पिच गर्न नपाउँदै किन भत्किन्छ सडक? सडक प्रयोग गर्ने तरिका नजान्दा पनि समस्या




काठमाडौं। गौशला- चावहिल- चुच्चेपाटी सडक खण्ड सँधै अस्तव्यस्त हुन्छ। हिलो खाल्डा-खुल्डी र धुलो विशेषता जस्तै बनिसकेको छ।

प्रत्येक दुईदेखि तीन महिनामा  कालोपत्रे (पिच) गरिन्छ। पिच नटिक्नुको कारण खोज्नुभन्दा पनि पिच मात्रै गरिरहँदा बर्षेनी लाखौं बजेट यहि सडकका लागि खर्च भइरहेको छ। खानेपानी र ढलको उचित व्यवस्था हुन नसक्दा पिच नटिकेको हो।

TATA
SANIMA new
Jagdamba Steel

अत्यन्त पुरानो पाईपलाईन रहेको र लिकेज भएर सँधै सतह ओसिलो भएका कारण पिच नटिकेको उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार, यो समस्याको दिगो समाधानका लागि चुच्चेपाटीदेखि गौशलासम्मको पुरै सडक मुनीको ढल र खानेपानीको नयाँ पाईप राख्न लागिएको छ। त्यसपछि भत्काएर पुरै सडक नयाँ पिच गरिने छ। छिट्टै ठेक्का निकालेर काम सुरु हुँदैछ। यसका लागि मन्त्रीस्तरीय निर्णय भइसकेको श्रेष्ठले जानकारी दिए। 

सडकलाई शहरको नशा मानिन्छ। तर राजधानीका सडक हिउँदभरी धुलाम्मे हुन्छन्। बर्खा लागेपछि हिलाम्मे बन्छन्। खाल्डा-खुल्डी नपरेको सडक देख्नै मुस्किल पर्छ। पिच (कालोपत्रे) गरेको केही समयमै भत्किन र उप्किन थाल्छन्। आवधिक मर्मत ३, ५ र ७ बर्षमा गरिन्छ। तर नेपालमा बर्षेनी सडक मर्मतसम्भार र पिच गरिएको पाइन्छ। यसबाट राज्यको अर्बौ रुपैया खर्च भइरहेको छ। 

विज्ञहरुका अनुसार सडकको आयु डिजाईन, निर्माण सामाग्रीको गुणस्तरीयता, मेन्टेनेन्स, सडक प्रयोग गर्ने तरिका, निर्माण कम्पनीको काम गर्ने शैली, ड्रनेज पानीको व्यवस्थापन लगायतका विषयहरुले फरक पर्छ। 

नेपालमा ओटासिल, प्रिमिक्स, सर्फेस ड्रेसिङ, असफल्ट गरि चार वटा तरिकाबाट कालोपत्रे गरिन्छ। सामन्यतया सर्फेस ड्रेसिङ ५, प्रिमिक्स ६ र एसफल्टको ८ बर्षको न्युनतम आयु हुन्छ। आवधिक मर्मत सम्भार गर्ने सके लामो समय टिकाउन सकिन्छ। नेपालमा भने निर्माण गरेको एक बर्ष पनि टिक्दैन। 

कमसल विटुमिन
सडक कालोपत्रे गर्दा प्रयोग हुने प्रमुख बस्तु विटुमिन (अलकत्रा) हो। सडकको कालोपत्रे गर्नु अघि गुणस्तर अनुसन्धान विकास केन्द्रबाट विटुमिन परिक्षण गराउनुपर्ने हुन्छ। 

विटुमिन सम्वन्धित आयोजनाको इन्जिनियरको रोहवरमा ल्याईन्छ। ल्यावले विटुमिन टेष्ट गरेर पठाउने गर्छ। सम्वन्धित आयोजनाको इन्जिनियरले स्पेसिफिकेशन अनुसार भए/नभएको हेर्छ। सडकका लागि उपयुक्त छ वा छैन भन्ने निर्णय गर्छ। यहाँ इन्जिनियर र ठेकेदार कम्पनीबिच साँठगाँठमा कम गुणस्तरको विटुमिन समेत प्रयोग गर्न सक्छन्।

त्यसैगरी नमुना विटुमिन परिक्षण गरेर सबै गुणस्तरीय छ भनेर कालोपत्रे गर्न दिईन्छ। तर निर्माण कम्पनीले धेरैजसो सडक आयोजनाहरुमा कम गुणस्तरको विटुमिन प्रयोग गर्छन्। 

