बुद्ध एयरको काउन्टर तोडफोड गरेका सांसद् साहलाई कसुर ठहरे कति हुन्छ सजाय?

सविन ढकाल/बिजमाण्डू
२०७६ असोज २९ गते ११:३० | Oct 16, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद् प्रमोदकुमार साहलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत धनुषाले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

'हामीले अदालतबाट पाँच दिनको म्याद पाइसकेका छौँ। घटनाको अनुसन्धान सुरु भइसकेको छ' जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले भने।

साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेको उजुरी नागरिक उड्डयन प्राधिकरणले दिएको थियो। उजुरीपछि अदालतको अनुमतिले मंगलबार साहलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो। अदालतको अनुमतिपछि धनुषा प्रहरीले काठमाडौँ प्रहरीसँगको समन्वयमा पक्राउ गरेको हो। साहलाई काठमाडौँबाट ओखलढुंगा जाने क्रममा पक्राउ गरिएको हो। पक्राउ लगत्तै धनुषा लगिएको थियो।

के हुन्छ सजाय?

साहलाई गैरसैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ अनुसार म्याद थप गरिएको छ। साहविरुद्ध ऐनको ९(क) (६) को प्रावधान आकर्षित हुने देखिन्छ।

यसमा भनिएको छ 'हवाई उडान कार्यसँग सम्बन्धित कुनै पनि कर्मचारी, विमानस्थलमा कार्यरत सरकारी वा गैरसरकारी कर्मचारी, हवाई यात्रु लगायत विमानस्थलमा आगन्तुक कुनै पनि व्यक्तिलाई हात हतियार लिई वा नलिई डर, धम्की, प्रलोभन वा अरू कुनै तरिका अपनाई अपहरण गरी वा कब्जामा लिई आफ्नो कर्तव्यबाट विचलित पारी वा अन्य कुनै किसिमबाट हवाई उडान सञ्चालन तथा सुरक्षामा खतरा वा बाधा उत्पन्न गराउने कार्य गरेमा हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्ध अपराध गरेको मानिनेछ।'

ऐन अनुसार सो कसुरमा पाँच वर्षदेखि दश वर्षसम्म कैद हुनेछ।

सर्लाही १ बाट निर्वाचित साहले सोमबार बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए। बुद्ध ए एयर प्रशासनको लापरबाहीका कारण आफू आक्रोशित भएको सांसद् साहले स्वीकार गरेका छन्। विमानस्थलभित्र रहेको बुद्ध एयरको काउन्टरको सिसा फुटेको छ।