काफ्लेको राजीनामा पछि घिसिङलाई प्रबन्ध निर्देशक बनाउँदै मन्त्री, पाटीको निर्देशन कार्यान्वयन

बिजमाण्डू
२०७३ भदौ २४ गते २२:५८ | Sep 9, 2016
काफ्लेको राजीनामा पछि घिसिङलाई प्रबन्ध निर्देशक बनाउँदै मन्त्री, पाटीको निर्देशन कार्यान्वयन


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मुकेश राज काफ्लेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाए । उनको राजीनामा प्रधानमन्त्रीले विभागीय मन्त्री जनार्दन शर्मालाई पठाइ दिए। 
उर्जा मन्त्री शर्माले प्रबन्ध निर्देशक काफ्लेको राजीनामा तत्काल स्वीकृत गर्ने र नयाँ प्रबन्ध सञ्चालक नियुक्त गर्ने तयारी गरेका छन् । काफ्लेले आफ्नो राजीनामा पत्रमा असोज २४ गते देखि लागु हुनेगरी लेखेको कारण नयाँ प्रबन्ध सञ्चालक नियुक्त गर्न शुक्रबारै प्रक्रिया थाल्ने योजना भने रोकियो । 
 
उर्जा मन्त्री शर्माले आन्तरिक रुपमा प्राधिकरणकै कर्मचारी कुलमान घिसिङलाई यो पदमा नियुक्त गर्ने योजना बनाएको स्रोतको दावी छ । यो योजनालाई नेकपा माओवादी केन्द्रको स्थायी समितिले केही महिना अघि गरेको निर्णयले पुष्टि गर्छ । तत्कालिन उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीलाई पाटीले घिसिङलाई प्रबन्ध निर्देशक बनाउन निर्देशन दिएको थियो । 
 
तत्कालिन उर्जामन्त्री रायमाझीले सार्वजनिक समारोहमै काफ्लेलाई संकेत गर्दै तीन दिन भित्र प्राधिकरणको ऐजेरु फाल्ने बताएका थिए । तर, उनले काफ्लेलाई पद छाड्न दवाव दिइरहे पनि हटाएनन् । बिजमाण्डूसँगको अन्तर्वार्तामा रायमाझीले अदालतले रोकिदिने भएको कारण नहटाएको बताएका थिए । कार्यसम्पादनमा कमजोरी देखाएर तत्कालिन उर्जामन्त्रीहरु राधा ज्ञवाली र रायमाझी दुबैले काफ्लेलाई हटाउन चाहेका थिए । खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक बनेका काफ्लेको कार्यकाल तीन महिना मात्रै बाकी थियो । 
 
घिसिङले चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा राम्रो काम गरेको उदाहरण छ । उनले चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजना निर्माण सुरु गरेका थिए । ती आयोजनाको निर्माण तिब्र गतिमा अघि बढाइरहेकै बेला तत्कालिन उर्जा मन्त्री राधा ज्ञवालीले घिसिङलाई सरुवा गरेर प्राधिकरणको केन्द्रिय कार्यालयमा सुरुवा गरिदिइन् । 
 
उर्जामन्त्री शर्माले गत सोमबार नै काफ्लेलाई हटाएर कुलमानलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने तयारी गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन अनुसार सस्थानमा हुने नियुक्तीका लागि मापदण्ड र कार्याविधि मन्त्री परिषद् अन्तर्गतको विधेयक समितिबाट पारित गराएर घिसिङलाई नियुक्त गर्ने उनको योजना थियो । प्रधानमन्त्रीले केही दिन पर्खिन भनेपछि उर्जामन्त्री पछि हटेका थिए । काफ्लेले शुक्रबार राजीनामा दिएपछि पाटीको निर्देशन पालना गर्न पनि मन्त्री शर्मालाई बाटो खुलेको छ । 
 
 

Tata
GBIME
Nepal Life