सन् १९६२ मा बेलायतका राजनीतिशास्त्री बर्नार्ड क्रिकले ‘इन डिफेन्स अफ पोलिटिक्स’ किताब प्रकाशित गरे। किताबमा थियो– ‘राजनीतिको कला निकै सुन्दर हुन्छ यसले बिभिन्न आस्था र विश्वास बोकेका मानिसहरुलार्इ पनि एकैठाँउमा ल्याइदिन्छ। यसबाट अग्रगामी र शान्तिपूर्ण समाज निर्माण हुन्छ।’
उनका अनुसार उदार प्रजातन्त्रमा सबैले आफुले चाहेजस्तै पाउन त संभव छैन तर सबैले आफ्नो जीवनलार्इ स्वतन्त्र ढंगले अघि बढाउने वातावरण हुन्छ र त्यसै अनुरुप उपभोगसमेत गरिरहेका हुन्छन्।
क्रिकले राजनीतिभित्रको सुन्दरताले समाजलार्इ उत्कृष्ट बनाउने कल्पना गरेपनि समाजभित्रै कुनै इमान्दारिता, भद्रपन वा एकता बेगर नै फरक फरक समूहहरु भिन्न स्वार्थका साथ एकअर्कामा क्रुर रुपमा हावी समेत भैरहेकै हुन्छन्।
यस्तै परिदृश्य देखियो गतवर्षको अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनको सन्दर्भमा पनि। जिम्मेवार राजनीति गर्न प्रतिबद्धता जनाएका नेतृत्व तह नै राष्ट्रपतीय निर्वाचनका क्रममा सामाजिक संजालमा झुठ, भ्रष्ट र पक्षधरका रुपमा देखा परे।
फेसबुककै तथ्यांकलार्इ आधार मान्ने हो भने गतवर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा १४६ मिलियन फेसबुक प्रयोगकर्ताहरुले रुससँग सम्बन्धित भनिएका भ्रमपूर्ण सूचनाहरु पाए। त्यस्ता सूचनाहरुबाट भ्रमित भए।
गुगलको युट्युबमा समेत राष्ट्रपतीय निर्वाचनका विषयमा रुसको हात रहेको भनिएको ११ सय ८ वटा यस्ता भिडियोहरु अपलोड भए भने ट्विटरमा ३६ हजार ७ सय ४६ वटा यस्ता भ्रमपूर्ण एकाउन्ट खोलिए। सामाजिक संजालहरुमै रुसले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आफ्नो हस्तक्षेप देखाउन खोजेको सूचनाहरु बाहिरिए। यस्ता परिदृश्यहरुबाट के थाहा हुन्छ भने कुनै पनि महत्वपूर्ण विषयमा बिभिन्न तत्वहरुले हस्तक्षेप र प्रभाव पार्न चाहिरहेका हुन्छन्। यस्तो बेला सत्य तथ्यभन्दा पनि पर गएर सोसल मिडियमा भ्रमपूर्ण खबरहरु फैलाउन ती तत्वहरु सँधै उद्दत देखिन्छन्। यस्तो परिस्थितिले समाजमा विष फैलाए बराबरको खराब असर पर्ने विश्लेषण भैरहेका छन्।
रुसका कारण अमेरिकी निर्वाचनमा ठूलो खैलाबैला मच्चिएको र त्यसको असर अहिलेसम्म पनि देखिइरहनु त उदाहरणमात्र हो। दक्षिण अफ्रिकादेखि स्पेनसम्मका राजनीति फोहोरी हुँदै गएका छन्। दक्षिण यशियाली देशहरुको त झन् कुरै नगरौं!
