पेप्सी उत्पादन गर्ने बरुण वेभरेजको अढाई अर्ब लगानीमा नयाँ प्लान्ट, कोस्टा कफीसँगै मार्ट चलाउने

बिजमाण्डू
२०७४ पुष ५ गते १५:३७ | Dec 20, 2017
काठमाडौं। भारत र चीनमा आक्रमक बजार बिस्तार गरिरहेको पेप्सिकोले नेपालमा अरु प्रतिस्पर्धीहरुलाई 'टक्कर' दिने गरी लगानी रणनीति तयार पारेको छ। नेपालमा पेप्सी उत्पादन गरिरहेको वरुण वेभरेजले नवलपरासीमा दुई अर्ब ३९ करोड रुपैयाँ खर्चिएर प्लान्ट बिस्तार गर्न लागेको हो। 


 
भारत र चीनमा पेप्सीले कोकाकोलालगायतका उत्पादनलाई निकै तल छाडेको छ। नेपाली बजार पनि कब्जा गर्ने रणनीति अनुसार बरुण बेभरेजले तराईमा नयाँ प्लान्ट लगाउन लागेको हो। यसअघि कोकाकोलाले पनि तराईमा नयाँ प्लान्ट लगाएर बजार हिस्सा  बढाएको थियो।
 
पेप्सीले भारतमा गत बर्ष मात्र सबैभन्दा ठूलो मेसिनरी प्लान्ट लगाएको थियो। चीनमा पनि उसले धेरै प्रान्तहरुमा आधुनिक प्लान्टहरु बिस्तार गरिरहेको छ। नेपालमै पनि बार्षिक ३१ प्रतिशतले आम्दानी बढाएको बरुण बेभरेजले नयाँ प्लान्टबाट पेप्सीका साथै जुस पनि उत्पादन थाल्ने छ।
 
कम्पनी स्रोतका अनुसार, आवश्यक पर्ने जग्गा खरिद भइसकेको छ। प्लान्टका लागि चाहिने पूर्वाधार निर्माण सुरु गर्न लागिएको छ। 'अब पुरानो मेसिनरी सबै हट्छन्, नयाँ प्रविधिको मेसिनरी आउँछ' स्रोतले भन्यो, 'उत्पादनसँगै बजार प्रबर्द्धनमा बढी केन्द्रित भएर मार्केट शेयर बढाउने योजना छ।'

नयाँ प्लान्टबाट ६४ हजार ८०० किलोलिटर पेप्सी सिसाको बोटलमा उत्पादन गरिने छ। दुई लाख ४३ हजार किलोलिटर पेप्सी प्लास्टिकको बोतलमा उत्पादन गर्ने कम्पनीको तयारी छ। नयाँ प्लान्टबाट ३२ हजार ४०० किलोलिटर जुस उत्पादन गरिने छ।
 
गत वर्षकै वार्षिक प्रतिवेदनमा तराईमा नयाँ प्लान्ट लगाउने कम्पनीले घोषणा गरेको थियो। अहिले कम्पनीले राजधानीको पेप्सीकोलामा प्लान्ट लगाएर देशब्यापी ब्यापार गरिरहेको छ। तराईमा नयाँ प्लान्ट लगाएपछि बजार विस्तारमा आक्रमक रणनीति लिने कम्पनीको योजना छ।


कम्पनीको वित्तीय विवरण
 
बरुण वेभरेजमा रविकान्त जयपुरिया, वरुण जयपुरिया, रविकान्त जयपुरिया एण्ड सन्सका साथै स्टान्डर्ड चार्टर्ड पिइ एण्ड एआइओएन क्यापिटलको लगानी छ। बरुण वेभरेजको नेपालवाहेक अन्य ६ देशमा पनि कम्पनी छ।
 
वरुण बेभरेजले बहुराष्ट्रिय कम्पनी पेप्सिकोसँग १९९० तिरै जोडिएर नेपालमा उत्पादन गरिरहेको छ। कम्पनीको गत बर्षको वित्तीय विवरण अनुसार, आम्दानी चार अर्ब ८३ करोड रुपैयाँ गरेको छ। अघिल्लो बर्षको तुलनामा यो ३१ प्रतिशतले बढी हो।
 
एक अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ५० लाख रुपैयाँ चालु पूँजी छ। २०० जनाले नयाँ प्लान्टमा रोजगारी दिन लागेको कम्पनीले गत वर्ष सरकारलाई १० करोड रुपैयाँभन्दा बढी कर तिरेको थियो।
 
कम्पनीले सबै खर्च कटाएर खुद नाफा ५२ करोड ४३ लाख रुपैयाँ गरेको थियो, अघिल्लो बर्षको तुलनामा नाफा १४६ प्रतिशतले बढी हो। कम्पनीले पेप्सीका अतिरिक्त सेभेनअप, माउण्टेन ड्यु, मिरिन्डा, इभरभिस कार्बोनेटेट सफ्ट ड्रिङ्स उत्पादन गर्छ। साथै नन्कर्बोनेटेड बेभरेजमा ट्रोपिकाना स्लाइस, सेभेन अप र निम्बुज उत्पादन गर्छ। 
 
कम्पनीका प्रमोटरहरुले नेपालमा पिज्जा हट, केएफसीको फ्रान्जाइजी पनि चलाइरहेका छन्। कम्पनीले कोस्टा कफी, क्रिम बेल आइसक्रीम पनि नेपाल ल्याउन खोजिरहेका छन्। यस बाहेक रिटेल मार्ट खोल्ने तयारीसमेत गरिरहेका छन्। 

Tata
GBIME
Nepal Life