चार वर्षदेखि धुलाम्मे त्रिपुरेश्वर-कलंकी सडक दुई सातामा बन्यो, रातारात कसरी बन्यो सडक?

बिजमाण्डू
२०७६ असोज २४ गते १४:२३ | Oct 11, 2019
चार वर्षदेखि धुलाम्मे त्रिपुरेश्वर-कलंकी सडक दुई सातामा बन्यो, रातारात कसरी बन्यो सडक?


Tata
GBIME
Nepal Life

काठमाडौं। त्रिपुरेश्वर-कलंकी सडक खण्ड विस्तार थालेको चार बर्ष पुग्यो। आयोजनाको पूर्व तयारी र साईट क्लियर नगरी ठेक्का लगाउदा तीन बर्षसम्म कामै सुरु हुन सकेन।

स्थानीयको अवरोध, मुआब्जा विवाद, खानेपानी ढलका पाईप, विद्युत लगायत युटिलिटिजका पोलहरुका कारण काम सुरु हुनै नसकेपछि गतबर्ष मन्त्रीपरिषद्ले उपलब्ध ठाउँ अनुसार (यथास्थितिमा) कालोपत्रे गर्न स्वीकृति दियो।

असारसम्म कालोपत्रे गरिसक्ने गरि स्वीकृति दिएपनि कामको गति भने अझै ६/७ महिना लाग्ने अवस्था थियो। केही स्थानमा कालोपत्रे थप्ने वाहेक अरु काम हुन सकेको थिएन्।त्रिपुरेश्वर -नागढुङगा करिव १२ किमीको मध्ये ३.३८० किमीको यो खण्डमा दुई साता अघिसम्म भत्किएको फुटपाथ थियो। धुलाम्मे सडक र कालोपत्रेहरु भत्किएका थिए।

तर दुई सातामा यो सडकले काँचुली फेरेको छ। दुई सातामै यो सडक कालोपत्रे भएको छ। फूटपाथका रेलिङमा रङ लगाइएको छ भने जेब्रा क्रसिङका साइनेजले सडक टल्किएको छ। दशैं विदामा यो सडक विकसित देशको जस्तै बनेको छ। चिनियाँ राष्ट्रपति सी जिनफिङका लागि रातारात काठमाडौंका सडक चिल्लो बनेका छन् भने धुलोमुक्त भएको छ।

मुलुकभित्र भीभीआइपी आउँदा दुई सातामै सडक कालोपत्रे हुन सक्छ। तर सामान्य अवस्थामा कसरी चार वर्षसम्म पनि बन्न सक्दैन? भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका स्रोतका अनुसार निर्माण कार्यको तत्कालै भूक्तानी दिने गरि काम गराइएकोले चाँडै काम भएको हो।

‘कुनै पनि सार्वजनिक खरीदका लागि टेण्डर लगायतका प्रकृया सक्नै ६ महिनादेखि एक वर्ष लाग्छ। त्यसपछि मोबिलाइजेशनको रकम लिएपछि साइट क्लियरको काम सुरु हुन्छ। शहरी क्षेत्रमा विजुलीको पोलदेखि सडकमा रहेका घरहरु भत्काउने लगायतका काम हुँदा समय धेरै लाग्छ,’ मन्त्रालयका एक अधिकारीले भने,’त्यसमा पनि भूक्तानीकै समस्या हुन्छ।’

ती अधिकारीका अनुसार कुनैपनि ठेक्का कर्मचारीलाई ‘नजराना’ बुझाउनुपर्छ। ‘प्रत्येक ठाउँमा पैसा नबुझाए भूक्तानीनै पाइदैन। त्यही भएर विकास आयोजना ढिलासुस्ती भइरहेको छ’ उनले भने,’तर सार्वजनिक खरीद प्रकृया पूरा नगरि भएको निर्माणको कामको तत्कालै भूक्तानी हुन्छ भने सबै सरकारी निकायको दबाब पनि रहन्छ।’मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्माले सडक निर्माणको काम सीधै गराइएको बताउँदै पुरानो ठेक्कामा भने ठेकेदारलाई दबाब दिएरै काम गराइएको बताए।

 उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र बाहेक अरु पूरानै ठेक्काबाट गरिएको जानकारी दिए। त्रिपुरेश्वर, कालीमाटी, सुन्धारा लगायतका स्थानमा पूरानै ठेक्काबाट काम गराईएको हो। 'हामीले पनि ठेकेदारलाई दबाब दियौ। पहिला आलटाल गरेर बस्थे तर अहिले भने राम्रै काम भयो,'उनले भने।

विमानस्थलको गैह्री गाउँको ओरालो, विमानस्थल वरिपरि र माईतीघर तीनकुने लगायतका स्थानमा सीधै ठेक्काबाट काम गराईएको हो। विमानस्थल- तीनकुने-माईतीघर-त्रिपुरेश्वर हुँदै सोल्टी होटल र  सोल्टीबाट  त्रिपुरेश्वर फर्किदै सुन्धाराबाट राष्ट्रपति निवास सम्म सडक कालोपत्रे गरिएको छ।

करिव  १० किलोमिटर सडक कालोपत्रे र केही स्थानमा मर्मत र प्याच अप गरिएको छ। पेन्टिङ र कालोपत्रे गरि करिव ७ करोड रुपैयाँ खर्च भएको शर्माले जानकारी दिए। खाल्डा खुल्डी पुर्ने र मर्मत गर्ने भने सडक विभागको आन्तरिक खर्चबाट गरिएको छ। सडक र फुटपाथको पेन्टिङ मात्रै विभागमार्फत गरिएको उनले जानकारी दिए।

शर्माका अनुसार बगैंचा बनाउने, ब्यानर लगायतका साजसज्जा भने निजी क्षेत्रबाट भएको हो। ‘बगैंचा बनाउने र ब्यानर लगायत कर्पोरेट हाउसहरुले गरेका छन्। त्यसमा सरकारको पैसा परेको छैन’ उनले भने।