तीनबाहेक सबै बैंकको आधार ब्याज दर घट्यो, राष्ट्र बैंकको निर्देशनको दूरुपयोग

बिजमाण्डू
२०७५ माघ २८ गते १०:४१ | Feb 11, 2019
तीनबाहेक सबै बैंकको आधार ब्याज दर घट्यो, राष्ट्र बैंकको निर्देशनको दूरुपयोग


काठमाडौं। निक्षेपमा भद्र सहमति गरेर ब्याज एकल अंकमा कायम गरेपछि बाणिज्य बैंकहरुको आधार दर घटेको छ। आधार दर कम हुँदा ऋणको ब्याज दर पनि त्यही अनुपातमा घट्छ।

Tata
GBIME
Nepal Life

सञ्चालनमा रहेका २८ बाणिज्य बैंकमध्ये तीन वटाको आधार दर बढेको छ। बाँकी सबै बैंकको आधार दर घटेको उनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ। आधार दर घटे पनि ग्राहकले लिने ऋणको ब्याज भने घटिसकेको छैन। 

ऋणको ब्याज नघटेपछि ब्यवसायीहरु आन्दोलित भएका छन्। ब्याज दरका बारेमा अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर डा.चिरञ्जिबी नेपालसहित ब्यवसायी र बैंकर्स संघका प्रतिनिधिहरुसँग छलफलसमेत गरेका थिए। बैंकरहरुले प्रत्येक तीन/तीन महिनामा ब्याज दर पुनरावलोकन हुने तर्क दिएका थिए।

ऋणको ब्याज दर घटाउन अर्थमन्त्री खतिवडाले बनाएको कार्यदलको सुझाब कार्यान्वयनमा आएपनि बैंकहरुले त्यसलाई प्रिमियमका रुपमा जोडेर ऋणलाई सस्तो बनाउन मानेनन्। आधार दरको शुत्रमा ०.७५ प्रतिशत ब्याज कम हुने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको थियो। तर बैंकहरुले सुत्र कार्यान्वयन गरेर आधार दर कम गरे पनि त्यसलाई फेरि प्रिमियमका रुपमा जोडेर ब्याज पुरानै अवस्थामा कायम राखिरहेका छन्।

यस बारेमा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर खोल्छाले गभर्नरले डाकेको अन्तर्कृया कार्यक्रममा प्रश्न उठाउँदै ब्याज नघटेको गुनासोसमेत गरे। तर यस बारेमा राष्ट्र बैंकले आफ्नो धारणा सार्बजनिक गरेको छैन।

अहिले सबैभन्दा महँगो आधार दर कुमारी बैंकको छ। बैंकले असोजको तुलनामा पुसमा ०.४६ प्रतिशतले आधार दर बढाएर ११.५५ पुर्याएको छ। बैंकहरुले आधार दरमा न्युनतम दुईदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको ब्याज दर तय गरिरहेका छन्। औषत साढे २ प्रतिशतले प्रिमियम जोड्डा बजारमा सबैभन्दा महँगो ब्याज ११.०५ प्रतिशत पुगेको छ।

सिभिल बैंकले ०.३३ प्रतिशत बढाएर ११.३१ प्रतिशत पुर्याएको छ भने मेगाले ०.२८ प्रतिशतले बढाएर १०.८३ प्रतिशत कायम गरेको छ। बाँकी सबै बैंकको आधार दर घटेको छ। 

पुससम्म आइपुग्दा सबैभन्दा बढि आधार दर नेपाल बैंक, एनआइसी एसिया र कृषि विकास बैंकको घटेको छ। नेपाल बैंकको १.४६ प्रतिशतले घटेर ६.०६ प्रतिशत कायम भएको छ। एनआइसी एसियाको १.४४ प्रतिशतले घटर ९.३३ प्रतिशत र कृषि विकास बैंकको १.१७ प्रतिशतले घटेर ११.१५ प्रतिशत कायम भएको छ।

अहिले बजारको औषत आधार ब्याज दर ९.८२ प्रतिशत छ। यसमा औषत प्रिमियम साढे २ प्रतिशत जोड्दा ऋण १२.३२ प्रतिशत पुग्छ। तर आधार दर कम भएका बैंकहरुको ऋणको ब्याज केही कम हुन्छ। 

अहिले पनि ११ प्रतिशतभन्दा माथि आधार दर कुमारीसँगै सेञ्चुरी, सिभिल, कृषि विकास र जनता बैंकको छ। ११ प्रतिशतभन्दा कम १० प्रतिशतभन्दा माथि आधार दर माछापुच्छ्रे, एनसिसी, मेगा, नेपाल बंगलादेश बैंक, सिटिजन्स, सनुराइज, बैंक अफ काठमाण्डू, सिद्धार्थ, लक्ष्मी, प्राइम, एनएमबी र ग्लोबल आइएमइ बैंकको छ।

१० प्रतिशतभन्दा तल ८ प्रतिशतभन्दा माथिनेपाल एसबिआइ, सानिमा, प्रभु, एनआइसी एसिया, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंकको छ। नबिलको ७.९४, स्ट्यान्डर्ड चार्टर्डको ७.५५, नेपाल बैंक ६.०६ र राष्ट्रिय बाणिज्य बैंकको ५.६० प्रतिशत छ।

सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिने ऋण आधार दर कम भएका बैंकमा पाइन्छ। यी बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम राखेर ब्याज निर्धारण गर्छन्। यसमा पाँच प्रतिशत ब्याज अनुदान पाइन्छ। यसो हुँदा राष्ट्र बाणिज्य बैंकको ऋण २.६ प्रतिशतमै पाइन्छ भने नेपाल बैंकको ३.०६ प्रतिशतमा पाइन्छ। निजी क्षेत्रको स्ट्यान्डर्ड चार्टर्डमा ४.५५ र नबिलको ४.९४ प्रतिशतमै ऋण पाइन्छ।