यस्तो अवस्थाका केही हदसम्म जिम्मेवार सोसल मिडियाहरु पनि हुन् जसले मानिसको धारणा र ब्यक्तिगत रायमै अनावश्यक हस्तक्षेप र प्रभाव पारिरहेको छ। सोसल मिडियामा फैलाइदै आएको भ्रामक र असत्य सूचना तथा समाचारहरुका कारण यस्तो विषमपूर्ण अवस्थालार्इ पैदा गर्न सघाइरहेको छन् जहाँ क्रिकले चाहेजस्तो स्वतन्त्रताको अभ्यास हुन सक्दैन।
सामाजिक संजालको प्रयोगले विषयबस्तुमा त्यति धेरै भिन्नता ल्याउँदैन जति त्यसलार्इ गुणात्मक रुपमा फैलाउने गर्दछ। अमेरिकामा सन् २००७/०८ मा देखा परेको बित्तीय संकटको बेला पनि सामाजिक संजालकै कारण मानिसमा अत्यधिक आक्रोश फैलिएको थियो। यस्तो किसिमको संस्कृतिको विकासले मानिसमा ‘बर्गीय’ द्वन्द्व भन्दा पनि ‘द्वन्द्वको संस्कृति’ को विकास हुन जान्छ।
सोसल मिडिया एकै प्रकारको छैन। बिबिध प्रकारका संजालले मानिसलार्इ ध्रुवीकृत गर्दै लैजान्छ। हामी बिभिन्न टेलिभिजन तथा रेडियोकै उदाहरण लिन सक्छौं। अमेरिकाकै उदाहरण दिने हो भने फक्स न्यूज र अन्य टेलिभिजनका एकपक्षीय सूचना तथा समाचार दाँज्न सक्छौं। तर सोसल मिडिया पछिल्लो प्रयोग हो र प्रयोगकर्ताहरुको लागि नौलो अनुभव पनि। यसमा मानिसहरु त्यति धेरै भिजिसकेका छैनन् त्यसैले तत्कालै त्यस्तो कुनै प्रभाव भेट्टाउन सक्दैनन्। तर सामाजिक संजाललार्इ मानिसले कम बुझेकै कारण त्यसले असाधारण प्रभाव देखाइरहेको छ।
सोसल मिडियाहरुले बिभिन्न तस्विर, ब्यक्तिगत पोष्ट, समाचार, कथा तथा विज्ञापनहरु हामी माझ राखिदिएर आफूले पैसा कमाइरहेका छन्। किनभने तिनीहरुले सजिलै हामीलार्इ मापन गरिरहेका हुन्छन् हामीले कसरी प्रतिक्रिया दिन्छौं भन्ने बारे उनीहरुले तिनै तस्विरहरु तथा पोष्टमा हामीले ब्यक्त गरेका प्रतिक्रियाहरुबाट हामीलार्इ सजिलै पढ्न थाल्दछन्। उनीहरुले हाम्रो बारेमा सबै सूचनाहरु संकलन समेत गर्दछन्।
प्रयोगकर्ताको आँखालार्इ केले लोभ्याउँछ भन्ने बारेमा अध्ययन गरी उनीहरु प्रयोगकर्तालार्इ त्यसै अनुसारका सामाग्री क्लिक र शेयर गराइरहेका हुन्छन्। यो प्रक्रिया यति दोहोरिइरहेको हुन्छ कि अध्ययनका क्रममा के पत्ता लागेको छ भने धनी देशका प्रयोगकर्ताहरु एक दिनमा २६ सय पटक आफ्नो फोनमा हात लैजान्छन्। अर्थात फोनमा सोसल मिडियाहरु हेर्न अभ्यस्त भैसकेका उनीहरु हरेक दिन यति धेरै पटक यस्ता साइटमा झुम्मिन्छन्।
यो यस्तो प्रणालीका रुपमा विकसित भैरहेको छ कि यसले मानिसको बौद्धिक तथा सत्यताको मापन क्षमता सतहमा ल्याइदिन्छ।
कवि जोन किट्ले भनेजस्तै सत्य अब त्यति सुन्दर विषय रहेन किन भने यो त्यति सजिलो काम होइन। अझ जब तिमी सत्यसँग सहमत हुन सक्दैनौ तब सत्य झन् कुरुप लाग्न थाल्छ।
फेसबुक चलाउने सबैलार्इ के थाहा छ भने बौद्धिकताभन्दा पर यो प्रणालीले मानिसको पक्षधरतालार्इ अझ बल पुर्याइरहेको छ। मानिसहरुमा सिर्जना भैरहेको पक्षधरताले उनीहरुको बौद्धिकतालार्इ ओझेलमा पारिरहेको छ।
फरक फरक कोणबाट हरेक तथ्यहरु फरक फरक देखिन्छ। तिनीहरु कुनै एउटा सहमतिमा पुग्ने तथ्य बाँडिरहेका छैनन्। किनभने एउटा कोणबाट सुन्दा सत्य र राम्रो लाग्ने धेरै कुराहरु झुठा र भ्रमपूर्ण हुन्छन्। यो प्रणालीले नै समझदारी र सहानुभूतिको लागि कुनै स्पेस राखेको हुँदैन। समाजमा उनीहरुले यस्तो आँधी चलाइरहेका छन् जहाँ मानिसहरु बिभिन्न स्क्याण्डल, भ्रामक र कपोलकल्पित सूचना तथा समाचारको संसारमा हेलिन बाध्य छन्।
यो प्रवृत्तिले मानिसको पूर्ण प्रजातन्त्रको उपभोगमाथि अंकुश लगाइदिएको छ। किनभने सोसल मिडियाले फैलाएको प्लटमा मानिस यसरी जेलिएको छ कि उनमा सत्य र असत्य छुट्टयाउन सक्ने क्षमता समेत गुमिसकेको हुन्छ। यस्तो बेला खराब राजनीतिज्ञहरुले मानिसलार्इ गलत सूचना र समाचार फैलाएर गुमराहमा राख्ने खतरा हुन्छ।
छिमेकी देश म्यानमारकै उदाहरण लिने हो भने फेसबुक धेरै मानिसको लागि समाचारको स्रोत बनेको छ र फेसबुकले नै हिंसाको मारमा परेका रोहिङ्गया समुदायको घृणालार्इ अझै बढाइदिएको छ।
सिर्जना भैरहेको बिषम परिस्थिती निर्मूल गर्नका लागि सोसल मिडियाको उत्तरदायित्व के छ त? अब हामीले के गर्न सक्छौं?
