एनआरएनएले सुरु गर्यो अन्तराष्ट्रिय विमानस्थल सफाई अभियान, १ महिनासम्म सरसफाइ तालिम दिने

बिजमाण्डू
२०७४ असार १६ गते १७:४५ | Jun 30, 2017

काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सरसफाई अभियान सुरु गरेको छ। एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक तथा गुणस्तरिय सरसफाई गरी पर्यटकको आगमनलाई सहज बनाउनका लागि अतिथि देवो भव अभियान अन्तर्गत सरसफाइ अभियान सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भवन भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक  देवानन्दउपाध्याय बाट हस्ताक्षरित सहमति बमोजिम बिहीबारदेखि सरसफाई अभियान सुरु भएको हो। संस्थाले विमानस्थल कार्यालयलाई सरसफाई सामाग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ। 

कार्यक्रममा एनआरएन उपाध्यक्ष भट्टले नेपालको प्रवेशद्वारनै विमानस्थल भएकोले यसको सरसफाई सबैको जिम्मेवारी भित्र पर्ने बताए। 'विमानस्थल सरसफाई गर्न विगतमा भइरहेका सरसफाईलाई प्रविधिमैत्री बनाउन पनि हामीले सहयोग गर्न लागेका हौ' भट्टले भने 'यो कार्यक्रम अब निरन्तर रुपमा चल्छ र विमानस्थललाई पर्यटनमैत्री हन्छ।'

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कामको सुरुवात हुनु सकारात्मक भएको तर यसले निरन्तरता पाउनुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटक आवागमन गर्ने मुख्यद्वार जहिले सफा हुनुपर्नेमा जोड दिए।
एनआरएनएले विमानस्थलको सरसफाईमा खटिनेहरुलाई तालिम संचालन गर्ने जानकारी दिएको छ। मजदुरलाई सहयोग गर्न एनआरएनएका ३५ जना स्वयमसेवक समेत १ महिनासम्म खटिनेछन्। उनीहरुले सरसफाई गर्दा केमिकल्सको प्रयोग गर्ने तरिका, सररफाईमा आधुनिक उपकारण हस्तान्तरण गर्ने बताइएको छ।

हाल विमानस्थलमा इन्नोभेटिभ एन्ड एचआर सोलुसन प्रालिले विमानस्थल सरसफाईको जिम्मा लिएको छ। खेम शर्मा सहितको टोलीले सोलुसनलाई सहयोग गर्ने गरी एनआरएनएले जिम्मा लगाएको छ। जसमा सम्पूर्ण खर्च एनआरएनएले व्योहोर्ने छ।