ग्लोबल र आइएमई बने ग्लोबल आइएमई, माछापुच्छ्रेसँग मर्ज भयो स्टेण्डर्ड फाइनान्स

बिजमाण्डू
२०६९ असार २५ गते ००:०० | Jul 9, 2012
ग्लोबल र आइएमई बने ग्लोबल आइएमई, माछापुच्छ्रेसँग मर्ज भयो स्टेण्डर्ड फाइनान्स


काठमाडौं । सोमवारबाट तीनवटा फाइनान्स दुईवटा बैंकसँग मर्ज भएपछि उनीहरुको अस्तित्व मेटिएको छ । सोमवारबाट आइएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्सले ग्लोबल आइएमई बैंकका रुपमा कारोवार गर्नेछन्, स्टेण्डर्ड फाइनान्सले माछापुच्छ्रे बैंकको रुपमा कारोवार गर्नेछ । वाणिज्य बैंकसँग आइएमई र लर्ड बुद्ध फाइनान्स गरी दुई फाइनान्स मिसिएको यो पहिलो मर्जर हो ।
ग्लोबल बैंक र आइएमइ फाइनान्स पहिले नै मर्जर गर्ने सम्झौता गरिसकेका थिए । एउटै संस्थापक समुह भएकाले लर्डवुद्ध पछि मर्जर प्रक्रियामा आएको हो । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिमा चन्द्र ढकाल नै अध्यक्ष हुनेछन् भने रत्नराज बज्राचार्य प्रमुख कार्यकारी अधिकृत । ग्लोबल आइएमइको सञ्चालक समितिमा सन्दिप अग्रवाल, सुरजकुमार श्रेष्ठ, सुरेन्द्रनाथ पन्त, पुष्पमान श्रेष्ठ, अर्जुन पौडेल शर्मा र चण्डीप्रसाद श्रेष्ठ रहनेछन् । आइएमईको प्रमुख कार्यकारी अधिकृत योगेश्वर शर्मा ढकाल नयाँ बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् । बैंक र फाइनान्स मर्जरपछि चुक्ता पुँजी २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
ग्लोबल बैंकको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ, आइएमइको ३६ करोड र लर्ड वुद्धको १८ करोड थियो । एमएमइसँग गाभिनका लागि ग्लोबलको सेयर १०५ रुपैयाँ, आइएमईको एक सय र लर्डवुद्धको ७० रुपैयाँ मूल्यांकन गरिएकोे थियो । मर्जरपछि नयाँ सञ्चालक समितिमा ग्लोबल बैंकमा सञ्चालक रहेका लर्ड वुद्धका दुई जना संस्थापक सेयरधनीले निरन्तरता पाउने छन् । लर्ड वुद्धका संस्थापक सेयरधनी सुरज श्रेष्ठ र पुस्पमान श्रेष्ठ ग्लोबलका पनि सञ्चालक थिए । संस्था गाभिएपछि कर्मचारी संख्या ६ सयको हाराहारीमा पुगेको छ ।
उता आजैबाट माछापुच्छ्रे बैक र स्टेन्डर्ड फाइनान्स गाभिर संयुक्त कारोबार गर्ने भएका छन् । मर्जरपछि पनि माछापुच्छ्रे बैंक नै रहने नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । नयाँ बैंकमा अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र महाप्रबन्धक माछापुच्छ्रे बैंकबाटै रहने छन् । स्टेन्डर्डका प्रमुख कार्यकारी अधिकृतलाई नायव महाप्रबन्धकको जिम्मेबारी दिइएको छ । माछापुच्छ्रेका अध्यक्ष सुर्यवहादुर केसी हुन् । प्रमुख कार्यकारी अधिकृतमा भाइकाजी श्रेष्ठ छन् । स्टेन्डर्डका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भन्डारी नायव महाप्रबन्धक हुने छन् ।
नारायणी फाइनान्स र नेशनल फाइनान्स मर्ज गराएपछि स्टेन्डर्ड फाइनान्सले मर्जरका लागि नै भन्डारीलाई नियुक्त गरेको थियो। स्टेन्डर्ड फाइनान्समा गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको वहुमत सेयर छ । महतोका तर्फबाट उनका भाइ विरेन्द्र महतो लगायत तीन जना स्टे्न्डर्ड फाइनान्समा सञ्चालक छन् । माछापुच्छ्रेमा मिसिएपछि स्टेन्डर्ड फाइनान्स समुहले दुई वटा सञ्चालक पाउने छ । स्टेन्डर्ड फाइनान्स माछापुच्छ्रेसँग एक सय रुपैयाँको सेयर ८५ रुपैयाँ मूल्यांकन गरी मर्ज भएको हो ।

Tata
GBIME