मानिसहरु सँधै आफूले गरिरहेको विषयलार्इ नै सहि ठान्छन्। यसै हप्ता अमेरिकामा गरिएको एक अध्ययनमा ३७ प्रतिशत अमेरिकीहरुले सोसल मिडियाका सामाग्रीहरुलार्इ विश्वास गर्ने पाइएको छ। यसको दोब्बरले समाचारपत्र तथा म्यागेजिनहरुको समाचारमा विश्वास गर्ने गरेका छन्। सोसल मिडियाका सूचना तथा समाचारमा विश्वास गर्ने यो संख्यालार्इ परिवर्तन गर्न जति बढी समय लाग्नेछ खराब सरकार तथा खराब नेतृत्वहरुले खराब राजनीति गर्दै जनतालार्इ त्यति नै बढी नोक्सानी पुर्याइरहेका हुन्छन्।
समाजले बिभिन्न किसिमका संयन्त्रहरुको सिर्जना गरेको छ। केहीले त सोसल मिडियामा कुनै विशेष धारणा निर्माणका लागि क्याम्पियन नै चलार्इरहेका हुन्छन्। तर यसका प्रकाशकहरु पनि आफ्नो मिडियामा के प्रस्तुत भैरहेको छ त्यसका बारेमा समान रुपमा जवाफदेही हुनुपर्ने प्रावधान बनाउनु जरुरी छ। सोसल मिडियालार्इ पारदर्शी हुन र फ्याक्ट चेक गर्न कडा र बाध्यकारी बनाउन आवश्यक देखिएको छ। राजनीति कुनै फण्डा होइन। यो खराब तत्वको हातमा पर्यो भने यसले निश्चित रुपमै समाजलार्इ अस्वस्थ बनाउँछ।
सोसल मिडिया कम्पनीहरुले आफ्नो साइटमा देखापर्ने पोष्टहरुबारे विश्वस्त सुत्र हो होइन पहिचान गरेर मात्र प्रकाशन गर्नुपर्छ। साथीले पोष्ट गरेको हो वा कुनै अन्य सुत्रले, त्यसलार्इ पनि स्पष्ट पार्नुपर्छ। गलत सूचनाहरु प्रवाह भैरहेको छ भने त्यसलार्इ रोक्न, त्यसबारेमा थप भ्रम फैलन नदिन सचेत गराउनुपर्छ। ट्विटरले पनि संदिग्ध कुराहरुलार्इ सार्वजनिक हुन नदिन ‘डिसएलो’ गर्नुपर्छ।
कुनै पनि भ्रामक सूचनाहरु पोष्ट भएको जस्तो लागेमा सोसल साइटका प्रकाशक तथा नियामकहरुले नै कमभन्दा कमले देखुन् भन्ने हिसाबले फिल्टर गरिदिनुपर्छ।
सोसल मिडिया आफैँ पनि अतिक्रमणमा परिरहेका छन्। कुनै समूहको स्वार्थ अनुरुप संचालित र प्रयोग भैरहेका पनि हुन सक्छन्। तथापि समाजले उनीहरुलार्इ लगाम लगाउन र सहि दिशामा डोहोर्याउन सक्छ। त्यसका लागि प्रथमत: समाजले नै सही ढंगबाट उदार प्रजातन्त्रको उपभोग गर्न पाउनुपर्छ।