फोहोरमा नेपालगंजको फड्को, काठमाडौंले के सिक्ने?

भावना शर्मा/बिजमाण्डू
२०७६ असोज ७ गते १२:५५ | Sep 24, 2019
फोहोरमा नेपालगंजको फड्को, काठमाडौंले के सिक्ने?

Tata
GBIME
Nepal Life

नेपालगंज। काठमाडौंमा फोहोर व्यवस्थापन ठूलो टाउको दुखाइ भैरहेकै बेला नेपालगंज उपमहानगरपालिकाले भने नमुना फोहोर प्रशोधन केन्द्र तयार पारेको छ। नेपालगंज उपमहानगरको हिरमनियास्थित प्रशोधन केन्द्रको बनोट र सुरुवाती कामलाई हेर्ने हो भने यसले लामो समयसम्म नेपालगंजलाई फोहोर मुक्त राख्न सक्ने देखिन्छ।

आगामी २० वर्षकालागि फोहोर ब्यवस्थापन गर्ने लक्ष्यका साथ केन्द्र तयार गरिएको एकीकृत शहरी विकास आयोजनाका प्रोजेक्ट म्यानेजर सुवास बस्नेतले जानकारी दिए। हिरमनिया ल्याण्डफील साइट कुल १२ बिघा जमीनमा तयार भएको छ जहाँ अनुमानित १५ हजार घरपरिवारको फोहोर ब्यस्थापन हुन थालेको छ।   

केही समयअघि मात्रै संचालनमा आएको फोहोर संकलन केन्द्र एशियाली विकास बैंकको अनुदान सहयोगमा तयार भएको हो। यस केन्द्रमा आधुनिक तरिकाले फोहोर ब्यवस्थापन तथा प्रशोधन गर्ने ब्यवस्था गरिएको छ। कुल ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँको लागतमा यो केन्द्र तयार पारिएको हो। केन्द्रको निर्माण सन् २०१६ मा सुरु भएको थियो। 

हिरमनियाको यस्तो स्थानमा फोहोर प्रशोधन केन्द्र निर्माण भएको छ जहाँ परसम्म मानव वस्ती छैन। १२ विघा जमीनमा फैलिएको यो केन्द्रभित्र पस्दा कतै पनि ल्याण्डफिल साइटमा पसेजस्तो अनुभव हुँदैन। हरेक दिन नगरमा जम्मा हुने फोहोरलाई ल्याएर तत्काल प्रशोधन र व्यवस्थापन गरिहालिन्छ। यसकालागि मानव स्रोतसँगै आधुनिक मेशिनरी र कम्प्युटरको प्रयोग गरिएको छ।

गाडीमा ल्याइएको फोहोर चौरमा थुपारिन्छ। चौरमा राखेको फोहोरमा कामदारले छान्ने र डोजरले फोहोर उठाएर फेरि छान्ने बेल्टमार्फत पठाइन्छ। बेल्टमा पनि कामदारले फोहोर छान्छन् । कुहिने फोहोर कम्पोष्ट बनाउन लगिन्छ भने नकुहिने फोहोरलाई पर खनिएको खाल्डोमा हालेर माटोले छोपिन्छ। फोहोर तत्काल व्यवस्थापन हुने भएपछि आकाशमा चील वा गिद्ध उड्ने समस्या पनि छैन।  वरपरका मानव वस्तीलाई यहाँको फोहोरको प्रभाव नपर्ने गरी सुरुवात देखिनै व्यवस्थापन गरिएको केन्द्रको ब्यवस्थापक सुवास बस्नेतले बताए। 

यस स्थानमा यति धेरै रुख बिरुवा रोपिएको छ कि आगामी डेढ वर्षभित्र यो घना जंगलजस्तो देखिन थाल्नेछ। फराकिलो जमीन र ब्यबस्थित उपकरणहरु। कामदारहरुलाई फोहोरमा काम गर्न बुट, पन्जा र मेशिनरीको सहयोग। यी सबै कुराले कामदारको पनि मनोबल बढिरहेको छ। नजिकैको गाउँबाट काममा आएकी पूजा विश्वकर्मालाई यहाँ काम थालेकोमा कुनै हिनताबोध छैन। बिहान सातदेखि १ बजे र बेलुकी २ देखि ४ बजेसम्म दुई सिफ्टमा उनी यहाँ काम गर्छिन्। 

पूजाको काम यहाँ कुहिने र नकुहिने फोहोर छान्नु हो। यहाँ काम गरेबापत उनले १२ हजार कमाउन थालेकी छिन् जसले उनको दुई सन्तानको पढाइमा सहयोग पुग्छ। घर चलाउन गारो हुने हुँदा मिस्त्री काम गर्ने श्रीमानलाई  सघाउन उनले यहाँ काम थालेको बताइन्।  पूजाजस्तै अन्य १७ जना यहाँ दिनभर काम गर्छन्। 