‘सडक टिक्न प्रयोग गरिने सबै मेटेरियल गुणस्तरीय हुनैपर्छ‘ सिनियर डिभिजनल इन्जिनियर विनोद सापकोटाले भने ‘विटुमिन क्वालिटीको भएन भने सडक ध्वस्त हुन्छ।' 

उनका अनुसार विटुमिनसँगै गिटी, वालुवालगायत अरु निर्माण समाग्री त्यसको मिसावट तथा स्फेसिफिकेशनको सबै  प्यारामिटर पास गरेको हुनुपर्छ। सापकोटासँग सेन्ट्रल ल्याबमा दुई बर्षमा काम गरेको अनुभव छ। त्यसैगरी थोरै डिजेल विटुमिनमा मिसाएर कालोपत्रे गर्न दिईन्छ तर ठेकेदारले मात्रा बढी गराएर प्रयोग गर्ने गरेको समेत पाईन्छ।

गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग 
विटुमिनसँग बेस, सबबेस तयार पार्न प्रयोग गरिने सबै निर्माण सामाग्री गुणस्तरको हुन जरुरी छ। निर्माण सामाग्रीको क्वालिटी कन्ट्रोल गर्न नसकिएका कारण सडकको कालोपत्रे नटिकेको गुणस्तर अनुसन्धान विकास केन्द्र प्रमुख शिव नेपालले जानकारी दिए। 

उनका अनुसार, सिमेन्टको जस्तै अरु निर्माण सामाग्रीको पनि प्रशस्त उद्योगहरु खुल्न जरुरी छ। सिमेन्ट डण्डी (छड) बजारमा किन्न गए सहजै पाईन्छ। गिटी र वालुवा रोडा माटो सहजै बजारमा पाइँदैन। यस्ता सामाग्री खोज्न कि खोलातिर जान पर्यो कि क्वाईरी साईटतिर। यस्ता सामग्रीको नमुना परिक्षण गरेको आधारमा काम गरिएको हुन्छ। त्यसको नियामक निकाय छैन्। 

‘हामीकहाँ कन्स्ट्रक्सन मेटेरियलको इण्ड्रष्ट्री व्यापक रुपमा हुनु जरुरी छ, नेपालल भने, ‘एउटा फ्याक्ट्रिबाट आएका सामाग्रीमा क्वालिटी कन्ट्रोल हुन्छ। अहिले खोलाबाट वा क्वाईरीबाट खोजेर ल्याको मेटेरियलको कति ठाउँमा कुन कुन मेटेरियल टेष्ट गर्नु?‘ उद्योग नै खोलेर क्वालिटी कन्ट्रोल गरिएका निर्माण समाग्री मात्रै प्रयोग गर्नुपर्ने उनको तर्क छ।

भु-अध्ययन नै नगरि ‘पिच’
सडक बनाउनुअघि भु-प्राविधिक अध्ययन गरिनुपर्दछ। माटो, तापक्रम लगायत सबै पक्षको अध्ययन गरेर मात्रै पिच गर्नुपर्ने हुन्छ। तर नेपालमा बनेका अधिकांश सडकहरु भुअध्ययन बिना नै पिच गरिएका छन्। 

भु-अध्ययन महँगो हुने भएका कारण कम बजेटमा धेरै सडक बनाउनु पर्ने दबाब सडक विभागलाई छ। जसका कारण अध्ययन नै गरिँदैन। त्यस्तै विस्तृत आयोजना परियोजना (डिपिआर), वातारणीय प्रभाव मुल्याङकन समेत महत्वपूर्ण मानिन्छ।

पानी र नालीको उचित व्यवस्थापन 
पानीको व्यवस्थापन प्रणाली व्यवस्थित बनाउन नसक्दा सडकहरु विग्रिने गरेको छ। काठमाडौंका सडक चाँडो बिग्रनुको एउटा महत्वुर्ण कारण पानी र ढलको उचित व्यवस्थापन गर्न नसक्नु हो।

उपत्यकाका सडकमुनी अत्यन्त पुरानो प्रणालीको खानेपानी ढल लगायतका पाईपहरु राखिएका छन्। सडक राम्रोसँग बनाउन खोजियो भने ती सबै फुट्ने र समस्या आउने भन्दै टालटुल गरिन्छ। 

अधिकांश ठाउँमा सडक बनाउने क्रममा खानेपानी र ढल फुटेका कारण काम गर्न कठिन हुने अवस्था रहेको सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भनाई छ। 

