दशैंपछि पनि सुधार हुन सकेन बजार, त्रैमासिक व्याजको दवाव, लाभांस घोषणा गरेकै दिन मूल्य घट्यो

बिजमाण्डू
२०७६ असोज २७ गते १५:३० | Oct 14, 2019

काठमाडौं। बैंकहरुसँग लगानी गर्ने पैसा सकिएपछि दशैंलगतै बढ्ने अपेक्षा गरिएको शेयर बजार अझै पनि सुधार हुन सकेको छैन।

Tata
GBIME
Nepal Life

सोमबार शेयर बजार दोहोरो अंकले ओरालो झरेको छ। बजारमा तरलता अभाव हुँदा ठुला लगानीकर्ताहरु सँग पैसा कम हुँदै गएको छ। साथै साना लगानीकर्ताहरु लगानी गर्न डराउदा सूचक र कारोबार रकम दुबै ओरालो झरेको बजार विश्लेषक सुरज अधिकारीले बताए। 

बैंकहरुसँग लगानी गर्न पैसा अभाव हुँदै गर्दा व्याजदर घट्ने आशा टुङ्गिएको अधिकारी बताउँछन्। पहिलो त्रैमाशको व्याज तथा करको लागि आजसम्म शेयर बिक्री गर्नेले सजिलै पैसा पाउन सक्छन्। व्याज र करको लागि पैसा जोहो गर्ने शेयर बिक्री गर्दा शेयर बजार थप ओरालो झरेको हो। 

दशै पछिको पहिलो कारोबार झिनो अंकले घटेको थियो। दोस्रो दिनको कारोबार भने १२.०५ अंकले घटेको छ। गत बिहिबार ६ करोड रुपैयाँमा सिमित भएको कारोबार सोमबार २१ करोड ८६ लाख रुपैयाँ पुगेको छ। 

विगतका वर्षमा साउनदेखि बैंकहरुले लाभांस घोषणा गर्ने अवधिमा शेयर बजार सुधार हुने गरेको थियो। तर अहिले भने लाभांस घोषणा गरेकै दिन उक्त कम्पनीको शेयर मूल्य समेत ओरालो झरेको छ। सोमबार २५ प्रतिशत लाभांस घोषणा गरेको एभरेष्ट बैंकको शेयर मूल्य १४ रुपैयाँले घटेको छ।

बजार सुधार नहुँदा लगानीकर्ताको सहभागिता थप घटेको छ। बजार सुधार नहुँदा दशैंको लागि बाहिरिएका लगानीकर्ताहरु पनि बजार प्रवेश गरिरहेका छैनन्। म्युचुअल फण्डको सूचक बाहेक सम्पूर्ण सूचक ओरालो झरेका छन्। म्युचुअल फण्डको सूचक ०.०५ अंकले मात्रै सुधार देखिएको छ। 

बोनस शेयर घोषणा गरेको प्रभु बैंकको सबैभन्दा धेरै दुई करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। राधी विद्युत कम्पनीका शेयरधनीहरुले सबैभन्दा धेरै ५.८४ प्रतिशतले कमाएका छन्। त्यस्तै सिनर्जी पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ६.४९ प्रतिशतले घटेको छ।

दशैंमा खर्च भएको पैसा केहि हदसम्म बजारमा आउने हुँदा कात्तिकमा बजार केहि सुधार हुन सक्ने विश्लेषकहरु बताउँछन्। दशैंका लागि बाहिरिएको पैसा व्यापारी मार्फत पुन बैंकिङ प्रणालीमा आउने हुँदा केहिहदसम्म तरलता सहज हुन सक्ने आँकलन गरिएको छ।