प्रशोधन केन्द्रमा फोहोर व्यवस्थापन हुन थालेपछि हाल नगरमा पनि फोहोर व्यवस्थापनको संस्कार विकास गर्न बिभिन्न सचेतना अभियान चलाइएको छ। हाल ५५ सय घर परिवारलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न बाल्टी वितरण गरिएको छ। हरेक घरबाट फोहोर संकलन गरी केन्द्रमा ल्याइन्छ। केन्द्रमा फोहोरलाई कुहिने न नकुहिने फोहोरका रुपमा छुट्याइन्छ।  फोहोरलाई संकलन गर्न ससाना गाडीहरु पनि ब्यवस्था गरिएको छ। 

नयाँ प्रविधिको प्रयोग, व्यवहारमा परिवर्तन तथा टेक्निकल इन्टरभेन्सन नगरी फोहोर व्यवस्थान हुन नसक्ने नेपालगंज उपमहानगरपालिकाका इन्जिनियर शैलेन्द्र श्रेष्ठको भनाई छ। हाल केन्द्रलाई ट्रायल बेसिसमा १ वर्षकालागि ठेकेदारको जिम्मा लगाइएको छ। ठेकेदारले फोहोर प्रशोधनको काम सुरु गरिसकेको छ।  

एडिबीको आवद्धतामा  प्रस्तावित अन्य ६ आयोजनामध्ये यो सबैभन्दा सफल भएको आयोजना भएको एडिबीका सिनियर सोसल डेभलपमेन्ट अफिसर लक्ष्मी सुवेदीले बताए। केन्द्रले आफ्नो वरिपरिको समुदायमा विकासका कामहरु पनि अघि बढाएको छ। केन्द्रले स्थानीयकालागि तालिम तथा रोजगारी तथा ससाना पूर्वाधार विकासका कामहरु समेत गरेको छ।

आगामी एकवर्षसम्म एडिबीले केन्द्रको व्यवस्थापन गर्ने उपमहानगरसँग सम्झौता भएको छ। आगामी वर्षदेखि भने उपमहानगरपालिका आफैंले यस केन्द्रको बित्तीय ब्यवस्थापन गर्नुपर्ने हुन्छ। यसकालागि उपमहानगरपालिकाले फोहोरमा नगरवासीसँग कर उठाउने तयारी समेत गरेको छ। वर्ग छुट्याएर धनीलाई १ सय र बिपन्न बर्गलाई ३० रुपैयाँसम्म कर लिने तयारी भएको मेयर धवलशमेशरले जानकारी दिए। 

यस्तै कुहिने चीजलाई मल बनाउने योजना उपमहानगरपालिकाको छ। हाल काठमाडौंमा कम्पोष्ट मल प्रतिकिलो ७० रुपैयाँ पर्छ। केन्द्रले कम्पोष्ट मल बनाएर सजिलै बेच्न सक्ने आँकलन गरेको छ। पुनर्प्रयोग हुने प्लास्टिकलाई बेचेर पनि पैसा लिन सकिन्छ। यसबाट स्रोत सिर्जना र ब्यस्थापनमा सहयोग पुग्ने छ। 

यस केन्द्रमा औद्योगिक क्षेत्र तथा अस्पतालजन्य फोहोरहरुको ब्यवस्थापन पनि गरिने बताइएको छ।  आयोजना सुरु गर्दा भन्दा हाल ३३ प्रतिशत जनसंख्या बढिसकेकाले आगामी २० बर्ष नै उक्त फोहोर प्रशोधन केन्द्रले नेपालगंजको फोहोर ब्यवस्थापन गर्न सक्छ भन्नेमा भने मेयर धवल शमशेर ढुक्क छैनन्। 

प्रशोधन केन्द्र निर्माणको सफलता 
एकैसाथ फोहोर प्रशोधन केन्द्र बनाउन सुरु गरिएका अन्य ६ नगरपालिका क्षेत्रमा काम सुस्त रहेको अवस्थामा नेपालगंजको केन्द्र सबैभन्दा पहिले तयार भयो। यसकालागि नेपालगंज उपमहानगरपालिकाले लामो समयसम्म अनेक किसिमका चुनौतीहरु सामना गरेको मेयर धवलशमशेरले बताउँछन्। 

फोहोर प्रशोधन केन्द्र बन्ने निर्णय भएको १२ बिघा क्षेत्र भित्रै १ बिघा जमीन निजी जग्गा देखिएपछि अधिग्रहण गरी त्यसलाई पनि केन्द्रमा गाभिएको थियो। तर त्यो निजी जग्गालाई अधिग्रहण गर्न लामै कसरत गर्नुपरेको उनले स्मरण गरे। उनका अनुसार दुई वर्षअघिसम्म पनि सडकमा देखिने फोहोरको थुप्रो हाल समाधान भएपछि स्थानीयहरु पनि फोहोर व्यवस्थापन प्रक्रियाबारे 'कन्भिन्स' हुँदै गएका छन्। 

केन्द्रले सिकाएको पाठ
फोहोर जुन ठाउँमा व्यवस्थापन गर्ने योजना बनाइएको हो त्यो ठाउँ बस्तीभन्दा कम्तीमा पनि एक किलोमीटर पर हुनुपर्छ। आसपासमा बस्ती छ भने पनि अन्त सार्नुपर्छ। नेपालगंजको फोहोर प्रशोधन केन्द्र वरपर कुनै पनि बस्ती आउनै नदिनेगरी कानुनी ब्यवस्था गरिएको छ। उपमहानगरपालिकाले प्रशोधन केन्द्र बनाउने निर्णय भए लगत्तै ५ सय मीटर वरपर कसैको पनि नक्सा पास र घर बनाउन नदिने निर्णय गरेको थियो।  