उनका अनुसार, घनावस्ती रहेका कारण पानीको उचित व्यवस्थापन समेत गर्न सकिएको छैन। सडक अनुसार सतहमुनीको पानी, परेको पानीको वहाव कति हुन्छ त्यो अनुसार व्यवस्थापन प्रणाली मिलाउनुपर्छ। पहाड र हिमाली क्षेत्रमा सतहमा पानी धेरै हुने र व्यवस्थापनका लागि उचित डिजाईन गरेर काम नहुँदा सडकको आयु घटिरहेको इन्जिनियरहरुको भनाई छ।

बजेट अभाव र प्रयोग संस्कृति
नेपालका अनुसार पर्याप्त बजेट नहुँदा पनि सडकहरु गुणस्तरीय बन्न सकेका छैनन्। डिजाईनमा ५० देखि ६० सेन्टिमिटरको थिकनेश (मोटाई) आवश्यक छ भनिएको हुन्छ। त्यहाँ हिड्ने ट्राफिक फ्लो, कस्ता सवारीसाधन हिँड्छन् त्यस अनुसारको भूगोल, वातारण सबै पक्ष अध्ययन गरेर डिजाई गरिएको हुन्छ तर त्यो थिकनेश अनुसार सडक बनाउन पर्याप्त बजेट हुँदैन। 

जसका कारण थिकनेश घटाएर काम चल्ने मात्रै सडक बनाउनु पर्छ भन्ने अड्डीका कारण सडक निर्माण गरिन्छ। एकातिर आवश्यकभन्दा कम गुणस्तर भइसकेको छ त्यसमाथि निर्माण कम्पनीले कम मूल्य कवुल गरेर काम गरेको हुन्छन्। यसले गर्दा सडक झन् कमसल बन्छन्। अनि सडक केहि समयमै भत्किन-उप्किन थाल्छन्।

सडक प्रयोग गर्ने हाम्रो बानी-व्यवहार र संस्कृतिका कारण पनि आयु घटेको छ। जस्तो सडकमा जहाँपायो त्यहीँबाट एक्सेस निकाल्ने, सडकमा पानी बगाईदिने, निर्माण समाग्रीहरु थुपारिदिने जस्ता कारणले पनि टिक्दैन। 

सडक विभागका उपमहानिर्देशक शिवहरी सापकोटाका अनुसार, राष्ट्रिय राजमार्गसँग जोडिएर खोलिएका ट्र्याक र निर्माण गरिएका सडकबाट बगेका लेदो र माटोले लाईफलाईन ध्वस्त बनाएका छन्। जसले धेरै राजमार्गहरु नै विग्रने अवस्थामा पुर्याएको छ। 

‘तीनलाई दीगो बनाउनु पर्छ। राजमार्गको आयु तीनले घटाईरहेका छन्। आजको मुख्य समस्या यहि नै हो‘ उनले भने।

ठेक्का प्रणालीमै समस्या
सबैभन्दा कम कबुल गर्ने कम्पनीले ठेक्का पाउने अव्यवहारिक ठेक्का नीतिका कारण गुणस्तरीय सडक बन्न सकेका छैनन्।

यातायात जानकार आशिष गजुरेलका अनुसार, कम मुल्यमा ठेक्का दिने नीतिका कारण गुणस्तरीयता कायम भएको छैन। जसका कारण सडक छिटै विग्रेका हुन्। 

‘जति लागत लाग्ने हो, त्योभन्दा कम खर्च गर्नाले पनि सडकमा समस्या देखिएका हुन्‘ गजुरेलल भने ‘विकसित देशहरुमा हाम्रो जस्तो नीति छैन। गुणस्तर कायम गर्न ध्यान दिईएको हुन्छ। अनि धेरै बर्ष टिक्छ।‘ 

उनका अनुसार खाल्डो पर्यो भने समयमा मर्मत गरिँदैन। भ्वाङ परेपछि बल्ल मर्मत थालिन्छ। ठाँउ र परिस्थिति हेरेर प्रविधि अपनाउन नसक्दा पनि सडकहरु विग्रिरहेका छन्। 

यी बाहेक ठेकेदारको काम गर्ने शैली, डिजाईन अनुसार गुणस्तर कायम, तापक्रमको उतारचढाव जस्ता कारणले कालोपत्रे टिक्दैन। 


Share this Story

   

पिच गर्न नपाउँदै किन भत्किन्छ सडक? सडक प्रयोग गर्ने तरिका नजान्दा पनि समस्या को लागी १ प्रतिक्रिया(हरु)

राज[ 2019-07-31 11:01:12 ]
काले काले मिलेर भाले खायेका छन सम्बन्धित निकाये हरु ले । जनता नि मूर्ख छन ! हिलो माथी अनि पानी परिरहेको बेलामा पिच गरिरहेको देखेर नि कोइ बोल्दैनन् ??

   हालसम्म ३०२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell