पोखरा। फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक र डुंगामा सयर गर्ने यात्रुहरुको बीमा गरेको छ। सवारी दुर्घटनाजस्तै प्रक्रियाको बीमा गराएको हो।
संगठनले शिखर इन्स्योरेन्स कम्पनीसँग एक वर्षका लागि बीमा गरेको हो। सम्झौताअनुसार तालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। मानवीय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले बताए। ‘यो धेरै पहिले नै गर्नुपर्थ्यो। बल्ल आएर हामीले प्रक्रिया थाल्न पायौं,’ उनले भने, ‘हाम्रो संगठनमा आबद्ध डुंगा सबैलाई बीमाले कभर गर्छ।’ अवस्था र प्रक्रिया अनुसार संगठनले बीमा अवधि नवीकरण गर्दै जाने समझदारी रहेको उनले बताए।
फेवातालमा बर्सेनि विभिन्न किसिमका दुर्घटना हुँदै आएका छन्। बीमा गरेसँगै डुंगा चालकहरुले पनि सुरक्षाको महसुस गरेका छन्।

संगठनका अनुसार फेवातालका ८ वटा डुंगा स्टेसनबाट ८ सय ४७ डुंगा सञ्चालनमा छन्। यहाँ झण्डै ३ सय ५० जना डुंगा चालक छन्। पोखरा पुगेका आन्तरिक तथा बाह्य पर्यटक फेवाताल पुगेर डुंगा चढेकै हुन्छन्। तालबाराही दर्शनका लागि आन्तरिक पर्यटकले छोटो दुरीको डुंगा सेवा लिन्छन्।