फोहोर प्रशोधन केन्द्रमा सबैभन्दा आवश्यक पर्खाल हो। यस केन्द्रको डिजाइनमा भने पहिले पर्खाल थिएन। ग्रिन वाल भन्ने मात्र थियो रुख जंगलले घेर्ने र तारबार गर्ने। तर भविष्यमा आइपर्ने जोखिमलाई मध्यनगर गर्दे यहाँ पछि पर्खाल लगाइएको छ। बाख्रा गाई वस्तु पसेर फोहोर खाने वा तारमा अड्किएर घाइते हुने संभावनालाई रोक्नकालागि हाल पर्खाल लगाएर त्यहीँभित्र सयौं रुखहरु रोपिसकिएको छ। एक वा डेढ वर्ष पछि केन्द्र रहेको स्थान जंगलमा परिणत भैसक्नेछ। कसैले अनुमान पनि लगाउन सक्दैनन् कि केन्द्र रहेको स्थान फोहोर फाल्ने ठाउँ हो किनभने त्यहाँ बाहिरबाट कतैपनि फोहोर नदेखिने ब्यवस्था गरिएको छ।  

अप्रोच रोड 
काठमाडौंको सिसडोल र अन्य ल्याण्डफील साइटको समस्या भनेको बाटोको हो। त्यहाँ स्थानीयहरु साइटमा बिभिन्न प्रलोभनमा परी ब्ल्याकमेल गर्न थाल्छन्। रोड ब्लक हुन्छ। तर नेपालगंजको फोहोर प्रशोधन केन्द्रसम्म पुग्नकालागि तीनतीर बाटो बनाइएको छ। 

वरिपरिका समुदायलाई पनि एकातिरको बाटो रोक्दा अरु दुई बाटोबाट फोहोर केन्द्रसम्म पुग्छ भन्ने थाहा भैसकेको छ। त्यसैले भविष्यमा स्थानीयले कुनै पनि किसिमको अवरोध गर्न नसक्ने गरी सुरुवाती चरणमै अप्रोच रोडहरु तयार गरिएको छ। यसैगरी स्थानीयलाई केन्द्रमा रोजगारीका साथै समुदायका लागि धारा पर्खाल बाटो र पुल बनाइदिएर उनीहरुको विश्वास जित्न उपमहानगरपालिकाले काम थालिसकेको छ।  

फोहोर छुट्याउनु सिकाइ होइन संस्कार
फोहोर छुट्याउने काम कुनै पनि ल्याण्डफिल साइटको मुख्य चुनौती हो। यस केन्द्रले भने कुहिने र  नकुहिने फोहोर छुट्याउनकालागि नयाँ प्रविधि अपनाएको छ। गाडीको सहायताले खन्याइएको फोहोर लामो बेल्टको माध्यमबाट घुम्दै गर्दा कामदारहरुले त्यसलाई हातले टिपेर प्लास्टिक र अन्य नकुहिने फोहोर छुट्याउने गर्छन्। 

कुहिने फोहोरबाट भने कम्पोष्ट मल बनाइन्छ। पुनर्प्रयोग हुन सक्ने प्लास्टिकलाई बेचिन्छ। यसरी फोहोरको भोल्युम सानो बनाएर वर्षौसम्म एउटै साइटलाई प्रयोग गर्ने योजना उपमहानगरपालिकाको छ। तर कुहिने र नकुहिने फोहोर छुट्याउनुस् भन्न जति सजिलो हुन्छ स्थानीयमा त्यो संस्कार बसाउन भने लामो समय लाग्ने चुनौती पनि केन्द्रसामु छ। 

यसकालागि उपमहानगरपालिकाले ६ वडामा  पाइलट प्रोजेक्ट सुरु गरिसकेको छ।  उपमहानगरपालिकाका छ वटै वडामा २ वटा बाल्टी दिएर कुहिने नकुहिने फोहोर छुट्याएर राख्न अभिप्रेरित गरिरहेको छ।  

अस्पतालजन्य फोहोर व्यवस्थापन
नेपालगंजमा साना ठूला गरी २५ वटा अस्पताल छन्। ति अस्पतालहरुबाट ठूलो मात्रामा मेडिकल वेस्ट निस्कन्छ। त्यसको कसरी ब्यवस्थापन गर्ने? अस्पलताले फोहोर जथाभावी जलाउन नपाउने कानुनी व्यवस्था भएकाले त्यस फोहोरलाई जोखिमरहित बनाएर यसै प्रशोधन केन्द्रमा ब्यवस्थापन गर्नुपर्ने देखिएको छ। 

नेपालगंज मेडिकल हब बिकास भैरहेको अवस्थामा अस्पतालहरुबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने ठूलो चुनौती उपमहानगरपालिकालाई छ।