६ हजार बिघा भन्दा बढि जग्गामा पाँच औद्योगिक क्षेत्र थपिँदै,  यस्ता छन् सम्भावित स्थान

बिजमाण्डू
२०७६ बैशाख २९ गते १०:१३ | May 12, 2019
६ हजार बिघा भन्दा बढि जग्गामा पाँच औद्योगिक क्षेत्र थपिँदै,  यस्ता छन् सम्भावित स्थान


Tata
GBIME
Nepal Life

फाइल फोटो

काठमाडौं। सरकारले थप पाँच औद्योगिक क्षेत्र विकास गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच जिल्लामा औद्योगिक क्षेत्र थप गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेस गरेको छ।

मन्त्रिपरिषदबाट स्वीकृत भएपछि सर्लाही, दाङ, कैलाली, तनहुँ र दैलेखमा औद्योगिक क्षेत्र विकासको काम सुरु हुनेछ। उद्योग विकास हुने क्षेत्रमा अधिकांश जग्गा सरकारी रहेको मन्त्रालयले जनाएको छ। औद्योगिक क्षेत्र विकास गर्न मन्त्रालयले पाँच महिना अघिनै मन्त्रिपरिषदमा पेश गरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार औद्योगिक क्षेत्रमा निजी जग्गा परे सरकारले मुआब्जा दिएर अधिग्रहण गर्नेछ। उद्योग खोल्नका लागि जमिन अभाव देखिएपछि सरकारले औद्यिगक क्षेत्रमा विकासमा जोड दिएको हो । यसअघि सरकारले झापा, रौतहट, धनुषा, मकवानपुर, चितवनको शक्तिखोर, गोरखा, कास्की, रुपन्देही, कन्चनपुर लगायत जिल्लामा औद्योगिक क्षेत्र घोषणा गरी पूर्वाधार विकासको काम गरिरहेको छ ।

यस्ता छन् नयाँ बन्ने औद्योगिक क्षेत्र

सर्लाहीको-मूर्तिया

तीन हजार बिघा क्षेत्रफलमा फैलिने यो औद्योगिक क्षेत्रको पूर्वमा लखनदेवी खोला रहनेछ। यस्तै पश्चिममा बाग्मती नदी रहनेछ भने उत्तरमा महेन्द्र राजमार्गलाई छुनेछ। अध्ययन प्रतिवेदन अनुसार दक्षिणको सागरनाथ मन्दिर परिसरको जग्गा समेत यस औद्योगिक क्षेत्रमा पर्नेछ।

तनहुँ-सिल्कुटार

तनहुँ जिल्लाको सिल्कुटारमा बन्ने औद्योगिक क्षेत्र पाँच हजार रोपनी क्षेत्रफलमा फैलिनेछ।यो औद्योगिक क्षेत्रले पूर्वमा ब्यास नगरपालिका र  पश्चिममा हाडीगाँउलाई समेट्नेछ। यसैगरी उत्तरमा मादीबेसी र दक्षिणमा फोरसिन सामूदायिक वन पर्नेछ ।

दाङ-लक्ष्मीपुर

५ सय ४९ बिघा क्षेत्रफलमा फैलिने यो औद्योगिक क्षेत्र पूर्वमा साविकको लक्ष्मीपुर गाविस र पश्चिममा धर्ना गाविससम्म फैलिनेछ। यस्तै उत्तरमा बबर्र र दक्षिणमा वन क्षेत्र पर्नेछ।

कैलाली-लम्की

यो ‍औद्योगिक क्षेत्र पूर्वमा गोरे सैनिक ब्यारेकलाई छुनेछ। यस्तै पश्चिममा धोमिने खोला, दक्षिणमा पूर्व- पश्चिम राजमार्ग र उत्तरमा चुरे क्षेत्रलाई छुनेछ।

दैलेख-चुप्रा

दैलेखको चुप्रामा बन्ने औद्योगिक क्षेत्र प्रस्तावित मध्ये सबैभन्दा सबैभन्दा सानो क्षेत्र हो।यो औद्योगिक क्षेत्र २ सय रोपनी क्षेत्रफलमा फैलिनेछ। पुर्वमा लाकुरी खोला, पश्चिममा चुप्रा बजार,  उत्तरमा लौहुरे खोला र दक्षिणमा खाँडा गाउँ पर्नेछ ।

प्रस्तावित औद्योगिक क्षेत्र स्वीकृत भएपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिनेछ। डीपीआर निर्माणपछि पूर्वाधार विकास गरिनेछ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा आवश्यक पर्ने पूर्वाधारहरु जमिन, औद्योगिक भवन,पानी,सडक,विद्युत,ढल निकासा लगायत अन्य सुविधाको व्यवस्था गर्नेछ।

पूर्वाधार विकासको काम सकिएपछि औद्योगिक विकास केन्द्रले उद्योगीहरुलाई भाडामा जग्गा प्रदान गर्नेछ। यो क्षेत्रमा ठूला, मझौला र विदेशी लगानीका उद्योगहरु स्थापना हुनेछन्।हाल देशमा बालाजु,  पाटन, हेटौडा, धरान, गजेन्द्र नारायण सिंह, पोखरा, बुटवल, भक्तपुर, बिरेन्द्रनगर र धनकुटा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका छन् ।