एउटा बैंकबाट अर्कोमा भुक्तानी तत्कालै, चेक काट्नु नपर्ने, आरटिजिएसको औपचारिक उद्घाटन

बिजमाण्डू
२०७६ भदौ २९ गते १३:२४ | Sep 15, 2019
एउटा बैंकबाट अर्कोमा भुक्तानी तत्कालै, चेक काट्नु नपर्ने, आरटिजिएसको औपचारिक उद्घाटन



काठमाडौं। गत बिहीबारबाटै कार्यान्वयनमा आएको राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) को औपचारिक उद्घाटन आइतबार गरिएको छ। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल र लण्डनका मेयर पिटर एलष्टिनले संयुक्त रुपमा प्रणालीको उद्घाटन गरेका हुन्।

Tata
GBIME
Nepal Life

आरटिजिएस राष्ट्र बैंकको १३ बर्षदेखिको योजना हो। आरटिजिएसका कारण चेक नकाटी सिधै भुक्तानी गर्न सिकन्छ।

आरटिजिएसमा २८ वटै बाणिज्य बैंकहरु आबद्ध भइसकेका छन्। आरटिजिएस लागूसँगै चेकको क्लियरिङ गरिरहनु पर्दैन। तत्कालको तत्काल एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुने छ। 

जस्तो तपाईको खाता नबिल बैंकमा छ। तपाईको साथीको खाता प्रभु बैंकमा होला। तपाई नबिल बैंकमा गएर एउटा फारम भर्नु पर्छ। जसमा 'मेरो फलानो नाम गरेको साथीलाई फलानो बैंक खातामा भुक्तानी गरिदेउ' लेख्नु पर्छ।

त्यसपछि नबिल बैंकले तपाईँको खाताको पैसा प्रभु बैंकमा तपाईँको साथीको खातामा भुक्तानी गरिदिन्छ। यो प्रकृया काउन्टरमा उभिँदाउभिँदै पुरा भइसक्छ।

अहिले चेक काटेर क्लियरिङमा पठाउनु पर्छ। भुक्तानी हुन डेढ दिनसम्म लाग्छ।

राष्ट्र बैंकले २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा यो सेवा सुरु गरेको हो। २० लाखभन्दा माथिकोमा अनिवार्य नै गरेको छ। ग्राहकहरु बानि नपरुन्जेल चेक पनि चलाउने राष्ट्र बैंकले जनाएको छ।

'सर्वसाधारणहरु बानी पर्न केही समय लाग्छ भनेर हामीले यसो गरेका हौं' राष्ट्र बैंक भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बिजमाण्डूसँग भने, 'पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि लागू गर्छौं।'

राष्ट्र बैंकले २०६३ को मौद्रिक नीतिबाट आरटिजिएस लागू गर्ने जनाएको थियो। तर प्राविधिक कारण भएकाले लागू गर्न सकेको थिएन। गभर्नर नेपालले आरटिजिएस लागू हुनुलाई ठूलो उपलब्धि भएको बताएका छन्। भारतमा सन् २००७ बाटै आरटिजिएस लागू भएको हो।

आरटिजिएस पूर्ण रुपमा लागू भएपछि बैंकहरुले चेक छाप्नु पर्दैन जसले गर्दा उनीहरुको लागत कम पर्छ। साथै चेकको प्रयोग हुन छाडेपछि क्लियरिङ गरिरहनु पर्दैन। आरटिजिएसका कारण पैसाको कारोबारमा तिब्रता आउँछ। जस्तो अहिले क्लियरिङ गर्दा डेढ दिन लाग्छ भने आरटिजिएस लागूपछि त्यहीपैसाको कारोबार १०औं पटक हुन सक्छ।

अहिलेलाई एउटा कारोबारको १० रुपैयाँ लाग्छ। बेलुकी भुक्तानी गर्नु परेमा १०० रुपैयाँसम्म शुल्क लाग्ने छ।