कृषिमा प्रयोग हुने ट्रयाक्टर बैंकको प्राथमिकतामा परेन, सहुलियत नपाउँदा आयात र बिक्री घट्यो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ फागुन २७ गते १४:१७ | Mar 11, 2019


विराटनगर। कृषि, निर्माण, ढुवानी लगायतका विविध काममा प्रयोग गरिने बहु–उपयोगी सवारी साधन ट्रयाक्टरको पैठारी र विक्रीवितरणमा उल्लेखनीय ह्रास आएको छ ।

Tata
GBIME
Nepal Life

विराटनगर भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्क विश्लेषण गर्दा ट्रयाक्टरको पैठारीमा व्यापक कमी देखिएको हो।

विराटनगर नाकाबाट आर्थिक वर्ष २०७३/०७४ मा ५ हजार २७० थान ट्रयाक्टर पैठारी भएका थिए जसअनुसार उक्त वर्ष मासिक रूपमा ४ सय ३९ थान ट्रयाक्टरको आयात भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७४/२०७५ भरिमा अघिल्लो आर्थिक वर्षका तुलनामा निकै कम जम्मा ७ सय ३६ थान मात्र ट्रयाक्टरको पैठारी भएको पाइएको छ । गत आर्थिक वर्षमा मासिक रूपमा ६१ थान मात्र पैठारी भएको देखिन्छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्क अझ कमजोर छ । चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा ४ सय ८ थान ट्रयाक्टरको पैठारी गरिएको छ । चालु आर्थिक वर्षको तथ्याङ्क हेर्दा मासिक रूपमा ३४ थान मात्र ट्रयाक्टरको आयात भएको देखिन्छ।

यही हिसाबले अघिल्लो आर्थिक वर्ष २०७३/७४ को एक महिनामा गरिएको पैठारी जति पनि चालु आवको पूरा १२ महिनामा नहुने देखिन्छ ।
मासिक ३४ थान ट्रयाक्टरको पैठारी गरिँदा वार्षिक ४ सय ८ थान मात्र हुन्छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा मासिक ४ सय ३९ थानका दरले आयात भएको तथ्याङ्क छ ।

किन घट्यो पैठारी ?

आरकेजी ग्रुपका सञ्चालक सोमनाथ अधिकारीका अनुसार ट्रयाक्टरमा लगाइएको मूल्य अभिवृद्धि कर र बैङ्कले ट्रयाक्टरको खरिदलाई कृषिमा नभइ व्यावसायिक प्रयोजनमा राखी ऋण दिन बन्द गरेका कारण नै यसको पैठारी तथा विक्रीवितरणमा समेत ह्रास आएको हो ।
राजकुमार गोल्छा नेतृत्वको आरकेजी ग्रुपले नेपालमा ‘सामे’ ब्रान्डका ट्रयाक्टरको विक्री वितरण गरिरहेको छ ।

‘भ्याट लगाइएका कारण एउटा ट्रयाक्टर किन्दा कम्तीमा २ लाख रुपैयाँको खर्च बढेको छ’, सञ्चालक अधिकारीले भने, ‘कृषि–कर्मबाट उचित प्रतिफल लिन नसकिरहेका किसानले भ्याटका कारण ट्रयाक्टरमा थप लगानी गर्न सकिरहेका छैनन् ।’

किसानहरू आधुनिकतातर्फ ढल्किनु र पहाडतिर बाटाको ट्रयाक खोल्ने काम धमाधम भइरहनुले ट्रयाक्टरको उपयोग अझ बढेको भए पनि आयात र विक्रीवितरणमा भने व्यापक ह्रास आएको देखिन्छ।

‘सरकारले हिसाब गरोस्, ट्रयाक्टरमा भ्याट लगाइएका कारण यसबाट कति राजस्व असुली भयो अनि भन्सार महसुल कति गुम्यो’, सोमनाथ भन्छन्, ‘ट्रयाक्टरजस्तो बहुउपयोगी साधनलाई महँगो बनाएपछि यसको ‘चेन इफेक्ट’ हुन्छ।

ट्रयाक्टरको आयात र बिक्रीमा कमी आएपछि मूल्य अभिबृद्धि कर तिरेर पैठारी गरिने यसका पार्टपुर्जाको पैठारीमा पनि त्यही अनुपातले ह्रास आउने उनले बताए ।

यसका वर्कसप र मेकानिक समेतको अब अभाव हुनसक्ने देखिन्छ। गाउँशहरमा ट्रयाक्टरको कमी भएपछि यसको भाडादर भने बढ्ने उनको भनाइ छ ।

किसानले वाणिज्य बैंकबाट कृषि ऋण पाएनन् भने स्थानीय तहले मध्यस्थता गरेर दिलाउने वातावरण तयार पार्नुपर्ने उनले सुझाव दिए।