ।

काठमाडौंबाट रसुवागढीसम्म सडकलाई हाईवेका रुपमा तीन बर्षमा विकास गरिसक्ने सरकारले लक्ष्य लिएको छ। जस अनुसार गल्छी – मैलुङ  ४६ (किमी), मैलुङ-स्याफ्रुवेशी (१९ किमी) र स्याफ्रुवेशीदेखि रसुवागढी (१७ किमी) गरि तीन खण्डमा काम अघि बढाईएको छ। 

तीनमध्ये दुई वटा खण्डको ठेक्का लागेर काम नै सुरु भैसकेको छ। एउटा खण्डको माघदेखि काम सुरु हुनेछ। गल्छी मैलुङ खण्डको ५० प्रतिशत काम नै सकिएको आयोजनाले जनाएको छ। त्यस्तै स्याफ्रुवेशी रसुवागढी खण्डको चिनियाँ पक्षले अक्टोबर ८ देखि काम सुरु गर्दैछ।

टोखा छहरे (७ किमी) सुरुङमार्गसँगै ३१ किमी सडक निर्माण गरेर वेत्रावती जोड्ने योजना पनि बनाईएको छ। यो सुरुङमार्ग र सडक बनाईदिन सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको छ जसमा चिनियाँ पक्ष सकारात्मक समेत देखिएको छ। यो सडक र सुरुङमार्ग निर्माण गर्न सकिए तीन घण्टामा काठमाडौंबाट केरुङ सहजै पुग्न सकिन्छ।