हिमालय एयरलाइन्समा चिनियाँ लगानीकर्ता फेरिए, एयरलाइन्सको लोगो पनि परिवर्तन

बिजमाण्डू
२०७६ असोज १२ गते १६:४२ | Sep 29, 2019
हिमालय एयरलाइन्समा चिनियाँ लगानीकर्ता फेरिए, एयरलाइन्सको लोगो पनि परिवर्तन

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएका छन्।

कम्पनीमा रहेको तिब्बत एयरलाइन्सको ४९ प्रतिशत हिस्सा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्टलाई बिक्री गरिएको छ। कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै तिब्बत एयरलाइन्सले शेयर बिक्री गरेको जानकारी दिएको हो।कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीको शेयर केही दिनभित्रै तिब्बत सिभिलको स्वामित्वमा आउने छ। उनका अनुसार नेपालको तर्फबाट भने यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिकै छ।

'पुरानो स्वामित्व रहेको कम्पनीलाई साझेदारी फिर्ता गराउने प्रकृया अन्तिम चरणमा छ।अब कम्पनीमा छिट्टै नयाँ स्वामित्व आउनेछ।' उनले भने।

लोगो पनि फेरियो

कम्पनी फेरिएसँगै कम्पनीको लोगो समेत परिवर्तन भएको छ। कम्पनीले आफ्नो नयाँ लोगोमा निलो, सेतो र सुन्तला रङको संयोजनले एकीकृत र मेलमिलाप दर्शाउने ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट अन्तर्गत विभागीय प्रमुख उज्ज्वला दलीले बताइन्।

आकाशलाई प्रतिविम्वित गर्ने निलो रङले भद्र शिष्ट र विश्वसनियताको अर्थ बोक्ने र हिमशिखरलाई प्रतिविम्वित गर्ने सेतो रङले पवित्र, शान्ति र पारदर्शिताको अर्थ बोक्ने उनले जानकारी दिइन्।

जनता र उत्पादकत्वलाई प्रतिविम्वित गर्ने  सुन्तला रङले शुभ, सक्रिय र प्रगतिको अर्थ बोकेको उनले बताइन्। नयाँ लोगोले कम्पनीको संस्थागत मूल्यमान्यतालाई वास्तविक रुपमा प्रतिविम्वित गर्ने उनले बताइन्।    

नयाँ लोगोले हिमालयमा भएको तीनवटा अङ्ग्रेजी अक्षर 'ए' को संयोजन गरिएको छ। तीनवटा 'ए' अक्षरले उडिरहेको चीललाई प्रतिविम्वित गरेको कम्पनीले जनाएको छ। 'चील हिमाली भेगमा पाइने पंक्षी हो। यसले दृढता र साहसको प्रतिकलाई अंकित गर्छ।  यसले हिमालय एयरलाइन्सको धेरै उचाईमा उड्न सक्ने क्षमतालाई संकेत गर्छ।' दलीले भनिन्।

कम्पनी संचालनमा आएको पाँच वर्षको अवधिमा सुरक्षा र विश्वसनीयतालाई मुख्य प्राथमिकतामा राखिएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए। सरकारको सम्वृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको कम्पनीका अध्यक्ष जोन इनयोङले बताए।

'भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने उद्धेश्यलाई मुख्य प्राथमिकता दिँदै सेवा विस्तार गर्नेछौँ। बडा दशैंको सुवसरमा हिमालयन एयरलाइन्सको नयाँ ब्राण्ड पहिचान गर्न पाउँदा हामी गौरवान्वित छौँ।' उनले भने।कम्पनीले आउँदो अक्टोबरदेखि काठमाडौं-क्वालालाम्पुर पुनः नियमित उडान सुरु गर्ने जनाएको छ।