पाँच स्थानमा विशेष आर्थिक क्षेत्र निर्माणका लागि प्रकृया अघि बढ्यो, अध्ययनका लागि छानिए कम्पनी

बिजमाण्डू
२०७६ बैशाख २९ गते १३:५८ | May 12, 2019
पाँच स्थानमा विशेष आर्थिक क्षेत्र निर्माणका लागि प्रकृया अघि बढ्यो, अध्ययनका लागि छानिए कम्पनी

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले थप पाँच स्थानमा विशेष आर्थिक क्षेत्र(सेज) निर्माण गर्ने भएको छ। तराईको सप्तरी, सर्लाही, महोत्तरी, रौतहट र बर्दिया जिल्लामा सेज निर्माणका लागि अध्ययन सुरु गरेको छ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले नयाँ सेजको प्रारम्भिक अध्ययन गर्न पाँच कम्पनीलाई जिम्मा दिएको छ।प्राधिकरणले सप्तरीमा सेज अध्ययनका लागि जेभी अफ राजदेवी इन्जिनियरिङ कन्सल्ट्यान्ट प्राली र इर्भनल प्रालीलाई जिम्मा दिएको छ। यस्तै सर्लाहीमा सेज निर्माणको लागि जेभी अफ ग्रीड कन्सल्ट प्राली, दिक्षा कन्सल्टिङ र ट्रेडिङ एन्ड इस्एन कन्सल्टेन्सी, महोतरीमा सेज निर्माणका लागि पीस कन्सल्ट्यान्ट, इर्भनल, नेशनल कन्सल्टलाई जिम्मा दिएको छ।

रौतहट र बर्दियामा बन्ने सेजको अध्ययनको जिम्मा ग्रीड, दिक्षा र ट्रेडिङ कन्सल्टेन्सीलाई दिइएको छ। प्राधिकरणका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले औद्योगिकरणका लागि मुलुकका विभिन्न स्थानमा विशेष आर्थिक क्षेत्र निर्माण अघि बढाउन खोजिएको बताए।उनले स्वदेशी वस्तुको उत्पादकत्व बढाउन सेज महत्वपूर्ण हुने बताउँदै उत्पादकत्व बढ्नेवित्तिकै विश्वबजारमा नेपाली वस्तु प्रतिस्पर्धी हुने बताए।'सेजमा स्थापना हुने उद्योगलाई धेरै सहुलियत छ। त्यहाँ स्थापना भएका उद्योगका उत्पादन सस्तो हुँदा विश्वबजारमा समेत प्रतिस्पर्धा गर्नसक्छन्। हाम्रो टार्गेट अनुसार औद्योगिकरणमार्फत निकासी बढाउने हो। त्यो लक्ष्यलाई हेरेर थप सेजको प्रकृया अघि बढेको हो' भट्टले भने।

उनका अनुसार ५ जिल्लामा बन्ने सेजको अध्ययन तीन महिनामै सकिनेछ ।सेज निर्माण हुने क्षेत्रमा अधिकांश सरकारी जग्गा रहेको प्राधिकरणले जनाएको छ। उनले निजी जग्गा परेमा मुआब्जा दिएर अधिग्रहण गरिने बताए।सुरुमा प्रारम्भिक चरणको अध्ययन हुनेछ । अध्ययनले सेज निर्माण हुने ४ किल्ला निर्धारण र लागत खर्च लगायत प्रतिवेदन तयार गर्नेछ ।

तीन वटा सेज अन्तिम चरणमा

प्राधिकरणले तीन विशेष आर्थिक क्षेत्र निर्माण अन्तिम चरणमा पुर्याएको छ। प्राधिकरणले सिमरा, पाँचखाल र भैरहवा सेजमा उद्योग निर्माण प्रक्रिया अघि बढाइसकेको छ।

१ सय ६० बिघा क्षेत्रमा फैलिएको सिमरा सेजमा गार्मेन्ट उद्योग स्थापना सुरु भइसकेको छ । उद्योग स्थापनाका लागि प्राधिकरणले सूचना समेत जारी गरिसकेको छ।यो क्षेत्रमा धेरै लगानी गर्ने १९ उद्योगीलाई प्राथमिकतामा राखेको छ। प्राधिकरणले यो क्षेत्रमा २० रुपैंया प्रति वर्गमिटर जग्गा भाडामा लगाउने तयारी गरेको छ।

एक अर्ब लागतमा निर्माण सम्पन्न भएको भैरहवा आर्थिक क्षेत्रमा २२ वटा उद्योग स्थापना भैसकेका छन्। १ हजार रोपनी क्षेत्रफलमा निर्माण भैरहेको पाँचखाल आर्थिक क्षेत्र निर्माण अन्तिम चरणमा रहेको र यसमा चार अर्ब लगानी हुने भट्टले जानकारी दिए।