आयात प्रतिबन्धपछि नेपालमा इनर्जी ड्रिङ्क्सको उत्पादन सुरु, मूल्य ११० रुपैयाँ तय

बिजमाण्डू
२०७६ असोज २८ गते ११:३४ | Oct 15, 2019
आयात प्रतिबन्धपछि नेपालमा इनर्जी ड्रिङ्क्सको उत्पादन सुरु, मूल्य ११० रुपैयाँ तय

Tata
GBIME
Nepal Life

विराटनगर। नेपालमा पहिलो पटक इनर्जी ड्रिङ्क्सको व्यावसायिक उत्पादन सुरु भएको छ। घनश्याम काबराको नेतृत्वमा रहेको क्वालिटी ग्रुपले दशैँको अवसर पारेर ‘वान–टु–थ्री वाउ’ ब्रान्डमा इनर्जी डिङ्कको व्यावसायिक उत्पादन सुरु गरेको हो। 

क्वालिटी ग्रुप एफएमसिजीको उत्पादनमा एक दशकदेखि सक्रिय छ। ग्रुपले वानटुथ्री, बुलेट र अन्य विभिन्न ब्रान्डमा तयारी चाउचाउ, नुडल्स, पास्ता, फुरन दाना, सेबई र विविध प्रकारका स्न्याक्सको उत्पादन गर्दै आएको छ।

सरकारले इनर्जी डिङ्क्सको आयातमा प्रतिबन्ध लगाएको ३ महिना पूरा नहुँदै क्वालिटी ग्रुपले यसको व्यावसायिक उत्पादन सुरु गरेको हो।

वाणिज्य मन्त्रालयले गत असार ३ गते सूचना प्रकाशित गर्दै क्याफिनयुक्त इनर्जी ड्रिङ्क्स र सिन्थेटिक फ्लेवर भएका जुसको आयातमा प्रतिबन्ध लगाएको थियो।

‘तर हामीले सरकारी सूचना पढेर उद्योग लगाएका होइनौँ’, क्वालिटीका निर्देशक घनश्यामले भने, ‘यो हाम्रो तीन वर्षदेखि चल्दै आएको परियोजना हो।’

वाउ इनर्जी ड्रिङ्क्स २ सय ५० एमएलको बट्टामा प्याक गरिएको र यसको एमआरपी ११० रुपैयाँ राखिएको छ। यसको उपभोग मिति २ वर्षको छ।

पूर्णतः अत्याधुनिक युरोपियन प्रविधिबाट यसको उत्पादन गरिएको हुँदा विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने उनले दाबी गरे। साथै इनर्जी ड्रिङ्क्सका लागि नेपालको बजार मात्र पर्याप्त नहुने हुँदा भारततर्फ निकासी गर्ने योजना भइरहेको जानकारी दिए।

‘लिकरका क्षेत्रमा हामी अझै धेरै काम गर्दैछौँ’, काबराको भनाइ थियो, ‘हामी निकट भविष्यमै लिची जुस, टोनिक वाटर, मेङ्गो र अन्य जुसहरू, बदाम सेक, विभिन्न मिल्क ड्रिङ्क्सहरू र बटर मिल्कको पनि व्यावसायिक उत्पादन सुरु गर्दैछौँ।’