तिहारका लागि अढाइ लाख सयपत्रीको माला आयात गरिँदै, बाँकी माग आन्तरिक उत्पादनबाटै 

बिजमाण्डू
२०७६ असोज २८ गते १२:३० | Oct 15, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। पुष्प व्यवसायीले झिलिमिली पर्व तिहारमा विदेशबाट अढाइ लाख सयपत्री माला आयात गर्ने भएका छन्। 

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले स्वदेशी फुलले नधान्ने भएपछि अन्य मुलुकबाट अढाई लाख सयपत्रीका माला आयात गर्ने तयारी रहेको बताए।

नेपालमा वार्षिक करिब अढाई अर्बको फुलको कारोबार हुने गरेको छ। माग बर्षेनी बढिरहेको छ। मुलुकभरी १० देखि १२ प्रतिशतले फुलको कारोबार बढ्दै गएको श्रेष्ठले बताए। गत वर्ष मुलुक भरी दुई अर्व ४२ करोड रुपैयाँ बराबरको फुलको कारोबार भएको थियो। 

यस वर्ष तिहारमा मात्रै २५ करोड रुपैयाँ बराबरको फुलको कारोबार हुने अनुमान एशोसिएसनको छ। गत वर्ष करिब २० करोड रुपैयाँको कारोबार भएको श्रेष्ठले बताए। यही तथ्याङ्कको आधारमा यस वर्ष २५ करोडको कारोबार हुने अनुमान गरिएको हो। 

सात वटै प्रदेशमा करिब २२ लाख मालाको माग हुने अनुमान एशोसिएसनले गरेको छ। जसमा १८ लाख माला सयपत्रीको मात्रै हुने अनुमान छ। बाँकी माला गोदावरी र मखमलीका हुने छन्। यस वर्ष सयपत्रीको मालाको न्यूनतम मूल्य ३० रुपैयाँबाट सुरु हुने श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार एउटा मालामा ४० वटा फुलको प्रयोग हुन्छ। मालाका प्रकृति, प्रकार अनुसार फरक हुन सक्ने छन्। आयातित बाहेक पनि स्थानीयले अनौपचारिक रूपमा समेत बिक्री गर्ने भएकोले त्यसमा केही फरक हुन सक्ने छ।     

तिहारमा मात्रै करिब करिब १७ करोड रुपैयाँ बराबरको माला आयात हुने बताए। तिहारका लागि आवश्यक फुल भारतको कोलकोत्ताबाट आयात गरिने श्रेष्ठको भनाइ छ। अपुग फुल भारतबाट आयात गरिने छ। आयात गरिने फुल लक्ष्मी पूजाभन्दा अगाडि नै नेपाल आइपुग्ने श्रेष्ठले बताए। 

उपत्यकामा खपत हुने ८० प्रतिशत फुल काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर लगायतका जिल्लामा उत्पादन हुन्छ। धादिङ, मकवानपुरको हेटौडा र मनोहरीमा सबैभन्दा बढी व्यवसायिकरुपमा सयपत्री खेती हुने गरेको छ। सबैभन्दा बढि धादिङबाट फुल उपत्यकामा आउँछ। 

यसपालीको तिहारमा मखमली मालाको समेत मनग्गे माग हुने एशोसिएसनको अनुमान छ। मखमली फुलमा भने नेपाल आत्मनिर्भर रहेको एशोसिएसनका अध्यक्ष श्रेष्ठले बताए। 

तिहारको भाइटिकाको दिन मात्र प्रयोग हुने भएकाले बजारमा सहजरुपमा पाइने उनले बताए। यो वर्ष तिहारमा मखमलीको माला प्रति गोटा ५० रुपैयाँ पर्ने उनले बताए। मखमली फुल नओइलाउने भएकाले साउनदेखि नै माला उन्ने काम भइरहेको छ। 

भक्तपुरको गुण्डु लगायतका क्षेत्रमा मखमली फुलको एक व्यावसायिक खेती हुने गर्छ। भाइटिकाका दिन मात्र यो फुलको प्रयोग हुन्छ। अधिकांश मानिसले निजी प्रयोगका लागि घरको करेसा वा बगैँचामा रोप्ने भएकोले मखमली फुलमा समस्या हुँदैन।